१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सडक छैन, भ्यु टावर!

भ्भु टावर शिलान्यास स्तम्भ। तस्बिर : नागरिक

दमक- पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए। खेतका बीचमा शिलान्यास गरिएको स्तम्भको माथिल्लो भाग हराइसकेको छ। त्यहाँसम्म पुग्ने मूल सडकको कालोपत्रे योजना योजनामै सीमित छ। ‘सडकै नबनिरहेको अवस्थामा भ्यु टावर बन्ला’, स्थानीयको प्रश्न छ।

स्थानीय केशव दाहालका अनुसार त्यहाँ पुग्ने सडक बनाउन थालिएको लामो समय भए पनि काम सकिएको छैन। ‘विकासका लागि राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाउनु स्वाभाविकै हो,’ उनले भने, ‘तर ठूला योजना आउने ठाउँमा सडक बन्नै यत्रो समय लाग्नुचाहिँ अनौठो हो।’ समयमै सडक बनाउन भन्दै स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन।

अघिल्लोचोटि ओली प्रधानमन्त्री हुँदा शिलान्यास गरिएको सो भ्यु टावर निर्माणका लागि एक अर्ब ५५ करोड रुपैयाँ लाग्ने अनुमान थियो। तर अहिलेको विस्तृत परियोजना प्रतिवेदनमा दुई अर्ब ७४ करोड लाग्ने अनुमान छ। शिलान्यासका बेला ओलीले सुविधासम्पन्न भ्यु टावर बनाउने बताएका थिए। ‘माथिल्लो तलामा घुम्ने रेस्टुरेन्ट हुनेछ, टावरबाट पूर्वतिर टिस्टा नदी नै देख्न सकिनेछ,’ उनले शिलान्यासका बेला भनेका थिए, ‘मुलुककै आकर्षक भ्यु टावर बनाउने जिम्मेवारी सरकारले लिनेछ।’ त्यतिबेला प्रधानमन्त्री ओलीसँग तत्कालीन सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीसमेत आएकी थिइन्।

अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिका–३, दापगाछीमा दुई वर्षअघि शिलान्यास गरेको भ्यु टावर निर्माणस्थल गौचरनमा परिणत। त्यहाँ पुग्ने सडक कालोपत्रे योजना योजनामै सीमित।

भ्यु टावर बनाउन ६ बिघा जमिन छुट्याइएको छ। तर जग्गादातामध्येका डिल्ली चापागाईं भ्यु टावर निर्माणले दुई वर्षसम्म गति नलिँदा अन्योल बढेको बताउँछन्। ‘कति मान्छेले भ्यु टावर बन्दैन भनेका छन्,’ उनले भने, ‘यतिका समय भ्यु टावर नबन्दा साँच्चै आशंका उब्जिएको छ।’ उनका अनुसार भ्यु टावर बन्ने भनेपछि जग्गाको बिक्री मात्रै बढ्यो। ‘बाटो भएनभएका सबैतिर जग्गाको भाउ प्रतिधुर दुई लाखबाट १० लाख पुग्यो,’ उनले भने, ‘जग्गा धेरै हुनेले टन्न कमाए तर योजनाले गति लिएको छैन।’

भ्यु टावर बन्ने खेतको बीचमा शिलान्यास स्तम्भ छ। त्यसको माथिल्लो भाग भने उप्किसकेको छ। भ्यु टावर बन्ने भनिएको खेतकै आडमा कमला दवाडी बस्छिन्। ८५ वर्षीया उनलाई भ्यु टावर बनिहाले देख्न पाइने ठूलो आशा छ। ‘सिँढी चढ्नुनपर्ने, तलबाट एकैपटक माथि पुगिने भनेका थिए प्रधानमन्त्रीले,’ उनले भनिन्, ‘तर अहिलेसम्म त्यहाँ एउटा खाँबोबाहेक केही देख्दिनँ।’

