१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘मन सफा भए पो सहर सफा हुन्छ ’

सपनाको सहर
ताराबहादुर कुँवर, चक्रपथ सरसफाइ अभियन्ता

तपाईँको विचारमा सहर भनेको के हो ?
घना बस्ती भएको व्यवस्थित ठाउँ नै सहर हो। सहरमा हरेक किसिमको सेवा–सुविधाहरू हुन्छन्। त्यहाँको सुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात, बिजुलीजस्तो सबैखाले सुविधाहरू हुन्छन्। सहरी सुशासनले सहरलाई सुगन्धित बनाएको हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर ?
मैले धेरै सहर घुमेँ। त्यसमध्ये मन परेको सहर पोखरा नै हो। पोखरा मनमोहक छ। त्यहाँका पर्यटकीय मार्गहरू लोभलाग्दा छन्। सबैतिर सफा छ। काठमाडौं पोखराभन्दा अव्यवस्थित छ। सरकारी काममा केही झन्झट भए पनि काठमाडौंको मौसम र सेवा–सुविधा राम्रो छ। उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृतिहरू छन्। प्रकृतिले पनि उपत्यकालाई सजिएको छ। मात्रै हामीलाई व्यवस्थित पार्न सकेनौं।

बाहिरी मुलुकका सहर कत्तिको घुम्नुभएको छ ?
धेरै देशका सहर घुमेकी छु। जर्मनी, स्वीजरल्याण्ड, जापान, दक्षिण कोरिया, बंगलादेश, नेदरल्याण्ड, भारतलगायत धेरै देशका सहर घुमेको छु। विदेशका सहर अति नै व्यवस्थित छन्। त्यहाँ सहरको बीच खण्डमा हरियाली कायम गरिएको छ। त्यहाँका सहरका हरेक चिजले मेरो ध्यान तान्यो। तर, हाम्रोमा नीति नियम नै छैन। सहरवासी सरकारी निमयलाई अटेर गर्छन्। सरकारले पनि कडिकडाउरूपमा नियम बसाल्न सकेको छैन, जसका कारण सहर झन् बिग्रिरहेको छ।

हाम्रा सहर किन व्यवस्थित भएनन् होला ?
प्राकृतिक र भौगोलिकरूपमा हामी विश्वमै धनी छौँ। यहाँ पाइने अनुपम चिज विदेशमा पाइँदैन। तर, राज्यको तर्फबाट सहर विकासमा भएका काम प्रभावकारी देखिएका छैनन्। सरकारले गम्भीर भएर काम गर्ने हो भने नेपालका सहर पनि उत्कृष्ट बन्न सक्छन्। अर्को कुरा, आम नागरिक पनि सहरप्रति जिम्मेवार भएको देखिन्न। सहरमा सबैले मनपरी गर्छन्। आफू बसेको ठाउँलाई सफा राख्नुपर्छ भन्ने भावना सहरवासीमा छैन। सहरमा बस्नेहरू चेतनशील भइदिएको भए सहर यसरी बिग्रने थिएन होला।

‘सहर जति सफा गर्‍यो त्यति नै फोहर बन्दै गएको छ। सहरवासीको मन सफा नभएसम्म सहर जति सफा गरेपछि हुँदैन। यसबारे सबैले सोच्नुपर्छ। अनिमात्रै सहर व्यवस्थित र सफा बन्न सक्छ।’

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सबैतिर सफा होस्। सबैले चाहेको कुरा सहजै पाउन्। सरकारी नियमले सबैलाई बाँधेको हुनुपर्छ। अनि मात्रै सहर व्यवस्थित र बस्नलायक बन्छ। अर्को कुरा, सहरमा फराकिला सडक हौंन्। सडक छेउमा हरियाली र हेर्दै मनमोहक दृश्य देख्न पाइयोस्। सहरमा एक–अर्काले वास्ता गरेको देखियोस्। सहरमा सबैखाले सेवा सुविधा मिलोस्। यति भयो भने सहर रमाइलो लाग्छ।

