१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

पुरुषप्रधान समाज यस्तै हो भनेर...

प्रत्येक राष्ट्र र समाजका आफ्नै मान्यता हुन्छन्। जसमा भाषा, संस्कार, नियम, आचरण र अनुशासन मान्यताकै आधारमा चल्ने गर्छन्। ती मान्यता पूर्वज र समाजका अग्रज व्यक्तिहरूबाट बनेका हुन्छन्। हाम्रो संस्कार र समाजका पनि आफ्नै मान्यता छन्। बेलामौकामा परिवर्तनका कुरा चलिरहन्छन्, समृद्धिका भाषण भइरहन्छन् तर मान्यता परिवर्तन नहुँदासम्म वास्तविक परिवर्तन आउँदैन भन्ने चाहिँ हामीले ख्याल गरेकै छैनौँ। हाम्रै सोच, विचार र उक्तिमा विरोधाभास खडा गर्ने काम भइरहेको छ। समाजमा या घरमा, घरेलु हिंसा बढून् या बलात्कारका घटना, या अन्य कुनै सामाजिक कुरीति, विकृति र अराजकता हुन् आवाज उठ्छ पितृसत्तात्मक सोच हाबी भएका कारण यी सब अराजकता घटिरहेका छन्। अर्कोतिर फेरि नारी शक्तिको उपासना यही समाजले गर्ने गरेको छ। देवी, पार्वतीले नदिए शक्ति प्राप्त हुँदैन भने लक्ष्मीले नदिए धन प्राप्त हुँदैन।

श्रीमान्ले व्रत नबसे पनि श्रीमतीको आयु नघट्ने तर श्रीमतीले व्रत नबसे श्रीमान्को आयु घट्छ हाम्रो समाजमा। श्रीमान्को व्यापार व्यवसाय, नोकरीमा पदोन्नति, सफलता सबैमा नारीको हात हुन्छ। नारीले गर्ने पूजा आजा व्रत, ग्रह, दशा, शान्ति आदि कर्मले नै पुरुषको  भाग्य या अभाग्य निर्धारण हुन्छ भने समाज कसरी, कुन आधारमा पुरुषप्रधान भएको मान्ने ? खेतमा धान नफले पनि कृषिप्रधान देशको मान्यता हटेको छैन भने घरमा दाल नगले पनि पुरुषप्रधान भन्ने मान्यता छुटेको छैन। श्रीमान् भान्छामा पसेर दाल गलाउँदा धन्यवादको  सट्टा यसो भएन र त्यसो भएन, फोहोर भयो भनेर निरुत्साहित गर्ने गृहलक्ष्मीको संख्या कति होला ? हाम्रा आवाज र गुनासा आफैँमा विरोधाभासपूर्ण छन्। गहिराइबाट, व्यावहारिक पक्षबाट नहेरी सतहमा हामी कुर्लिने गर्छाैं। के यथार्थ हो र के मान्यता हुन् छुट्टयाएका हुँदैनौँ।

हाम्रो कर्मको फल हाम्रै सोचाइका परिणाम हुन्। हामी जे सोच्छौँ त्यही हुन्छ। समाजका विकृति पुरुषप्रधान भएको कारण फैलिएको भन्ने सोच्यौँ भने त्यही नै हुन्छ कहिल्यै परिवर्तन आउँदैन। जसले पुरुषप्रधान भनेर आवाज उठाउँछ उसले आफ्नो घरको पुरुषलाई कसरी हेरेको छ ? घरमा महिला पुरुष दुवैको बराबर योगदान छ या पुरुष बढी स्वतन्त्र छ, उसको कुनै जिम्मेवारी नै छैन ? सबै कुरा र घटनालाई सामान्यीकरण गरेर पुरुषप्रधान भनी आरोप लगाउनाले मात्रै समाजको अराजकता घट्नेवाला छैन। अराजकता र हिंसा मनस्थितिबाट घट्ने हुनाले यसको कुनै जेन्डर हुँदैन। भावना मानिसको अन्तस्करणबाट प्रष्फुटन हुने गुण हो जसलाई महिला र पुरुष भनी लैंगिक आधारमा अलग गर्न खोज्नु अर्थपूर्ण छैन। गल्ती, अन्याय, अराजकता महिला या पुरुष जसले गरे पनि त्यो मानसिक समस्या र मानसिक अस्थिरताबाट उत्पन्न हुने कुरा हुन्। भावनात्मक रूपमा मानिस हृदय उस्तै हुन्छ, महिला पुरुष दुवैको।

