१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रेग्मी बर्खास्त

नवनियुक्त प्रमुख गणेश अधिकारी

काठमाडौंं – सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अनुसन्धान विभागको नियमावली परिवर्तन गरी रेग्मीलाई बर्खास्त गरेको हो।

प्रधानमन्त्री कार्यालयको प्रस्तावमा विभागको प्रमुखको पदावधि तीनवर्षे कायम गरी हटाइएको स्रोतले जनायो। केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लाने निर्णय गरिएको थियो। निर्णय कार्यान्वयन भने भएको छैन।

बैठकले विभागमा एउटा मात्रै एआइजीको दरबन्दी कायम गरेको छ। यसअघि विभागमा दुई एआइजीको दरबन्दी थियो। स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले नयाँ प्रमुखमा विभागकै वरिष्ठ एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ। पुरानो नियमावलीअनुसार अनुसन्धान विभागको प्रमुखको पदावधि चार वर्ष थियो। ३० वर्षे सेवा अवधिका कारण आगामी जेठ १५ गते अनिवार्य अवकाश पाउने भए पनि सरकारले रेग्मीलाई पदावधि नपुग्दै हटाएको छ।

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागसमेत प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि अनुसन्धान विभाग भने अलमल परेको थियो। तत्कालीन माओवादीका मन्त्री सहभागी नभएको मन्त्रिपरिषद बैठकले यससम्बन्धी निर्णय लिएको थियो। गत फागुन १६ गते बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो तर त्यो बैठकमा माओवादीका २ मन्त्री रामबहादुर थापा र मातृका यादव सहभागी थिएनन्।

प्रकाशित: २४ पुस २०७५ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App