यहाँको धुवाँधुलो र अस्तव्यतता देख्दा दिक्क लाग्दैन ?
धेरै नै दिक्क लाग्छ। हामीले सक्दो प्रयास गरिरहेका छौं काठमाडौंलाई बनाउन। चक्रपथ सफाइ अभियानको पनि ७३ औं हप्ता पुगेको छ। यसबीचमा हामीले धेरै ठाउँलाई सफा बनाएका छौं। तर, सहर जति सफा गर्‍यो त्यति नै फोहर बन्दै गएको छ। सहरवासीको मन सफा नभएसम्म सहर जति सफा गरेपछि हुँदैन। यसबारे सबैले सोच्नुपर्छ। यहाँका केही नराम्रा पक्ष छन्। तर, राम्रो लाग्ने पक्ष पनि धेरै छन्। काठमाडौंमा सबैखाले सेवा–सुविधा पाइन्छ। काठमाडौं अस्तव्यस्त हुनुमा सरकारकै कमजोरी देखिन्छ। सरकारले नै तदारुकता नदेखाएकाले यहाँ विकास निर्माणमा ढिलासुस्ती हुने गरेको छ। यसलाई अझ तीव्र गतिमा अघि बढाउन जरुरी छ।

उपत्यकाको मन नपर्ने पक्ष केहो ?
सहरमा छाडापन भयो। सहरवासी पनि मनलाग्दी गर्छन्। कोही नियममा बस्दैनन्। त्यसलाई सुधार्न सबैको सोच बदल्नुपर्छ। मलाई यहाँको प्रदूषण र अस्तव्यस्त सहर देख्दा विरक्त लाग्छ। विकास निर्माणका कामलाई द्रूत गति दिन नसक्दा सहर दूषित भएको छ। भएका खाली ठाउँ धमाधम प्लटिङमा परिणत हुँदै छन्। यसको साटो पहिल्यै हाउजिङ बनेका भए यति धेरै घर बन्दैनथे होला। जथाभावी घर बनाउने क्रममा बाटो साँघुरियो। सरकारले पनि खासै काम गरेन। अहिले जे छ, त्यसैलाई मिलाउँदै जाने हो भने सहर राम्रो बन्न सक्छ।

सहर सफा राख्न के गर्नुपर्ला ?
सहरमा जथाभावी फोहर नफाल्ने। सूर्ती, गुट्खा, रिचार्ज कार्ड, चुइगम, चकलेटका कागजलगायत जथाभावी नफाल्ने। घुलो उडेको ठाउँमा पानी छ्याप्ने, सडकबीचका रुखको फेदमा पानी हाल्ने गरियो भने सहर सफा बन्न सक्छ।
यहाँको मनपर्ने मनपर्ने पक्ष ?

मलाई यहाँको हावापानी, पुराना बस्ती मठ मन्दिर मनपर्छ। अरु देशमा एकदमै गर्मी र जाडो हुन्छ। तर, हामीलाई प्रकृतिले नै नापेर हावापानी दिएको छ। यहाँका डाँडाकाँडा र मठ–मन्दिर घुम्दा स्वर्गीय आनन्द पाइन्छ। मेरो बुझाईमा पोखरा घुम्ने सहर र काठमाडौं धार्मिक र ऐतिहासिक सहर हो।

सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
सबैभन्दा पहिले त भएका योजना पूरा गर्नुपर्‍यो। सरसफाइ अभियान चलाउनुपर्‍यो। सडक फराकिलो पार्नुपर्‍यो। ढल निकास, खानेपानी र सडकलाई विशेष प्राथमिकतामा राख्नुपर्‍यो। अहिले उपत्यकामा जति पनि विकास निर्माण भइरहेका छन्, ती काममा सरोकारवाला निकायको समन्वय भएन। त्यसैले विकास निर्माणका काममा आपसी समझदारी पनि चाहिन्छ। समन्वय नभएकाले अहिले सहरका विकास निर्माण भताभुंग छन्।

विदेश र नेपालका सहरबीच के भिन्नता पाउनुभयो ?
सरसर्ती तुलना गर्दा विदेशका सहर सफा र व्यवस्थित छन्। हाम्रा सहर फोहोर र अव्यवस्थित छन्। प्राकृतिक र भौगोलिक पक्षलाई हेर्दा विश्वका अरु देशभन्दा हामी धेरै अगाडि छौँ। यहाँका सम्पदा, प्राकृतिक सौन्दर्यले विश्वको ध्यान तानेको छ।

सहरको मनपर्ने खानेकुरा के हो ?
मलाई नेपाली खाना नै मिठो लाग्छ।
प्रस्तुति: शिवहरि घिमिरे

प्रकाशित: २३ पुस २०७५ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App