१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्याउ फल्न छाडेपछि सिकाइ केन्द्र बन्दै बागवानी

सुख्खा फलफूल विकास केन्द्रमा लगाइएको तरकारी । तस्बिरः बिरा/नागरिक

बैतडी – कुनै समयमा स्याउ उत्पादनका लागि प्रसिद्ध मानिएको बैतडीको सुख्खा फलफूल विकास केन्द्र अहिले विद्यार्थीको लागि सिकाइ केन्द्र बन्न थालेको छ। दशरथचन्द राजमार्गसँगै जोडिएको दशरथचन्द नगरपालिका–१, सतबाँजमा जलवायु परिवर्तनका कारण पछिल्लो १० वर्षयता स्याउ उत्पादन हुन छोडेको छ।

२०१९ सालमा स्थापित बागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। सुख्खा फलफूल विकास केन्द्र सतबाँजमा स्याउ फल्न छोडेपछि हिउँदे फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ। केन्द्र पछिल्लो समयमा विद्यार्थीको सिकाइ केन्द्र बनेको छ।

सुदूरपश्चिमका विभिन्न जिल्लाका कृषि विषय लिएर पढिरहेका विद्यार्थीहरू प्रशिक्षार्थीका रूपमा केन्द्रमा पुग्ने गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए। अहिले पनि ४९ विद्यार्थी ओजेटीमा काम गरिरहेका छन्। उनले भने, ‘सख्खा फलफूल विकास केन्द्रमा प्रशिक्षार्थीलाई प्रयोगात्मक सीप सिकाउने गरिएको छ।’ फलफूलका बिरुवा, तरकारीबाली लगाउने तरिका, विषादीको प्रयोग, जैविक मलको प्रयोग लगायतका विषयमा उनीहरूले सुख्खा फलफूल विकास केन्द्रमा सिक्ने गरेका छन्।

पाँच सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको फलफूल विकास केन्द्रमा सुरुमा ७२ जातका स्याउका बोट थिए। हावापानी परिवर्तनसँगै हाल १७ जातका मात्रै स्याउका बोट फल्ने गरेका छन्। बागवानीमा रहेका २ हजार ५ सय बोट स्याउ फल्न छाडेका छन्। स्थापनाको समयमा भारतको कास्मिर लगायतका ठाउँबाट स्याउका बिरुवा ल्याएर लगाएको थियो। सुरुमा राम्रो उत्पादन दिएपनि मौसममा आएको परिवर्तनले स्याउका बोट सुक्न थालेको प्राविधिक बताउँछन्।

हाल रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, जोनाथन डेलिसियस, मेकेन्टस, रेड जुन, क्क्स अरेन्ज, ब्युटी अफ वाथ, किङ अफ पिपिन, काश्मिरी एव्रा, स्टाक अर्ल ब्लेज लगायत जातका मात्रै स्याउका बोट फल्ने गरेका छन्। १० वर्षअघि फलफूलबाट वार्षिक ५ लाख राजश्व आउने गरेको थियो। बागवानीका २ हजार भन्दा बढी बोटले फल दिने छाडेका छन्। स्याउ फल्न छोडेपछि केन्द्रले सुख्खा फलफूल र तरकारी लगाउन थालेको छ।

किसानलाई पनि फलफूलका बिरुवालगायत कृषिसम्बन्धी अन्य सीप सिकाउने गरिएको छ। सुख्खा फलफूल विकास केन्द्रबाटै फलफूलका बिरुवाको नर्सरी बनाउने सीप सिकेर दशरथचन्द नगरपालिका–१, गुरुखोला र सुर्नया गाउँपालिका–२, बासुलिङका किसानले निजी नर्सरी बनाएका छन्। करिब २३ निजी नर्सरीमा विभिन्न जातका बिरुवा उत्पादन गर्दै आएका छन्। स्याउ, ओखर, खुर्पानी, सुन्तला लगायत विभिन्न जातका बिरुवा उत्पादन गरी मनग्ये आम्दानी गर्न थालेका हुन्।

प्राविधिक विषयतर्फ कृषि पढिरहेका विद्यार्थी पनि प्रयोगात्मक कक्षाका लागि सुख्खा फलफूल विकास केन्द्रमा पुग्ने गरेका छन्। बोटहरू कलमी गर्ने, ग्राफटिङ गर्ने, प्लास्टिक हाउसभित्र तरकारी खेती गर्ने तरिकाका बारेमा सिकाउने गरिएको छ। सुख्खा फलफूल विकास केन्द्रले प्लास्टिक हाउसभित्र तरकारी खेती गर्ने तरिका बारेमा सिकाउनका लागि केन्द्रभित्रै प्लास्टिक हाउसमा तरकारी खेती समेत गरिएको प्राविधिक सहायक अर्जुन खड्काले बताए।

सुख्खा फलफूल विकास केन्द्रले कम चिस्यानमा उत्पादन हुने स्याउको जातको खोजीमा लागेको पनि जनाएको छ। चिस्यान कम भएपनि फल्ने स्याउको बिरुवा भन्दा पनि सुख्खा फलफूलका बिरुवा नर्सरीमा राखिएको छ। स्याउ फल्न छोडेपछि ओखर, नासपाती, खुर्सानी लगायतका सुख्खा फलफूलका बिरुवा उत्पादन गरिरहेको सुख्खा फलफूल विकास केन्द्रले किसानलाई सीप पनि सिकाइरहेको छ।

प्रकाशित: २१ पुस २०७५ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App