१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किसानलाई ट्याक्टर वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) कार्यालयमा ट्याक्टर लिन आएका किसान ट्याक्टर चलाउन सिक्दै। तस्बिर : नागरिक

नुवाकाेट- ‘खेती गर्नलाई गोरु पाल्यो, घाँसपानी गर्नलाई मान्छे छैन। गोरु खोजेर खेती गर्नलाई दाम अनुसारको काम हुँदैन। लगानी अनुसारको आम्दानी हुँदैन।’ यस्तै भन्दै थिए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) कार्यालयमा हाते ट्याक्टर लिन आएका ककनी गाउँपालिका–८ का बुद्धिलाल तामाङ।

परियोजना सञ्चालन भएको क्षेत्रमा सञ्चालित कृषि सहकारी, कृषि फार्म र कृषि समूहलाई ५० प्रतिशत अनुदानमा दिने गरी हाते ट्याक्टरका लागि निवेदन माग गरेको थियो। सूचनाको आधारमा २५ सहकारी, १४ फार्म र ५२ समूहले निवेदन थिएका थिए। कार्यालयमा हाते ट्याक्टर माग गर्ने सहकारीलाई तीन, समूहलाई दुई र फार्मलाई एक वटाका दरले उपलब्ध गराइएको जोन प्रमुख कमलराज गैरेले बताए। ‘जिल्लामा मात्र नभई देशमा नै बाहिरी देशको तरकारी भित्र्याउन नपरोस् भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) को सुरुवात गरिएको हो। परियोजना सञ्चालन गरेर मात्र भएन, त्यसबाट प्रतिफल लिनलाई आधुनिक तरकारी खेती प्रणालीमा किसानलाई प्रेरित गर्नुपर्छ,’ गैरेले भने, ‘खेती गर्नका लागि बिस्तारै गोरुपालन गर्ने प्रचलन घट्दै गइरहेको छ। त्यसैलाई मध्यनजर गर्दै परियोजनाले किसानलाई हाते ट्याक्टर दिने निर्णय गरेका हौं। माग गर्ने सबै सहकारी, समूह र फार्मलाई रित्तो हात फर्काएका छैनौं।’

परियोजनामा हाते ट्याक्टर माग गर्न ९१ वटा कृषि सहकारी, कृषि समूह र फार्मले निवेदन दिएका थिए। सबैलाई गरी एक सय २० थान हाते ट्याक्टर वितरण गरिएको छ।  २५ हजारदेखि ५५ हजार रुपैयाँसम्म पर्ने विभिन्न कम्पनीका हाते ट्याक्टर परियोजना कार्यालयमा उपलब्ध गराएर किसानलाई छान्न लगाइएको थियो।

परियोजनाले ५० प्रतिशत अनुदानमा खेतबारी जोत्न ट्याक्टर उपलब्व्ध गराएपछि कृषि क्षेत्र पनि सम्मानित पेसा रहेछ भन्ने लागेको बुद्धिलाल तामाङले बताए। ‘खेती किसानी गर्दागर्दै ५० वर्षभन्दा बढी भयो। अहिलेसम्म कसैले सहयोग गरेको थिएन। तरकारी जोन आएपछि आर्थिकदेखि प्राविधिक सहयोग गर्दै आएको छ। यसले उत्साह थपेको छ,’ तामाङले भने, ‘अनेक किसिमको तरकारी फलाइन्छ। तर, बजार पाउन मुस्किल पर्छ। त्यता पनि जोनको ध्यान जाओस् भन्ने लाग्छ।’

ककनी गाउँपालिकामा रहेका सातवटै वडा, शिवपुरी गाउँपालिकाको वडा नं. ६ समुन्द्रादेवीको वडा नंं. ७ सुनखानी र वडा नं. ८ थानापती, पञ्चकन्या गाउँपालिकाको वडा नं. ३ पञ्चकन्याको वडा नं. ४ थप्रेक, वडा नंं. ५ भदुटार, दुप्चेश्वर गाउँपालिका वडा नंं ३ रातउवेशी र वडा नंं ५ बालकुमारीमा उक्त कार्यक्रम चलिरहेको छ। कार्यक्रमले किसानको हकहित र प्रोत्साहनका लागि कसैलाई भेदभाव नगरिएको सञ्चालक समितिका सदस्य प्रेमबहादुर तामाङले बताए।

‘हाम्रो कार्यक्रम सञ्चालन भइरहेको ठाउँको भूगोल एकैनासको छैन। भूगोलअनुसार किसानले तरकारी खेती गरिरहेका छन्। सोहीअनुसार हामीले सहयोग गरिरहेका छौं,” तामाङले भने, ‘म पनि झन्डै १२ वर्षदेखि व्यावसायिक तरकारी गर्दै आइरहेको छु। जोन कार्यक्रम सञ्चालन भएको दुई वर्ष भयो। रोप्ने बेलादेखि उपभोक्ताको चुलोमा नपुगुन्जेलसम्म समन्वय भइरहेको छ।’

किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन ककनी र शिवपुरी गाउँपालिकामा बोलेरो गाडी खरिद गर्न लागेको छ। एउटा बेलेरो किन्न २३ लाख रुपैया बराबरको लगानी हुने भएकाले जोनबाट १५ लाख, गाउँपालिकाबाट पाँच लाख ५० हजार रुपैयाँ र बाँकी रकम सहकारी स्वयंले लगानी गर्नुपर्ने बताइएको छ।                         

प्रकाशित: २२ पुस २०७५ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App