१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘पुनर्जीवन दिन पिरतीको मिठो तिर्सना’

काठमाडौं – फिल्म ‘वीरविक्रम २’को पहिलो गीत ‘हुँदैन रेलीमाई’ सार्वजनिक भएको छ। अढाई दशक अघि निर्माण भएको फिल्म ‘देउता’मा समावेश सदाबहार गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सनका रूपमा यो गीत ‘वीरविक्रम २’मा राखिएको छ। फिल्म ‘देउता’को गीतमा नायक राजेश हमाल र नायिका सिर्जना बस्नेतले फिचरिङ गर्दा रिमेक गीतमा भने पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनले अभिनय गरेका छन्।

मनाङ र मुस्ताङमा छायांकन गरिएको रिमेक गीतमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर छ। गीतको ओरिजिनल भर्सन इन्द्रजित मिजार र भारती घिमिरेले गाएका हुन्। गीतमा कुसुम गजमेर र तुलसी घिमिरेको शब्द तथा रञ्जित गजमेरको संगीत छ।

गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले गीतलाई पुनर्जीवन दिन फिल्ममा राखिएको बताए। ‘फिल्म निर्माणको भित्री उद्देश्य व्यापार नै हो। यो गीत कथाले मागेर भन्दा पनि फिल्म र आफ्नो फाइदाका लागि राखेको हुँ’, मिलनले भने, ‘पुरानो सदाबहार गीतलाई पुनर्जीवन दिन पनि पिरतीको मिठो तिर्सना राखेका हौं।’ उनले गीतको माग अनुसार नै मनाङ र मुस्ताङमा फिल्म खिचिएको जनाउँदै नेपाली फिल्म धेरै खिचिएकै कारण मनाङ र मुस्ताङमा पर्यटक बढेको दाबी गरे। उनले फिल्मका लागि ‘देउता’का निर्माता युवराज लामाबाट सर्वाधिकार लिएको जनाए।

गीतका कोरियोग्राफर कविराज गहतराजले ‘देउता’को दृश्य भन्दा फरक दृश्य देखाउन मुस्ताङ र मनाङमा छायांकन गरिएको खुलाए। ‘यो गीत सदाबहार गीत हो। यस्तो गीतको कोरियोग्राफी गर्नु आफैंमा चुनौतिपूर्ण काम थियो’,कविराजले भने, ‘यो गीत बनाउन मैले ठूलो मेहनत गरेको छु।’

नायक पलले सदाबहार गीतमा नाच्न पाउनु आफ्ना लागि भाग्यको कुरा रहेको बताए। ‘निर्देशक मिलन चाम्ससँग जोडिन पाउनु मेरा लागि खुशीको कुरा हो’, फिल्म ‘शत्रु गते’ रिलिजको सात महिनापछि ‘वीरविक्रम २’मा जोडिएका पलले भने, ‘फिल्मको कथाले मन छोयो। त्यही कारण सात महिनाको दुरीलाई भेटाउन ‘वीरविक्रम २’मा जोडिएँ।’

नायिका वर्षाले निर्देशक मिलनको फिल्ममा काम गर्दा आफूलाई ठूलो खुशी पाएको अनुभव मिलेको बताइन्। उनले राम्रो टिमसँग काम गर्दा फिल्मको छायांकन सकिएको पनि थाहा नपाएको दाबी गरिन्। फिल्मका लेखक प्रदीप भारद्वाजले फिल्मले दुई साथीको कथा भन्ने बताए।

आगामी वर्ष प्रदर्शन हुने फिल्माम बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरूको अभिनय छ। अर्पण सापकोटा सह–निर्माता रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्वाजको पटकथा तथा संवाद, सुदिप बरालको डीओपी, नवराज उप्रेतीको छायांकन छ।

प्रकाशित: २० पुस २०७५ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App