१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उपाधि जित्नेमा महिला क्रिकेट टोली आशावादी

काठमाडौं – ‘कुनै समय पुरुष राष्ट्रिय क्रिकेट टोलीभन्दा महिला राष्ट्रिय टोली राम्रो मानिन्थ्यो’ नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेले नेपालका पूर्वकप्तान एलबी क्षेत्रीद्वारा लिखित पुस्तक ‘कप्तान–१९९८’ को विमोचन कार्यक्रममा राजधानीको प्रज्ञा भवनमा अघिल्लो साता भनेका थिए।

तर, अहिले महिला टोली निकै पछि परेको छ। तर, पुरुष क्रिकेट विकासका लागि सबै पक्षबाट मिहिनतका प्रयास भए। त्यसैले त, अहिले पुरुष टोलीले एकदिवसीय र ट्वान्टी–२० मान्यता पाएको छ भने २०१४ को ट्वान्टी–२० विश्वकपमा गौरवमय सहभागिता जनाउन सफल भइसकेको छ।

त्यतिबेला बलियो मानिएको महिला क्रिकेट टोलीले सफलताको सिँढी चढ्ला भन्ने आशावादिमा क्रिकेटका तत्कालीन पदाधिकारी धेरै आत्मविश्वासी थिए। तर, त्यसो हुन सकेन। ठीक उल्टो भयो। नेपाली महिला क्रिकेटले उकालो चढ्नु सट्टा ओरालो लाग्दै गयो। अहिले एकादेशको कथा जस्तै लाग्छ।

नेपाली क्रिकेटमा उग्र राजनीति स्वार्थको खेल बढ्न थालेपछि परिणाम स्वरूप नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनसँगै केही मात्रमा हुने महिला घरेलु प्रतियोगिता पनि लथालिङ्ग बन्यो। जसको कारण महिला क्रिकेटरको उत्पादनमा कमि आउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको नतिजा खस्कँदै गयो।

‘रणनीतिक हिसाबले खेल खेल्ने उद्देश्यमा रहेका छौं। पहिलो पाँच ओभरको खेलमा ओपनिङ ब्याटिङ अडरले कस्तो खेल्ने, मिडल अडरको खेलाडीले कस्तो भूमिका निर्वाह गर्ने ? सबै रणनीतिका साथ खेल्न लागेका छौं। त्यसैले प्रतियोगिता राम्रो हुनेमा आशावादी छौं।’ कप्तान रुविना क्षेत्री

त्यसका बाबजुद पनि महिला क्रिकेट खेलाडीले आफ्नै मिहिनतमा क्रिकेट करियरलाई अगाडि बढाइरहेका छन्। कहिले कसो हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि महिला टोलीको खोजि हुने गरेको छ भन्दा फरक नपर्ला। देशको प्रतिनिधित्व गर्दै सफलता दिलाउन कोशिस गर्नु कुन खेलाडी उद्देश्य नहोला र ? प्रतियोगिता पूर्वको एक महिने प्रशिक्षण कत्तिको फलदायी होला ?

यसअघि एक महिने बन्द प्रशिक्षण त केबल उनीहरुलाई सहकर्मीबीच चिनजान र फिटनेस सन्तुलनमा नै बित्थ्यो। अनि कुन खेलाडीको बलियो पक्ष कुन, कसको के भूमिका राम्रो भन्ने निधो कहिल्यै भएन। यस्तो अन्यौलका अवस्थामा पनि नेपाली टोलीलाई प्रतियोगिता खेल्नुपर्ने बाध्यता थियो। जिम्मेवार निकायले यस्ता पाटालाई कहिल्यै ध्यान दिएन।

केबल टोलीको सहभागितालाई नै सधै गौरव मान्यो। यस्तै वेथितिका साथ बितिरहेको तीतो यथार्थ हामीले नेपाली महिला क्रिकेटमा पाइरहेका छौं। जुन निकै ठूलो बिडम्वना हो। तर शनिबारबाट थाइल्यान्डमा हुने प्रतियोगिताका लागि भने हालको महिला टोली आशावादी रहेको छ। दुई वर्ष अघिभन्दा निखारिएको खेल भएको दाबी गर्ने नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री थाइल्यान्डमा हुने प्रतियोगितामा विजेता बन्दै स्वदेश फर्किने आशावादीमा छन्।

‘तयारी राम्रो गरेका छौं। तयारीका लागि जति आवश्यक समय थियो त्यति हामीलाई उपलब्ध भएन। यद्यपि पाएको समयलाई अधिकतम प्रयोग गर्दै राम्रो तयारी गरेका छौं,’ कप्तान क्षेत्रीले भनिन्, ‘विशेष गरी यसपाली हाम्रो अभ्यास त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको सेन्टर विकेटमा भयो। नेटको पनि त्यति धेरै प्रयोग गरेनौं। रणनीतिक हिसाबले खेल खेल्ने उद्देश्यमा रहेका छौं। पहिलो पाँच ओभरको खेलमा ओपनिङ ब्याटिङ गर्ने खेलाडीले कस्तो खेल्ने, मिडल अडरको खेलाडीको कस्तो भूमिका खेल्ने सबै रणनीतिका साथ खेल्न लागेका छौं। त्यसैले प्रतियोगिता राम्रो हुनेमा आशावादी छौं।’

महिला क्रिकेटका खेलाडीलाई अनुभवि बनाउन नेपालमा विगत दुई वर्षदेखि कुनै पनि प्रतियोगिता आयोजना नहुनु निकै दुःखको कुरा हो। तर, राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरेका पूर्वकप्तान विनोद दासले सम्हालेको टोलीमा यसपालि भने बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्षमा अघिल्लो सहभागिताभन्दा अब्बल भएको उनको दावी छ।

