१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कुटपिट सहन नसक्दा 'आत्महत्या'

काठमाडौं- हतियार हराएको घटनामा सेनाको आन्तरिक अनुसन्धानका क्रममा दिइएको दबाब सहन नसकेर सैनिक हवल्दार दीपकबहादुर खड्काले आत्महत्या गरेको आशंका गरिएको छ। खड्काको 'सुसाइड नोट' मा 'पृतनाभित्र भइरहेको कुटपिट सहन नसक्ने अवस्थामा पुगेको' व्यहोरा रहेको सुरक्षास्रोतले जनाएको छ।

'हतियार हराएपछि शंकास्पद सबैलाई मनपरी दैनिक कुटपिट र अन्य शारीरिक तथा मानसिक दबाब दिइएको देखियो,' स्रोतले भन्यो।

सेनाको सुदूपश्चिम पृतनाको गरुडदल गुल्मबाट गत साउन २१ गते हतियार हराएको थियो। त्यसको अनुसन्धान चलिरहेका बेला हवल्दार खड्काले पृतनाभित्रै आफ्नै हतियारले कन्चटमा गोली हानी आत्महत्या गरेका थिए।

हराएको हतियार खोज्न सेनाले गठन गरेको 'कोर्ट अफ इन्क्वाइरी' ले डेढ महिनाभन्दा लामो अनुसन्धान गरिसकेपछि असोज पहिलो साता सेनाकै आग्रहमा प्रहरी टोली सुदूरपश्चिम पुगेको थियो।

प्रहरी अनुसन्धान चलिरहेकै बेला असोज ७ मा पृतनाकै गेट नम्बर २ को कापमा हराएको हतियार र गोलीगट्ठा भेटिएको थियो।

प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लले प्रहरी टोली काठमाडौंबाट दिपायल गएको पुष्टि गरे। उनले भने, 'प्रहरी अधिकृतको टोली दिपायल पठाएका छौं, थप अनुसन्धान विवरण आउन बाँकी छ। मुख्य काम हतियार खोज्ने पूरा भएको छ।'

आत्महत्यापछिको अनुसन्धान प्रहरीले जारी राखेकाले यस विषयमा सेनालाई जानकारी नहुने सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए। उनले 'सुसाइड नोट' का विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको बताए।

'घटनास्थलको मुचुल्कादेखि पोस्टमार्टमसम्म सबै प्रहरीले गरेको छ। हामीलाई थाह हुँदैन,' कार्कीले भने।

यसरी भेटिएको थियो हतियार

प्रहरी टोलीले घटनाका दिनको कल डिटेल र लोकेसन मागेको थियो। त्यसबाट सेनाले छानबिन गरिरहेका पाँच जनाका गतिविधि शंकाको घेरामा परेको थियो। प्रहरीले पाँचै जनाको पोलिग्राफ टेस्ट लिँदा एक जना फेल भएका थिए।

अनुसन्धान निचोडमा पुगेको भनिएको रात नै पृतना गेट नम्बर २ को कापमा हराएको हतियार  र गोलीगट्ठा भेटियो। 'हामीले एक जनाको टेस्ट नेगेटिभ पाएका थियौं, भोलि तालिमप्राप्त कुकुर खटाउने भनेकै राति हतियार भेटिएको हो,' अनुसन्धानमा खटिएका एक सुरक्षा अधिकारीले भने। अनुसन्धानमा गणकै कुनै व्यक्तिले हतियार लुकाएको देखिएपछि प्रहरीले 'अनुसन्धान पद्धति' लाई प्रविधिमा केन्द्रित गरेको थियो।

'सेनाका जागिरेले किन हतियार लुकाए, त्यसमा अनुसन्धान हुँदै छ। बेच्न वा अन्य केही प्रयोजन हो? खुल्न बाँकी छ,' ती अधिकारीले भने। सेनाले हराएको हतियारको विवरण भने सार्वजनिक गरेको छैन।

स्रोतअनुसार सेनाले प्रयोग गर्ने एक थान एसएमजी, दुई थान लोडेड म्याग्जिन र सयौं थान गोली हराएको थियो। सेनाले असोज ७ गते विज्ञप्ति निकालेर हराएको हतियार र गोलीगठ्ठा पृतनाको २ नम्बर गेटनजिकै परिसरभित्रै भेटिएको जनाएको थियो।

सैनिक हवल्दारले अनुसन्धान दबाब सहन नसकेर आत्महत्या गरेको आरोपको सेनाले खण्डन गरेको छैन। हवल्दार खड्काका सम्बन्धमा अनुसन्धान भइरहेको सेनाले बताउँदै आएको छ।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले प्रहरीसँग रहेका प्रविधि र दक्ष जनशक्तिको अनुसन्धानमा प्रयोग गरिएको बताए।

ब्युरोका डिआइजी नवराज सिलवालले घटनाका विषयमा केही बताउन चाहेनन्। उनले प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार ब्युरोका केही अधिकारी अनुसन्धानमा खटिएको जानकारी मात्र आफूसँग रहेको बताए। ब्युरोस्रोतका अनुसार एसपी दिवेश लोहनी नेतृत्वमा अनुसन्धान टोली दिपायल खटिएको हो। यस्तै, दिपायल प्रहरी र सुदूरपश्चिम प्रहरीको टोलीसमेत घटना अनुसन्धानमा खटिएको छ।

प्रकाशित: १६ आश्विन २०७३ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App