१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

यात्रा–अनुभूति : ऐतिहासिक भिरकोट दरबार पुग्दा

‘नजिकको तीर्थ हेला’ भनेझैँ आफ्नै घरपायकमा पर्ने ऐतिहासिक स्थल भएर पनि मैले यसपूर्व कहिल्यै भिरकोट दरबारमा पुग्ने अवसर पाएको थिइनँ। आफू शिशु अवस्थामा छँदादेखिको रहर यसपालिको दसैँतिहार बिदामा पूरा भयो। दसैँतिहारको लामो बिदामा म टीका लगाउन स्याङ्जाको झारुङखोलास्थित घरमा पुगेका थिएँ।

त्यही मौकामा पारिवारिक भ्रमणका लागि कतै जाने कुरा उठ्यो। हजुरबुबाले ‘सानैदेखि नातिले भिरकोट दरबार हेर्ने इच्छा राखेको थियो। फुर्सदका समयमा त्यहीँ जाओ’ भनिदिनुभयो। बुबाआमा दुवै राजी भएपछि मेरा दुई दिदीसहित हामी त्यही दरबार अवलोकन गर्न जाने भयौँ। बाल्यकालदेखिको आफ्नो इच्छा पूरा हुने भएकाले म पनि निकै खुसी थिएँ। दिउँसोपख हामी झारुङखोलाबाट गाडी चढेर बयरघारी बजारमा पुग्यौँ। भिरकोट दरबारमा पुग्न त्यहाँबाट उकालो चढ्नुपर्ने रहेछ। हामी विस्तारै पहाडतिर उक्ल्यौँ। काठमाडौँमा बस्ने भएकाले मेरो त्यत्ति हिँड्ने बानी थिएन। त्यसैले मलाई उकालो चढ्न निकै सकस पर्‍यो। तर, पहाडमाथि उक्लँदा बाटाबाट देखिने रमणीय दृश्यले मेरो थकान नै बिर्साइदियो।

उकालो सकिएपछि हामी करुङ गाउँमा पुग्यौँ। करुङबाट कच्ची मोटरबाटो हुँदै तेर्साे लाग्यौँ। त्यहाँ मुसलमान र ठकुरीहरूको बाक्लो बस्ती रहेछ। बस्ती छिचोलेर हामी पहाडको टाकुरातिर लाग्यौँ। झन्डै आधा घन्टा तेर्साे हिँडेपछि हामी पहाडको टाकुरामा रहेको समथर मैदानजस्तो भूभागमा पुग्यौँ। त्यहाँ बारीका ठूलाठूला गरा रहेछन्। समथर टाकुराको बीचमा राता इँटामा सजिएको एउटा भव्य दरबार देखियो। त्यहाँ पुगेपछि हामी एकछिन अलमलियौँ। दरबारजस्तो स्थलमा कसरी पो पस्ने आँट गर्ने ? दरबारको मूल प्राङ्गण टेक्नै लाग्दा हामीले एकजना गोरो वर्णका वयोवृद्ध व्यक्तिलाई भेट्यौँ। उहाँ दरबारको प्राङ्गणमा घाम तापेर बसिरहनुभएको रहेछ। उहाँलाई अभिवादन गरेर हामीले दरबारका बारेमा उहाँसँगै जिज्ञासा राख्यौँ। उहाँले हाम्रो जिज्ञासालाई एकएक शान्त पार्दै जानुभयो।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण प्रारम्भ गर्नुपूर्व गण्डकी प्रदेशमा चौबीसी राज्यहरूको अस्तित्व रहेको कुरा मैले सामाजिक शिक्षामा पढेको थिएँ। तत्कालीन चौबीसी राज्यहरूमध्ये एउटा शक्तिशाली राज्यको नाम रहेछ, भिरकोट। यही भिरकोट राज्यका दैनिक तथा प्रशासनिक क्रियाकलापहरू सञ्चालन गर्न यो दरबारको स्थापना गरिएको रहेछ। पहिलेपहिले ससाना राज्यहरूबीच युद्ध भइरहँदो रहेछ। युद्धका समयमा शत्रुहरूमाथि आक्रमण गर्न सजिलो होस् भनेर प्रायः तत्कालीन दरबारहरू उच्च स्थानमा बनाउने प्रचलन रहेछ। त्यसैले भिरकोट दरबार पनि पहाडको टाकुरामा रहेको कुरा थाहा पाइयो। सयौँ वर्षपूर्व पाल्पातिरबाट ठकुरी वंशका खाम्चा र मिम्चा नाम गरेका दुई दाजुभाइ उपयुक्त स्थानको खोजीमा बयरघारीतिर आएका रहेछन्। त्यही वेला उनीहरू हालको खिलुङकोट भन्ने ठाउँमा एउटा सानो घर बनाएर बसेका रहेछन्।

