१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई साता पछि सप्तकोशीमा डुंगा सञ्चालन

 

इटहरी- सप्तकोसीमा स्थानीय प्रशासनले रोक लगाएको डुंगा सञ्चालन दुई सातापछि आइतबारदेखि सुरु भएको छ। डुंगा सञ्चालन सुरु भएपछि सुनसरी श्रीलंका टापुका बासीन्दा कोसी पूर्वको प्रकाशपुर आउजाउ गर्न थालेका छन्।

असोज १ गते चालकको लापरबाहीले सप्तकोसीको मुल भंगालोमा डुंगा डुबेपछि प्रशासनले रोक लगाएको थियो। डुंगा दुर्घटना हुदाँ ३७ जनाको उद्दार गरिएको थियो । डुंगा डुब्दा नौं जना बेपत्ता भएका थिए।

सुनसरीका सिडिओ मोहनप्रसाद चापागाईका अनुसार, श्रीलंका टापुका बासीन्दा दैनिक उपभोग्य सामान किनमेल गर्न समस्या भएको र दसै समेत नजिकिएकाले गर्दा सहजताका लागि डुंगा सञ्चालन थालिएको हो । डुंगा सञ्चालन गर्दा सप्तकोसीको पूर्वी तटीय क्षेत्रमा प्रहरीको बिट राखिएको छ ।

 ‘अब प्रहरीको बिट राखिएपछि डुंगामा चढ्ने यात्रुको रेकर्ड राखिने, अनिवार्य लाइफज्याकेट लगाउनुपर्ने, नलगाउनेलाई डुंगामा चढ्न दिइनेछैन,’ सिडिओ चापागाईले भने, ‘अहिले तत्कालका लागि ५० वटा लाइफज्याकेट व्यवस्था गरिएको छ ।’ उनका अनुसार, श्रीलंका टापुबाट प्रकाशपुर आउजाउ गर्नेका लागि सयवटा लाइफज्याकेटको व्यवस्था गरिनेछ । डुंगामा चढ्ने यात्रुको रेकर्ड प्रहरीसँगै डुंगा सञ्चालकले समेत राख्ने निर्णय गरिएको छ । डुंगामा क्षमता अनुसार मात्र यात्रु चढाइनेछ । यसअघि मनोमानी ढंगले यात्रु चढाउने गरिन्थ्यो।

सप्तकोसीको पूर्वी तटीय क्षेत्रमा सुनसरी प्रहरीले बिट राखिसकेको र पश्चिम श्रीलंका टापुमा सुनसरीकै बिट राख्न सक्ने अवस्था छैन् । जसले गर्दा सुनसरी प्रहरीले उदयपुर प्रहरीलाई आग्रह गरेर तत्काल बिट राखिने सुनसरीका डिएसपी बिनोद घिमिरेले बताए ।

डुंगा दुर्घटनापछि गठित छानबिन समितिले श्रीलंका टापु विपद्को दृष्टिबाट अत्यन्त जोखिम र संवेदनशील रहेकाले गर्दा त्यहाँका बासीन्दालाई अन्यत्र बसोबासको व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ। सुनसरीका सहायक सिडिओ कमलबहादुर थापाको संयोजकत्वमा गठित समितिले डुंगा चालक प्रर्फेक्ट नहुनु र डुंगा चालक फेकु चन्द्रवंशीले मादकपदार्थ सेवन गरि चलाएकै कारण डुबेको जनाएको छ।

श्रीलंका टापुमा बढीमात्रमा सुनसरी, सप्तरी, उदयपुरबाट आएका मनिसको आश्रय स्थल बनेको छ । कोशीको तटबन्ध निर्माणका बेला भारतबाट आएका बंगाली नागरिकको संख्या पनि टापुमा उल्लेख्य छ । जो यही घरजम गरेर नेपाली नागरिक भैसकेका छन् । टापुमा बसोबास गर्ने ऐलानी जग्गामा पाखुरी चलाएर जीन्दगी जीउँने छन् । चन्द्रवशी, उराउ, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्ब र वाहुन क्षेत्री सबै खालेको घर बनेको छ टापु । बस्तीमा १२ हजारभन्दा बढीको जनसंख्या  छ।

सुनसरीका प्रकाशपुर र महेन्द्रनगरका तीन वडामा विभाजित टापु सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बिचमा अवस्थित छ । श्रीलंका टापु वर्षा याममा पानीले घेरिन्छ र टापुको रुप धारणा गर्दछ । कोशीको भेलमा डुंगा वाहेकको विकल्प उनीहरुसँग छैन् ।

प्रकाशित: १६ आश्विन २०७३ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App