महिलाहरूले पुरुषलाई पनि मानवीयता, भावनात्मकता, प्रेम र सौहार्दताबाट बराबर अस्तित्वले सृजित अस्तित्वको सुन्दर सृष्टि हो भनेर हेर्ने बोध नहुँदासम्म समाजमा महिला र पुरुषबीचको खाडल बनि नै रहन्छ। आफ्नै घरको श्रीमान्लाई राजा र छोरालाई राजकुमार बराबर मानेर सम्बोधन गर्नेले नै बाहिर पुरुषप्रधान भयो समाज भन्दै आवाज उठाउने गरेको पाइन्छ। आफ्नो छोरालाई र श्रीमान्लाई राजकुमार, राजा बराबर मान्नुको अर्थ हो प्रेमको दृष्टिले आफ्ना मान्छेलाई उच्च तहमा राख्नु। अर्कोतिर त्यही घरकी छोरीलाई अनेक संस्कार सिकाइन्छ (घरबाट एक्लै बाहिर ननिस्कनू, साँझ नपर्दै घर आउनू, केटा साथीसँग नजिकिएर नबोल्नू, छोटो लुगा नलगाउनू, छोरी भएको कारण घरको काम सबै सिक्नू, पाहुना र आफन्त आउँदा झुकेर नमस्कार गर्नू आदि)। नजानिँदो तरिकाले लैंगिक विभेदका संस्कार र शिक्षा घरैबाट सुरु भएका हुन्छन्। छोरीलाई छोरा सरह हिम्मतिलो बनउने शिक्षा घरबाट नै सुरु हुनुपर्छ। घरबाट नै फरक दृष्टिले हेरिनुको कारण हो, परम्परालाई तोड्न सजिलो छैन। परिवर्तन सजिलै आउँदैन जति हामी भाषणमा र कागजमा कुर्लिने गर्छाैं। नारीवाद र पुरुषवाद भनेर महिलाले नै आफूलाई फरक कोटिमा राख्न चाहन्छन्। कुनै पुरुषले महिलावादको पराकाष्ठा भनेर समाचार बाहिर ल्याएको पाइन्न तर समाजमा जे घटना घटे पनि पुरुषवाद भनेर चित्रण गरिहाल्ने प्रवृत्तिले गर्दा महिलाले आफ्नो अस्तित्वलाई सधैँ पुरुषसँग तुलना गरेर हेरेको पाइन्छ।

श्रीमान् श्रीमती बीचमा, छोराछोरी बीचमा समानता, सौहार्दता, आत्मीयता, सहयोग र प्रेमपूर्ण वातावारणमा जीवन बिताएका कथाहरू समाचारमा आउँदैनन्। जुन घरमा सौहार्दता, प्रेम र श्रद्धा छैन, कलह र दुश्मनी मात्र छ, अंश र वंशमा मुद्दा परेको हुन्छ, तिनै कथाहरू समाचार बनेर आउँछन् अनि पूरै समाजलाई पुरुष प्रधानको ज्यादती भनेर चित्रण गरिएको हुन्छ। कलह र दुश्मनी लैंगिक विभेदको कारणले हुने होइन संस्कारको अभाव, प्रेमको अभाव र बाहिरी घटनाका प्रभावबाट हुने गर्छन्। यसमा महिला र पुरुष कसैको पनि दोष छैन। दोष छ त मान्यतामा, संस्कारमा र मनस्थितिमा छ। दृष्टि बदल्न सके मात्र सृष्टि बदलिन्छ।

मनस्थितिमा सधैँ विभेद देख्न थालेपछि परिस्थितिमा पनि विभेद आउनु स्वाभाविक हो। परिवारको प्रेममा प्रमाण हुँदैन, प्रमाण त अदालतमा मात्र काम लाग्छ। किनकि प्रमाणले त आवेशलाई बढाउन मात्रै मद्दत गर्छ। वास्तवमै सकारात्मक परिवर्तन चाहने हो भने परिस्थिति र घटना सच्याउनतिर होइन आफ्नो कथा सच्याउनतिर लाग्नुपर्छ। आफ्नो कथा कसरी लेख्ने त्यो स्वयंमा निर्भर गर्छ। एक हुल जन्ती लिएर बेहुली लिन जाने समाजमा बेहुली एक्लै बेहुलाको घर प्रवेश गर्छिन् भने कसरी महिला कमजोर भए ? महिलालाई निम्न कोटीमा राख्ने र कमजोर मान्ने घर र समाजलाई प्रमाणले होइन, व्यवहारले परिवर्तन गरेर देखाउनु जरुरी छ। प्रेमले रूपान्तरण गर्नु जरुरी छ। महिलाले आफ्नो अस्तित्व स्वयंभित्र खोज्नुपर्छ पुरुषको व्यवहार र दृष्टिकोणमा होइन। पुरुषप्रधान भन्ने भेदभाव र परम्परागत सोचाइलाई महिलाले नै अन्त्य गर्नुपर्छ।

प्रकाशित: २५ पुस २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App