कालान्तरमा त्यहाँ पानी र अन्य कुराको असुविधा भएकाले उनीहरू पुनः बयरघारी फाँटमा झरेछन्। युद्धका क्रममा त्यहाँ पनि असुरक्षित महसुस गरेपछि उनीहरू त्यहाँबाट पनि बसाइँ सरेर हालको यो दरबार रहेको ठाउँमा पुगेका रहेछन्। त्यहीँबाट कालान्तरमा भिरकोट राज्यको प्रारम्भ भएको रहेछ। सुरुमा उक्त दरबार अलि माथि थियो रे ! त्यो दरबार जीर्ण भएपछि यस दरबारको स्थापना गरिएको रहेछ। यस दरबारका अन्तिम राजाका रूपमा तारकबहादुर शाहले शासन गरेको कुरा उनले बताए। उनी प्रसिद्ध विद्वान् मानवअधिकारवादी नेता एवम् कूटनीतिज्ञ हृषीकेश शाहका पिता रहेको कुरा पनि हामीले थाहा पायौँ। वि.सं. १८२० तिर भिरकोट राज्य नेपाल राष्ट्रमा गाभिए पनि वि.सं. २०१८ सालसम्म यहाँ परम्परागत रूपमा स्थानीय राजाले नै शासन गर्थे रे ! २०१८ सालमा नेपाललाई चौध अञ्चल र पचहत्तर सालमा विभाजन गरिएपछि मात्रै यो क्रमको अन्त्य भएको रहेछ।

केही समय यहाँ भिरकोट प्राथमकि स्वास्थ्यचौकी पनि बसेको रहेछ। उक्त स्वास्थ्य चौकी नयाँ भवनमा सरेपछि यस भवनको रेखदेख भिरकोटका अन्तिम राजा तारकबहादुर शाहका भतिजले गर्दै आएका रहेछन्। उनको नाम ज्ञानेन्द्र विक्रम शाह रहेछ। नेपालका अन्तिम शाहवंशीय राजाको नाम ज्ञानेन्द्र विक्रम शाह हो भन्ने कुरा मैले पढेको थिएँ। तर,  भिरकोट दरबारमा अझै पनि ज्ञानेन्द्र शाहलाई भेट्न पाउँदा मलाई अत्यन्त रमाइलो अनुभूति भयो। वि.सं. २०२५ सालदेखि उनले निरन्तर यही दरबारको रखबारी गर्दै आएका रहेछन्। उनी जन्मेको छ वर्षपछि नेपालमा १९९० सालको महाभूकम्प गएको रहेछ। भूकम्पले पनि उक्त दरबारलाई कुनै असर गरेनछ।

उक्त दरबारको निर्माणमा स्थानीय स्तरमा उत्पादित इँटाको प्रयोग गरिएको रहेछ। दरबार बनाउन प्रयोग गरिएको एउटा इँटा एक पैसामा खरिद गरिएको कुरा सुन्दा मलाई अचम्मै लाग्यो। इँटाबाहेक यहाँका झ्यालढोकामा सालका बलिया काठहरूको प्रयोग गरिएको रहेछ। दरबारका प्रत्येक कोठामा पुरातात्त्विक महत्त्वका आँखीझ्याल रहेछन्। ती झ्यालहरू धेरै पुराना भएकाले अलि जीर्ण भइसकेका रहेछन्। छानामा प्रयोग गरिएको जस्तापाता पनि परिवर्तन नगरिएका कारण खिया लाग्न थालेको रहेछ। दरबार निकै पुरानो भए पनि यो निकै बलियो रहेको कुरा पनि हामीले उनैबाट थाहा पायौँ। पछिल्लो पटक २०७२ सालमा गएको भुइँचालोले समेत यसमा कुनै असर नपारेको कुराले पनि यो कुरा पुष्टि भयो।

एकछिन भलाकुसारी गरेपछि उनले हामीलाई दरबारको भित्री पाटो अवलोकन गराउन लगे। दरबारको भित्री संसार देखेर म झनै छक्क परेँ। दरबारभित्र छुट्टै संसार रहेको अनुभूति मलाई भयो। भित्र ठूला, उज्याला र फराकिला कोठाहरू रहेछन्। सामान्य माटो र ढुङ्गाले बनेको भए पनि ती कोठाहरू निकै आकर्षक र आधुनिक जस्ता देखिन्थे। दरबारभित्र तत्कालीन चौबीसी राजाहरूले प्रयोग गर्ने केही परम्परागत सामग्रीहरू थिए। दरबारको एउटा कुनामा राजगद्दीसमेत रहेछ। कुनै समयमा राजगद्दीका रूपमा प्रयोग गरिएको त्यही पुरानो कुर्सीले दरबारको परम्परागत चिनारी झल्काएको आभास हुँदोरहेछ।
–स्वरूप थापा, कक्षा–८
काञ्जीरोवा नेसनल मावि
कोटेश्वर, काठमाडौँ

प्रकाशित: २१ पुस २०७५ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App