१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा बढ्दै आगलागी, वार्षिक सरदर १२ जनाको मृत्यु

काठमाडौं - गत पुस ७ गते कलंकीमा एलपी ग्याँसजडित हिटर लिक भएर आगलागी हुँदा इन्जिनियर पुष्करराज श्रेष्ठसहित परिवारका तीन सदस्य गम्भीर घाइते। उपचारका क्रममा श्रेष्ठ र उनकी पत्नी अप्सरा श्रेष्ठको मृत्यु भयो। सोही घटनामा श्रेष्ठ दम्पतीका १६ महिने बालकको उपचार भइरहेको छ।

त्यस्तै गत पुस १४ गते गोर्कणेश्वर नगरपालिका–४ स्थित भगवती कार्डिङ धागो उद्योगमा विद्युत् सर्ट भएर आगलागी भयो। आगलागीका कारण डेढ करोड रुपैयाँभन्दा धेरै क्षति भयो। जुद्ध वारुण यन्त्रबाट खटिएका दमकलको तीन घन्टाको प्रयासपछि मात्रै आगो नियन्त्रणमा आएको थियो। समयमै दमकल पुगेर आगो नियन्त्रणमा लिइएकाले मानवीय क्षति भने हुन पाएन।

कलंकी र गोकर्णेश्वरमा भएका आगलागीका यी घटना प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्। काठमाडौं उपत्यकामा ग्याँस चुहिएर, विद्युत् ‘सर्ट’ भएर उपत्यकामा आगलागीका सानाठूला घटना दिनहुँजसो नै हुन थालेका छन्। पछिल्लो तीन वर्षमा काठमाडौं उपत्यकामा भएका आगलागीका घटनाको तथ्यांक हेर्दा पनि बर्सेनि यस्ता घटना बढ्दै गइरहेको देखिन्छ।

‘उपत्यकाको जनसंख्याको अनुपातमा दमकलको संख्या अत्यन्त न्यून छ,’ काठमाडौं महानगरपालिकाअन्तर्गत जुद्ध बारुणयन्त्रका प्रमुख बद्रीमान नगरकोटीले भने, ‘जनशक्ति र दमकलको अभावमा सोचेजस्तो सेवा दिन सकिरहेका छैनौं।’

काठमाडौं महानगरपालिकाअन्तर्गत जुद्ध बारुणयन्त्रका प्रमुख बद्रीमान नगरकोटी उपत्यकामा बहुतले भवनमा विद्युत् ‘सर्ट सर्किट’, ग्याँस सिलिन्डर ‘लिकेज’, ग्यासजडित हिटर पड्केर, विद्युतका तार लत्रेर, एलपी ग्याँस सिलिन्डर पड्केर आगलागी बढिरहेको बताउँछन्। ‘एकचोटि विद्युत् तथा ग्याँसका उपकरण जडान गरेपछि मर्मतसम्भार गर्ने चलन नै छैन,’ उनले भने, ‘सामान्य गल्तीकै कारण उपभोक्ताले आफैंले दुर्घटना निम्त्याइरहेका छन्।’ नगरकोटीका अनुसार अधिकांश आगलागीका घटना सामान्य गति अर्थात् हेलचेक्याइँकै कारणले हुँदै आइरहेका हुन्छन्। ‘आगलागीका धेरैजसो घटनाको मुख्य कारण ठूलो देखिँदैन,’ उनले भने, ‘ससाना गल्तीकै कारण ठूला जोखिम निम्तिएका छन्। त्यसैले, विद्युतीय तथा ग्याँसजन्य उपकरण प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्ने देखिन्छ।’

जुद्ध वारुणयन्त्र कार्यालयका अनुसार काठमाडौं जिल्लामा मात्रै सानाठूला दैनिकजसो नै आगलागीका घटना हुने गर्छन्। पछिल्लो समय धेरै मान्छेको जमघट हुने सपिङ मल, होटल, पुराना भवन भएका स्थान, बिजुलीका पोल भएका स्थान लगायतमा आगलागीका घटना वृद्धि भइरहेका छन्। जुद्ध वारुण यन्त्र कार्यालयका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा काठमाडौं जिल्लामा एक सय ८३ वटा आगलागीका घटना भएका थिए। आव ०७४-७५ मा त्यस्ता घटनाको संख्या बढेर एक सय ९४ पुगेको थियो। चालु आवको साउनदेखि हालसम्म ७२ वटा आगलागीका घटना भएका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष ०७२-७३ देखि ०७४-७५ मा बिजुली सर्ट भएर काठमाडौं उपत्यकामा २३ जनाले ज्यान गुमाएका छन् भने ११ घाइते भएका छन्। त्यसबाट ९० करोड ९४ लाख चार हजार ६ सय रुपैयाँबराबरको क्षति भएको थियो।

