१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमहलको पुनःनिर्माण हुने

काठमाडौं – पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहलको पुनःनिर्माण हुने भएको छ। भूकम्पले भवनमा धेरै क्षति पुर्‍याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ।

भवनमा कतिसम्म क्षति पुगेको छ भनेर कार्यालयले अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गरेको थियो। प्रतिवेदनमा प्रवलीकरण गरेर मात्रै नहुने, पूरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने उल्लेख छ।

त्यसैका आधारमा पुनःनिर्माण गर्न लागिएको परियोजना प्रमुख गणेशराज वस्तीले बताए। भूकम्प गएको लामो समयसम्म पनि यो भवन पूरै भाग भत्काएर नयाँ बनाउने कि क्षति पुगेका भागमा मात्रै काम गर्ने भन्ने विषय छलफल भइरहेको थियो। भवनको डिजाइन गर्न पनि लामो समय लागेको थियो। उनले भने, ‘सबै कुरा टुंगिएकाले अब भवन भत्काएर नयाँ निर्माण सुरु हुँदैछ।’

काठमाडौं उपत्यकामा रहेका अरु ऐतिहासिक भवनजस्तै यो भवनमा पुनःनिर्माण गर्दा पूरै भत्काएर पुनःनिर्माण गर्ने कि क्षति पुगेका भागमा मात्रै प्रवलीकरण गर्ने भन्नेमा एकमत थिएन।

राणाकालीन यो संरचना निर्माण भएको १०० वर्ष पुग्न लागेको छ। प्राचीन स्मारक संरक्षण ऐनले १०० वर्ष पुरानो भवनलाई मात्रै समेट्ने हुँदा पुनःनिर्माण गर्न सकिने प्रमुख वस्तीले बताउनुभयो। उनले भने, ‘पूरै भत्काएर पहिले जस्तै गरेर निर्माण हुनेछ।’

चार तले यो भवनको लागत एक अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ। भवन निर्माणको लागत नेपाल सरकारको हो। प्राधिकरणको म्याद दुई वर्ष भएकाले त्यही अवधिमा काम सम्पन्न गर्ने योजना रहेको उनले बताए। उनले भने, ‘काम सरासर गर्न पाए समयमा सकिनेछ।’

श्रीमहलअर्थात् श्रीदरबार राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएको पाइन्छ। उनले दुईमुखे भवन बनाउन लगाएका थिए। आफ्नी कान्छी महारानी बालकुमारीदेवी र महारानीका जेठा छोरा विष्णुशमशेरका लागि भनेर यो भवन निर्माण भएको थियो। भवन एकै पटक विसं १९७६ वैशाखमा बन्न सुरू भएको थियो र दुई वर्षमा यसको निर्माण सम्पन्न भएको तथ्याङ्क छ। त्यो दुईमुखे भवन पछि छुट्याइएको पाइन्छ।

चन्द्रशमशेरका नातिअर्थात् विष्णुशमशेरका छोरा पीताम्बरशमशेरले तत्कालीन श्री ५ को सरकारलाई यो भवन दिएका हुन्। सो भवनमा कृषि विभाग, स्थानीय विकास मन्त्रालय र पछि स्थानीय पूर्वाधार कृषि सडक विभाग, डोलिडारको कार्यालय बसेको थियो। (रासस)

प्रकाशित: २२ पुस २०७५ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App