विगतको सहभागितामा भएको समस्या फिटनेस र ब्याटिङलाई सुधार्ने प्रयास गरेका छौं। छोटो समय भएपनि पाएको समलाई अधिक्तम प्रयोग गर्दै अभ्यास गर्यौ,’ प्रशिक्षक विनोद दाश

‘विगतमा हामीले प्रतियोगितामा सहभागिता जनाएर घरमै बस्ने गरेका थियौं। तर हाम्रो अभिभावकको वेथिति देखेर हामी आफैं सम्हालिएका थियौं। क्रिकेटका जानकारदेखि प्रशिक्षकसँग नजिक रहेर हामीले फिटनेससँगै स्किल बढाइरहेका थियौं। यो प्रतियोगिताका लागि हामी तयार नै थियौं,’ कप्तान क्षेत्रीले थपिन्, ‘यो बन्द प्रशिक्षणमा फिटनेसको समस्या देखिएका छैनन्। सीधै खेलमा अभ्यस्त हुन पायौं। त्यसैले यसपालीको तयारी राम्रो छ।’

४३ खेलाडीलाई सहभागिता गराई १४ टोलीको टुङ्गो लागेको टोलीमा यसपालि चार नयाँ खेलाडीले स्थान पाएका छन्। शुक्रबार प्रतियोगिता सहभागिताका लागि थाइल्यान्ड जान लागेको टोलीमा आरती बिडारी, विन्दु रावल, डली भट्ट, कविता कुँवरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएका छन्।

नेपाली महिला टोलीका प्रशिक्षक विनोद दासले कप्तान रुबिना क्षेत्रको भनाइमा सहमति जनाए। ‘विगतको सहभागितामा भएको समस्या फिटनेस र ब्याटिङलाई सुधार्ने प्रयास गरेका छौं। छोटो समय भए पनि पाएको समयलाई अधिकतम प्रयोग गर्दै अभ्यास गर्यौं,’ प्रशिक्षक दासले भने।

‘प्रतियोगितामा सहभागिताका लागि टोलीले राम्रो तयारी गरेको छ। फिटनेसदेखि लिएर, रणनीतिक हिसाबले प्रतियोगितामा सहभागिता जनाउने योजनामा रहेका छौं,’ प्रशिक्षक दासले थपे, ‘नयाँ खेलाडीको प्रदर्शन राम्रो हुनेमा आशावादी छौं। पेस बलर र लेग स्पिनरसँगै ब्याटिङ अडर पनि टोलीमा राम्रो रहेको छ। त्यसैले विगतको सहभागिताभन्दा यसपालिको सहभागिता अलि फरक हुनेमा आशावादी छौं।’

प्रशिक्षक दासको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुई टोली बनाई  ९ अभ्यास खेल भएका थिए। सुरुआती खेलमा न्युन स्कोर बनाए पनि पछिल्ला खेलमा औसत रनको स्कोर बनाउँदै निखारिएको खेल महिला टोलीले देखाएका थिए। सोही आधारमा नेपाली टोलीले राम्रो खेल्ने आशावादी भएको कप्तान क्षेत्रीले थपिन्।

‘केही खेलमा बाहेक अन्तिम खेलमा दुवै टोलीले ब्याटिङमा सुधारिएको खेल देखाउन सक्यो,’ क्षेत्रीले भनिन्, ‘खेलाडीमा आत्मविश्वास बढेको छ। राम्रो खेल्दै स्कोर गर्न सक्छु भन्ने मनोबल बढेको छ।’ यस्तै नेपाली टोलीकी उपकप्तान सीता थापामगरले फिटनेससँगै अन्य पक्ष पनि राम्रो भएकाले तयारी राम्रो भएको बताइन्।

‘नयाँ बहिनीहरुको आमगन अहिलेको टोलिमा छ। उनीहरुको मिहिनत निकै राम्रो छ। बलिङमा पेस भएका नयाँ बहिनी टोलीमा छन्। खेलप्रति लगाब छ। फिल्डिङमा उनीहरु एकदमै फूर्तिला छन्। फिटनेसले पनि उनीहरुलाई साथ दिएको छ,’ उपकप्तान थापा सीताले भनिन्, ‘विश्वकप सहभागिताका लागि आइसिसीले हामीलाई मौका दिएको हो कि भन्ने लागेको छ। यही मौकामा हामीले राम्रो गर्दै देखाउनु छ।’

थाइल्यान्ड क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता शनिबारबाट अर्को शुक्रबारसम्म सञ्चालन हुँदै छ। १० टोलीको सहभागी रहने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा तान्जानिया, इन्डोनेसिया, कुवेत र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा आयोजक थाइल्यान्ड, भुटान, हङकङ, मलेसिया र एसएल न्याभी छन्। समूहको शीर्ष दुई स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपालले शनिबार तान्जानियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेल सोमबार नामिबियाको सामना गर्नेछ भने तेस्रो खेल मंगलबार इन्डोनेसिया र अन्तिम खेल बुधबार कुवेतसँग खेल्नेछ।

नेपाली टिम : रुबिना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), नेरी थापा, करुणा भण्डारी, सोनु खड्का, सरिता मगर, इन्दु बर्मा, आरति बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल।
वैकल्पिक खेलाडीः सबनम राई, रितु कनौजिया र सुमन बिस्ट।
टिम अफिसियलः बिनोद दास (प्रशिक्षक), अमृता पौडेल (टिम व्यवस्थापक) र सकुना दानी (फिजियो)। 

प्रकाशित: २७ पुस २०७५ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App