१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिमेन्ट उत्पादन गर्न भौगर्भिक अध्ययन

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको बोझेढाँडमा रहेको चुनढुंगाबाट सिमेन्ट उत्पादन गर्न विस्तृत भौगर्भिक अध्ययन थालिएको छ। हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा रहेको बोझेढाँढमा पाइने चुनढुंगाबाट सिमेन्ट उत्पादनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागले भौगर्भिक अध्ययन थालेको हो।

च्यास्मीटार र बडहरेको सिमानादेखि हलेसीसम्म फैलिएको ढुंगा खानीबाट सिमेन्ट उत्पादन गर्न सकिने वा नसकिने भन्ने विषयमा सम्भाव्यता अध्ययनका लागि मंसिर २७ गतेदेखि भौगर्भिक अध्यायन थालिएको खानी तथा भूगर्भ विभागका एक अधिकारीले बताए। नगरपालिकाको ठूलो क्षेत्र ढाकेको चुनढुंगा सिमेन्ट उत्पादनका लागि उपयुक्त भए–नभएको विषयमा विस्तृत सर्भे, नमूना संकलन एवं ड्रिल मेसिन प्रयोग गरेर जमिन छेड्न ड्रिलिङको काम भइरहेको छ।

सिमेन्ट बनाउन प्रयोग हुने कच्चा पदार्थको प्रारम्भिक चरणको ढुंगा परीक्षणका क्रममा खानी तथा भूगर्भ विभागका ९ सहित २३ जनाको टोली बोझेढाँडमा खटिएका छन्। टोलीले बोझेढाँडमा तीन महिनासम्म बसेर सो स्थानको ढुंगा सिमेन्ट उत्पादनका लागि ‘योग्य भए–नभएको, योग्य भए कति मात्रामा छन्, कति गहिराइसम्म छन्’ भन्ने विषयमा अध्ययन र अन्वेषण गर्ने छन्।

विभागले वार्षिक कार्यक्रम अनुसार बोझेढाँडमा सिमेन्ट बनाउन योग्य कच्चा पदार्थको मात्रा र गुणस्तरबारे अध्ययन गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। ‘बोझेढाँडमा सिमेन्ट उत्पादनका लागि उपयुक्त कच्चा पदार्थको मात्रा र गुणस्तरबारे अध्ययन गर्न टोली आएको हो,’ मेयर राईले भने, ‘पर्याप्त गुणस्तर र परिमाण देखिए सिमेन्ट उद्योग स्थापनाका लागि बाटो खुल्ने विभागको पत्रमा उल्लेख छ।’

तीन महिनासम्मको भौगर्भिक अध्ययनपछि चुनढुंगामा सिमेन्ट बनाउने पर्याप्त गुणस्तर र मात्रा देखिए सरकारले सिमेन्ट उद्योग स्थापनाका लागि प्रकृया खुल्ने विभागले जनाएको छ। ‘सिमेन्ट उत्पादनका लागि बोझेढाँडको अन्वेषण अन्तिम हो यो,’ विभागका ती अधिकारीले भने, ‘यही अध्ययन रिपोर्टका आधारमा सरकारलाई सिमेन्ट उद्योग स्थापनाका लागि लगानी जुटाउन बाटो खुल्ने छ।’

विगत लामो समयदेखि विभिन्न कम्पनीले बोझेढाँडको ढुंगा परीक्षण गर्दै आए पनि उत्खनन्को काम अघि बढ्न सकेको छैन। बोझेढाँडमा सिमेन्ट उद्योग स्थापनाको चर्चा २०५६ मै भएको थियो। तर, ल्याब टेस्टका लागि विभिन्न ठाउँका चुनढुंगा कुँदेर काट्ने काम बाहेक अन्य काम हुन सकेको छैन। बोझेढाँडमा ठूलो क्षेत्र ओगटेको कडा र कालो रंगको ढुंगा सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थका रुपमा प्रयोग गर्न सकिने सम्भावना पुष्टि भए सो क्षेत्रमा उद्योग खुल्नेमा स्थानीय आशावादी छन्। चुनढुंगाको पहाड बडहरेको बोझेढाँड, दुर्छिम हुँदै हलेसीसम्म फैलिएकाले सिमेन्ट उद्योगका लागि सयौं वर्ष उद्योग धान्ने कच्चा पदार्थ रहेको अनुमान गरिएको छ।

प्रकाशित: २७ पुस २०७५ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App