१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वालिङ–१०० माउण्टेन बाइक दौड माघमा हुने

क्याप्सन माउण्टेन बाइकर्स । तस्बिर : नागरिक

स्याङ्जा – वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजनामा वालिङमा ‘वालिङ–१००’ एक दिवसीय अन्तर्राष्ट्रिय माउण्टेन बाइक दौड (म्याराथन) प्रतियोगिता आगामी माघ १८ मा हुने भएको छ। प्रतियोगिताको प्रमुख संरक्षक वालिङ नगरपालिका र सहयोगी संस्था वालिङ उद्योग वाणिज्य संघ हुन्।

‘वालिङ–१००’ भन्नाले माउण्टेन बाइक दौड (म्याराथन) को दूरी हो, अर्थात दौड एक सय किलोमिटर हुनेछ। आँधीखोला भ्यालीमा निर्मित माउण्टेन बाइक रंगशाला ‘वालिङ–१०० अल्टिमेट एमटिबी ट्रेल’ लाई विश्वमै प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वन्डरफूल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष एवं प्रतियोगिता संयोजक दिनेश तिवारी (दिनकर) ले बताए।

‘आँधीखोला भ्यालीमा निर्मित माउण्टेन बाइक रंगशाला दक्षिण एसियाकै उत्कृष्ट रंगशाला हो,’ उनले दाबी गरे, ‘हामी वालिङलाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अभियानमा छौं।’ नेपालका साहसिक खेलका सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने कार्यमा प्रतियोगिताले कोशेढुंगा सवित गर्ने उनले बताए। प्रतियोगिताबाट वालिङ, स्याङ्जा र नेपालको पर्यटनमा टेवा पुग्ने उनले विश्वास लिइएको छ। उनले भने, ‘वालिङ र आसपासका क्षेत्रको साहसिक खेल इतिहासमा माउण्टेन बाइकको नयाँ युग सुरु हुँदैछ। माउण्टेन बाइकिङ नेपाली खेलाडीलाई उत्कृष्ट अवसर हो।’

एक सय किलोमिटर पहाडी बाटो (अफ रोड) मा दौड गर्नु कठिन कार्य भएकाले साहसिक खेलबाट वालिङलाई पहिचान गराउन प्रतियोगिता राखिएको संस्थाका उपाध्यक्ष शान्ता थापाले बताइन्। उनले भनिन्,‘प्याराग्लाइडिङमा उत्कृष्ट स्थान स्याङ्जा अब साइक्लिङमा पनि हुनेछ। माघ १८ गते माउण्टेन बाइकमा नयाँ इतिहासमा रच्दैछौं।’ आँधीखोला भ्यालीमा हुन लागेको प्रतियोगिताबाट वालिङ नगरपालिका भेकमा सम्भावनाको पहिचान हुनुका साथै ग्रामीण भेकका घरबास (होमस्टे) कार्यक्रमलाई प्रचार–प्रसार र प्रवर्धनमा टेवा पुग्ने उनले दावी गरिन्। ‘स्मार्ट वालिङ’ दीर्घकालीन योजनालाई प्रतियोगिताबाट टेवा पुग्ने वालिङ नगरपालिका प्रमुख दीलिपप्रताप खाँणले बताए।

‘प्रतियोगिताले वालिङको नाम नेपालमा होइन, विश्वमा परिचय गराउँछ,’ उनले भने, ‘वालिङ साहसिक खेलको गन्तव्यका रुपमा विश्वमै चिनिनेछ।’ साहसिक पर्यटनको सम्भावनालाई विश्वमा प्रचार–प्रसार हुनुका साथै वालिङमा साइकल संस्कृतिको विकास हुने उनले अपेक्षा गरेका छन्। उनले भने, ‘माउण्टेन बाइक दीर्घकालीन सोँच हो। स्वस्थ नागरिक र नगरवासीका साइकल संस्कृति अनिवार्य छ।’ नेपालमा साइकल संस्कृतिको विकास गर्न सके प्रदुषण कमि, पेट्रोलियम पदार्थको अभावमा कमी, स्वस्थ वातावरण र स्वस्थ नागरिक उत्पादन हुने उनको तर्क छ।

‘मानवको शरिरले श्रम खोज्छ,’ उनले थपे, ‘श्रमका लागि साइकल अपरिहार्य छ।’ एकदिवसीय स्पर्धा सातौं वालिङ महोत्सवको अवसरमा गर्न लागिएको हो। वालिङ महोत्सवको मुख्य आकर्षकका रुपमा साइकल दौडलाई लिइएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए। उनले भने, ‘महोत्सव इतिहासमा नयाँ इतिहास कोर्दै छौं। महोत्सवको हरेक संस्कारणमा नयाँ आयाम थप्ने उद्देश्यले माउण्टेन बाइक प्रतियोगिता आयोजना गरेका हौं।’

यस वर्ष साहसिक खेल पर्यटनसँग सम्बन्धित खेलाडी तथा दर्शकको उपस्थिति हुने उनले अपेक्षा गरेका छन्। बिहान सात बजे सुरु हुने खेलको दुरी प्रतिस्पर्धीले १० घण्टामा पूरा गर्नैपर्छ। करिब ३० देशका १ सय ५० जना खेलाडी सहभागी हुने खेलमा टाइटल पुरस्कार ५ लाख रहेको छ। महिला प्रतिस्पर्धीबाट प्रथम हुनेले ३ लाख र पुरुषतर्फबाट प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ  प्राप्त गर्नेछन।

द्वितीय हुनेले (महिला–पुरुष दुवै) ले नगद ५० हजार, तृतीय हुनेले (महिला–पुरुष दुवै) नगद ३० हजार, चौथो हुनेले नगद २० हजार ( महिला–पुरुष दुवै), पाँचौं हुनेले नगद १० हजार (महिला–पुरुष दुवै) रुपैयाँ पाउनेछन्। यसैगरी ४० वर्ष र ५० वर्ष भन्दा माथिका उमेर समुहका विधा तर्फ विजेता महिला र पुरुषले क्रमशः १० हजार र १५ हजार नगद पाउनेछन्। खेलको दुरीलाई चार चरणमा विभाजन गरिएको छ।

पहिलो २५ किमी, दोस्रो ५० किमी, तेस्रो ७५ किमी र अन्तिम एकसय किमी दुरी निर्धारण गरिएको छ। तोकिएको दूरी १० घण्टामा पार गर्नैपर्नेछ। खेल बिहान सात बजे सुरु हुनेछ। प्रतियोगीले खेलका लागि नेपालीले ५ हजार रुपैयाँ र विदेशीले १ सय ५० डलर शुल्क बुझाउनुपर्नेछ।

वालिङ खेल मैदानबाट प्रतियोगिता सुरु हुनेछ। प्रतिस्पर्धीका लागि साइक्लिङ रुट वालिङ खेल मैदान–त्रियासी, राक्से, सिरुबारे, छापा, सिँगारकोट, माझकोट, राम्चे, तल्लाथोक, बस्यानी, मलागिरी, मिनाङ्कोट, केवरेभञ्ज्याङ, गह्रौंसुर, करादी, बायाँटारी, अकलादेवी मन्दिर, सिर्सेकोट, डुम्रेभञ्ज्याङ, सिरकोट, स्वरेक, अमले तय गरिएको  छ।

प्रकाशित: २१ पुस २०७५ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App