१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘जमाल खसोग्गी हत्या प्रकरणमा सुनुवाई सुरु’

रियाद – पत्रकार जमाल खसोग्गी हत्याको अभियोग लागेका ११ जनाविरुद्धको सुनुवाई राजधानी रियादमा सुरु भएको साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ।

आरोपित ११ जनामध्ये पाँचजनालाई मृत्युदण्ड दिन अभियोजनकर्ताहरुले माग गरेको राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अमेरिका आधारितसाउदी सरकारविरोधी प्रख्यात पत्रकार खसोग्गीको सन् २०१८ को अक्टोबर २ का दिन टर्कीको राजधानी इस्तानबुलमा रहेको साउदी महावाणिज्य दूतावासमा हत्या भएको थियो।

टर्कीकी महिलासँग विवाह गर्नका लागि पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको कागजात प्रमाणित गर्न गएका बेला महावाणिज्य दूतावासभित्रै उनको हत्या भएको थियो। साउदी सरकारले सुरुमा पत्रकार खसोग्गी महावाणिज्य दूतावासबाट सकुशल बाहिर गएको बताए पनि पछि गएर उनको हत्यामा आफ्ना खराब एजेन्टहरुको हात रहेको स्वीकार गरेको थियो।

रियादमा पत्रकार खसोग्गी हत्याबारे सुनुवाई चलिरहँदा अभियोजनकर्ताहरुले उनको हत्या साउदीका एजेन्टहरुको खराब अपरेसनका कारण भएको दाबीसमेत गरेका छन्। पत्रकार खसोग्गीलाई साउदी अरब फिर्ता हुन उनीहरुले दबाव दिने क्रममा उनको हत्या भएको बताइएको छ।

खसोग्गी हत्या प्रकरणमा शंकास्पद रहेका १८ जनाविरुद्ध सुनुवाईका लागि ती व्यक्तिलाई सुपुर्दगी गर्न टर्कीले गरेको आग्रहलाई साउदी अरबले अस्वीकार गर्दै आएको छ। टर्कीले ती १८ जनामध्ये १५ जना व्यक्ति पत्रकार खसोग्गीको हत्या गर्नकै लागि साउदी अरबबाट इस्तानबुल आएको समेत बताउँदै आएको छ।

‘द वासिङ्टन पोस्ट’का स्तम्भकार खसोग्गीको हत्याबारे साउदी अरबको राजधानी रियादमा भएको भनिएको सुनुवाइको विस्तृत विवरण भने राज्य सञ्चालित सञ्चारमाध्यमले दिएको छैन। उसले देशको अपराध अदालतमा पत्रकार हत्याको मुद्दाको पहिलो सत्रको सुनुवाइ सुरु भएको र त्यसका लागि ११ जना आरोपित र उनीहरुका कानुन व्यवसायी उपस्थित भएको जनाएको छ।

डिफेन्स अधिवक्ताले अभियोगपत्रको कपी र त्यसको अध्ययनका लागि समय मागेका छन्। अर्को सुनुवाइको मिति भने तय नभएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ। साउदी अरबले पत्रकार खसोग्गी हत्याबारेको प्रमाण माग गर्दै टर्कीसँग गरेको आग्रहको उत्तर प्राप्त नभएको साउदीका महान्यायाधिवक्ताले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ। खसोग्गी हत्याबारे सुनुवाइ सुरु भएको बताइए पनि आरोपितको नाम भने औपचारिक रूपमै जारी गरिएको छैन।

साउदीले यसअघि जारी गरेको विज्ञप्तिमा पत्रकार खसोग्गी हत्यामा संलग्न रहेको भन्दै अन्य १० जनाविरुद्ध पनि अनुसन्धान भइरहेको बताएको थियो। साउदीका उपसार्वजनिक अभियोजनकर्ता सलान विन राजिह सलानले एक गुप्तचर अधिकारीले इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा लेथल इन्जेक्सन लगाएर पत्रकार खसोग्गीको हत्याका लागि निर्देशन दिएको भन्ने निष्कर्षमा अनुसन्धानकर्ताको पुगेको गत नोभेम्बरमा बताएका थिए।

आदेश दिने ती अधिकारीलाई खसोग्गीलाई साउदी अरब फिर्ता आउनका लागि मनाउन भनिएको उनले बताए। सलानका अनुसार हत्यापछि खसोग्गीको शवलाई दूतावास परिसरमै टुक्राटुक्रा पारिएको र ती टुक्राहरु स्थानीय सहयोगीमार्फत बाहिर निकालिएको थियो। यद्यपि पत्रकार खसोग्गीको शव अहिलेसम्म प्राप्त भएको छैन।

प्रकाशित: २० पुस २०७५ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App