दमक–३ का वडाध्यक्ष नवीन बरालले भ्यु टावर निर्माणपछि विकासका अन्य सम्भावना खुल्ने बताए। उनले सडक निर्माण योजनामा परिसकेको तर केही ढिलाइ मात्र भएको स्पष्ट पारे। ‘भ्यु टावर गौरवको योजना हो,’ उनले भने, ‘यसलाई सफल बनाउनु सबैको दायित्व हो।’ उनले खानेपानी, सडकसँगै अन्य पूर्वाधार बिस्तारै बन्ने जानकारी दिए। उनका अनुसार भ्यु टावर बन्ने ठाउँदेखि एक किलोमिटर उत्तरमा मात्रै खानेपानी सुविधा छ। वडाको मुख्य समस्या भनेको नदी नियन्त्रण हो। मावा नदी उत्तर–पश्चिमतर्फ छ। ‘नदी नियन्त्रणका लागि तटबन्ध निर्माण जारी छ,’ बरालले भने, ‘नदीको जोखिम घट्दो छ।’ नदी नियन्त्रणका लागि चिनियाँ पक्षले काम अघि बढाएको उनले बताए।

प्रस्तावित भ्यु टावर निर्माणस्थल अहिले चौपाय चराउने थलो बनेको छ। गाई चराउँदै गर्दा भेटिएका मानबहादुर निरौलाले भ्यु टावर बनिहाल्नेमा शंका व्यक्त गरे। ‘अहिलेसम्म केही काम अघि बढेको छैन। महिना दिनअघि टेन्ट टाँगेरै मान्छे बस्थे,’ उनले भने, ‘अहिले चालचुल छैन।’ सडकबिना अन्य पूर्वाधार बने पनि ती काम नदिने हुन्छन्। बिचौलियाले जग्गाको मूल्य मात्रै बढाएको आरोप उनको छ। ‘दुई वर्षदेखि नयाँ मान्छेले जग्गा मात्रै थपेका छन्,’ उनले भने, ‘भ्यु टावर नबने त उनीहरूको त बिजोगै हुन्छ।’

भ्यु टावरका योजनाकार दमक नगरपालिकाका पूर्वकार्यकारी अधिकृत युवराज दाहालले विकास एकैपटक नहुने र क्रमैसँगै सबै योजना सम्पन्न हुने बताए। अहिले प्रधानमन्त्री ओलीका निजी सचिवसमेत रहेका दाहालले समग्र दमकको उत्तरी क्षेत्रको विकासका लागि भ्यु टावर निर्माण थालिएको बताए। ‘अब केही समयमै भ्यु टावर निर्माणको ठेक्का प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘थालिएपछि योजना समयमै पूरा हुनेछ।’

भ्यु टावर बनाउने भनिएको स्थानदेखि झन्डै तीन किलोमिटरमा प्रस्तावित बुद्ध मूर्ति बनाउने थलो छ। त्यो योजना पनि ओलीकै इच्छामा ल्याइएको हो। त्यसका लागि भने जग्गाको विवाद छ। स्थानीय हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिने विश्वकै अग्लो बुद्ध मूर्तिका लागि आवश्यक जग्गाप्राप्त भइसकेको छैन। दाहालका अनुसार वन क्षेत्र सबै सरकारको साझा अधिकार क्षेत्र भएकाले निर्माण सुरु गर्न असहजता देखिएको छ। ‘अब स्थानीय सरकारले निर्णय गरिसकेको छ,’ उनले भने, ‘अब वन मन्त्रालयले स्वीकृति दिएपछि काम अघि बढ्छ।’ यसका लागि वैदेशिक सहायता ल्याउने सरकारको तयारी छ। त्यहाँ बौद्ध विश्वविद्यालयसहित अन्य पूर्वाधार बन्ने दाबी सरकारको छ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्ने दमक–६, ढुकुरपानीमा पनि अत्याधुनिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार भएको छ। टावर बनाउन दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ। सहरी विकास मन्त्रालयले दमक नगरपालिका–६ ढुकुरपानीमा अत्याधुनिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न डिपिआर तयार पारेको हो।

प्रकाशित: २३ पुस २०७५ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App