१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा.केसीको समर्थनमा र्‍याली

इलाम - सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई समर्थन गर्दै जिल्लाका महिलाले र्‍याली प्रदर्शन गरेका छन्। केसीको सत्याग्रहस्थल फूलगाछीबाट सुरु भएकाे र्‍यालीले इलाम चोकबजारबाट मालापथ हुँदै पुनः चोकबजार परिक्रममा गरेको थियो।

र्‍यालीपछि आयोजित कोणसभामा जिल्लाकी अगुवा विष्णु दाहालले डा.केसीले उठाएका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्। ‘गरिबका छोराछोरीले पनि डा.बन्न पाउनुपर्छ, दुर्गम क्षेत्रमा पनि मेडिकल कलेज र अस्पताल खुल्नुपर्छ भन्ने केसीको माग जायज भएकाले उहाँलाई हाम्रो समर्थन छ।’ उनले भनिन्।

र्‍यालीमा सहभागी महिलाले ‘डा.केसीका माग पूरा गर,’ ‘डा.केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं,’ ‘आई एम विथ डा.केसी’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

डा.केसीले बुधबार इलाममा १६ औं सत्याग्रह थालेका थिए। उनले इलाम, पाँचथर, उदयपुरलगायत जिल्लामा पनि सरकारी मेडिकल कलेज अस्पताल खुल्नुपर्ने माग राखेकाले उनको मागप्रति जिल्लाबासीको ऐक्यबद्धता जुट्दैछ। सत्याग्रह सुरु गर्नेबेला पनि इलामबासी सयौं नागरिक सत्याग्रहस्थल पुगेका थिए। ‘इलाममै मेडिकल कलेज खुल्दा इलामबासीलाई  मात्र नभएर पूर्वका पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका विद्यार्थीलाई पनि धेरै सजिलो हुन्छ,’ डा.केसीले सदरमुकाममा सत्याग्रह सुरु गर्नुअघि पत्रकार सम्मेलनमा भनेका थिए, ‘काठमाडौं केन्द्रित मेडिकल कलेजमा दुर्गममा बस्ने गरिबका छोराछोरीले कसरी पढ्न सक्छन् ?’ गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिबाट पारित भएपछि केसीले १६ औं सत्याग्रह थालेका हुन्।

बुधबार साँझ र बिहीबार दिनभर जिल्लाका विभिन्न संघ–संस्थाका प्रतिनिधिले केसीलाई सत्याग्रहस्थल पुगेरै भेटघाट गरेको डा.केसीको अभियानकै अभियन्ता देवराज भारद्वाजले बताए। ‘डा.केसीको स्वास्थ्य अवस्था सामान्य छ,’ भारद्वाजले विहीबार साँझ नागरिकसँग भने, ‘उहाँको अभियानलाई समर्थन गर्दै जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिहरू निरन्तर आइरहनुभएको छ।’ सत्याग्रहमा रहेका डा.केसीले पानी भने पिउने जानकारी गराएका छन्।

प्रकाशित: २६ पुस २०७५ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App