जुद्ध बारुणयन्त्र र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकलाई आधार मान्दा काठमाडौं उपत्यकामा आगलागीमा परेर वार्षिक सरदर १२ जनाले ज्यान गुमाउँदै आइरहेका छन्। प्रमुख नगरकोटीका अनुसार बिजुलीका तार ‘लुज’ भएर, विद्युतीय उपकरण जथाभावी प्रयोग गरिँदा, नियमित मर्मतसम्भार नहुँदा, घरको भान्छामा प्रज्वलनशील वस्तु राख्दा विद्युत् सर्ट हुने गर्छ। ‘तीन दशकअघि गरिएको वायरिङमा उपत्यकावासीले अहिलेका अत्याधुनिक उपकरण चलाउँदै आइरहेका छन्,’ उनले भने, ‘भोल्टेज समस्याकै कारणले अधिकांश स्थानमा विद्युत् सर्ट हुने समस्या देखिएको हो।’ उनका अनुसार समयसमयमा विद्युत्को वायरिङ सिस्टमसमेत बदल्दै अघि बढ्नुपर्छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् सर्टका कारण हुने दुर्घटना न्यूनीकरणमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन्। ‘विद्युत् सर्ट भएर हुने दुर्घटना न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिरहेका छौं,’ उनले भने, ‘घरधनीले नियमित रूपमा विद्युत्को मर्मतसम्भार तथा चेकिङ गर्नुपर्छ, जसले ‘सर्ट सर्किट’बाट हुने दुर्घटनाबाट जोगाउन सकिनेछ।

आगलागी भइहाले के गर्ने ?
कीर्तिपुर अस्पतालका बर्न प्लास्टिक विशेषज्ञ सर्जन डा. शंकर राईले आगलागी भएर घाइते भएका बिरामीको जलेको भागलाई तत्कालै ‘कुलिङ’ (चिस्याउने) गराउनुपर्ने बताउँछन्। ‘आगोले जलेको भागलाई २० देखि ३० डिग्री सेल्सियसको बगेको पानीमा चिस्याउनुपर्छ,’ उनले भने, ‘त्यसरी करिब आधा घन्टासम्म चिस्याउँदा बिरामीलाई केही हदसम्म राम्रो हुन्छ।’ उनका अनुसार आधा घन्टा जति चिस्याएसँगै सफा कपडाले पोलेको वा जलेको ठाउँमा छोपेर तत्कालै अस्पताल पुर्‍याउनुपर्छ। ‘आगलागीमा शरीरको भाग जलेसँगै शरीरमा पानीको मात्रा कम हुन्छ। त्यसैले बिरामीलाई तत्कालै पुनर्जलीयकरण आवश्यक हुन्छ।’ उनका अनुसार बिरामीलाई स्लाइन पानीले दिएर पनि पानीको मात्रा उपलब्ध गराउन सकिनेछ। डा. राईका अनुसार कीर्तिपुर अस्पतालमा ४० प्रतिशत टोटल बडी सब्जेक्ट (टिबिएस) भन्दा धेरै जलेका बिरामीको ज्यान जोगाउन गाह्रो हन्छ। उनी भन्छन्, ‘४० प्रतिशतभन्दा कम पानी हुने बिरामीको सफलतापूर्वक उपचार गर्दै आइरहेका छौं।’ विभिन्न चरणको उपचारपछि जलेका बिरामीमा छालासमेत प्रत्यारोपण गर्नुपर्ने चिकित्सक राईको भनाइ छ।

कसरी बच्ने आगलागीबाट ?
जुद्ध बारुणयन्त्रका प्रमुख नगरकोटीका अनुसार आगलागीबाट जोगिन घरधनीले नियमित रूपमा विद्युतीय वायरिङ मर्मतसम्भार गर्नुपर्ने बताउँछन्। ‘काम सकिनेबित्तिकै विद्युतीय तथा ग्याँसका उपकरण बन्द गर्नुपर्छ,’ उनले भने, ‘विद्युतीय तथा ग्याँसका उपकरण लिक हुनेबित्तिकै सम्बन्धित प्राविधिकलाई ल्याएर मर्मतसम्भार गर्नुपर्दछ।’ उनका अनुसार प्रज्वलनशील पदार्थको जभाभावी ढंगले प्रयोग गर्दा आगलागीका घटनामा वृद्धि भएका होे। अहिले जुद्ध बारुणयन्त्रसँग चारवटा दमकल चालू अवस्थामा छन्। त्यसैगरी ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकासँग दुई–दुईवटा दमकल छन्। दक्षिणकाली नगरपालिकासँग एउटा दमकल रहेको जुद्ध बारुणयन्त्रले जनाएको छ। काठमाडौंमा नेपाली सेनासँग तीनवटा दमकल, नेपाल प्रहरीसँग एउटा दमकल छन्। ‘उपत्यकाको जनसंख्याको अनुपातमा दमकलको संख्या अत्यन्त न्यून छ,’ उनले भने, ‘जनशक्ति र दमकलको अभावमा सोचेजस्तो सेवा दिन सकिरहेका छैनौं।’

दमकलको नम्बर १०१ बारे  धेरै बेखबर
जुद्ध वारुणयन्त्र कार्यालयको तथ्यांकअनुसार सर्वसाधारणले आगलागीपछि सोझै दमकलमा खबर नगर्ने देखाउँछ। ‘८० प्रतिशतभन्दा धेरै पीडितले आगलागी भए पनि सोझै दमकलको टेलिफोनमा सम्पर्क गर्दैेनन,’ प्रमुख नगरकोटीले भने, ‘अधिकांश आगलागी घटनाको प्रारम्भिक सूचना नेपाल प्रहरीबाट आउने गर्छ। नेपाल प्रहरीबाट दमकलसम्म आइपुग्न कम्तीमा पनि पाँचदेखि १० मिनेट लाग्ने गर्छ।’ उनका अनुसार सर्वसाधारणमा दमकलको नम्बर १०१ भन्ने थाहा नभएकाले नै प्रहरीमार्फत खबर आउने गर्छ।

प्रकाशित: १९ पुस २०७५ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App