१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एमसिसी परियोजनाबारे द्विपक्षीय छलफल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो।

भेटमा ऊर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीका लागि उपयुक्त वातावरण भएको धारणा राखेका थिए। उनले नेपाल र अमेरिकाबीच न्यानो सम्बन्ध रहेको भन्दै अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने विश्वास मन्त्री पुनको थियो।

मन्त्री पुन र राजदूत बेरीबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको तयारीको विषयमा समेत छलफल भएको थियो। भेटमा ऊर्जामन्त्री पुनले एमसिसी परियोजना निर्धारित समयभित्रै पूरा गर्ने गरी सरकारले तयारी गरिरहेको बताए। कानुनी जटिलताका कारण एमसिसी परियोजना रोकिने अवस्था आउन नदिने गरी काम भइरहेको मन्त्री पुनको भनाइ थियो।

आर्थिक विकासको गतिको आधारमा ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको स्वेतपत्र जारी गरेको भन्दै मन्त्री पुनले नेपाललाई १० वर्षमा १५ हजार मेगावाट बिजुली आवश्यक हुने जानकारी दिए।  उनले आफू ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेको समेत बताए।

मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थिक विकास रहेको भन्दै त्यसका लागि नेपाललाई लगानी आवश्यक हुने भएकाले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानीका लागि वातावरण बनाइदिन समेत आग्रह गरे। भेटमा अमेरिकी राजदूत बेरीले नेपालको ऊर्जा क्षेत्रमा साझेदारी गर्न अमेरिका इच्छुक रहेको धारणा राखे। उनले एमसिसी परियोजनाबारे ऊर्जा मन्त्रालयको प्राथमिकताबारे चासो राखेका थिए। राजदूत बेरीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अमेरिका भ्रमणमा अमेरिकी विदेशमन्त्री माइक पम्पेसँग एमसिसी परियोजनालाई अघि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको जानकारीसमेत दिए।

‘एमसीसी परियोजनामा साझेदारीका लागि धन्यवाद दिन चाहन्छौं, यसको कार्यान्वयनपछि नेपालमा भौतिक पूर्वाधारणको विकास हुनेछ, त्यसका लागि आगामी दिनमा समेत हामी नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौ।’ ऊर्जामन्त्री पुनसँगको भेटमा राजदूत बेरीले भने।

प्रकाशित: २० पुस २०७५ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App