१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अनशनस्थल खोज्दै डा. केसी

फाइल फाेटाे

इलाम – वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी इलाममा १६औंं अनशन बस्ने स्थलको खोजी गरिरहेका छन्। मंगलबार सदरमुकाम आएका डा.केसी सदरमुकामस्थित अस्पतालमा अनशन बस्दा बिरामीलाई असर पर्ने देखिएपछि बुधबार बिहानैदेखि नजिकै रहेका मन्दिर, पार्कलगायत सार्वजनिकस्थल खोज्न निस्किएका हुन्।

उनका सहअभियन्ताहरूले इलाम चोकबजार (लाँकुरी) चौतारा, माइस्थान, सिंहवाहिनी, नारायणस्थान मन्दिरमध्ये कुनै एक ठाउँ अनशन बस्न सल्लाह दिएपछि उनी ती स्थानसम्म पुगिरहेका छन्। तर, उनको अनशनस्थल टुंगो लागिसकेको छैन। नागरिकन्युजसँग मध्याह्न १२ बजे इलाम बसपार्कमा भेट हुँदा डा.केसीले केही जवाफ दिन चाहेनन्। र, तस्बिर खिचाउन पनि मानेनन्। ‘अहिले केही पनि कुरा नगरौं, भरे सबै कुरा आउँछ,’ उनले भने, ‘भरेतिर सबैकुरा भन्छु, अहिले नबोलौं, तस्बिर पनि नखिचौं।’  

मंगलबार बेलुकैदेखि उनको मोबाइल ‘स्विच अफ्’ छ। तर, बुधबार बिहानैदेखि उनको नम्बरमा फोन लागेपनि ‘रिसिभ’ गरेका छैनन्। ‘बेलुका होटलमा बसेर बिहानै चियाबारीसम्म हामी सँगै गएका थियौं, त्यसयता डा.केसीसँग सम्पर्क भएको छैन,’ अग्रज पत्रकार धर्म गौतमले भने, ‘उहाँले अनशन बस्ने, नबस्ने वा कहाँ बस्ने भन्नेबारे पनि हामीलाई केही भन्नुभएको चाहिँ छैन।’

डा.केसीकै अभियानका अभियन्ता अभिशेकराज सिंहले सामाजिक सञ्जालमा डा.केसी १६औं सत्याग्रहका लागि इलाम पुगेको लेखेका छन्। उनले लेखेका छन्–१६औं सत्याग्रहका लागि डा.केसी इलाम पगेका छन् र यसपालिको लडाइँ इलामबाट लड्ने हुनुभएको छ।

डा.केसीले बुधबार बिहान पनि आफू इलाम अनशन बस्नकै लागि आएको सञ्चारकर्मीहरूलाई बताएका थिए। ‘तर, अहिले नै सबै कुरा नभनौं,’ उनले भनेका थिए, ‘मैले राखेका माग पूरा हुनुपर्नेमा अडिग छु, आफ्नो ज्यानको माया त मारिसकेकै छु, स्वास्थ्य क्षेत्र सुधार्ने अभियानबाट विचलित भएको छैन।’

जुम्लामा २७ दिन आमरण अनशन बसेका बेला डा.केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका थिए। डा.केसीका मिडिया संयोजक प्रितम सुवेदीले भने, ‘हामीलाई अनशन बस्नेबारे उहाँ (डा.केसी)ले केही भन्नुभएको छैन तर इलाममा पनि सरकारी मेडिकल कलेज खुल्नुपर्ने पहिलेकै मागअनुसार उहाँ अनशनकै लागि इलाम जानुभएको सूचना चाहिँ पाएका छौं।’

गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो। गत मंसिर ११ मा डा.केसीले विज्ञप्ति निकालेर सरकारसँग भएको पहिलेको सहमति स्मरण गराएका थिए।  डा.केसीले पुनः सत्याग्रहको चेतावनी दिएपछि उनलाई संसद्को शिक्षा तथा स्वास्थ्य समितिले ‘केही दिन पर्खन’ भनेको थियो।

डा.केसीले दिएको अल्टिमेटम पुस १७ लाई थियो। तर, मंगलबार पनि पुनःबुधबारसम्म पर्खिदिन डा.केसीलाई उनका सहयोगीहरूमार्फत् संसदीय समितिले पुनः आग्रह गरेको स्रोतले जनाएको छ। ‘हिजो पनि उहाँलाई भोलिसम्म पर्खिदिन भन्दै सहयोगीहरूमार्फत् संसदीय समितिबाट अनुरोध भएको रहेछ,’ उनका एक अभियन्ताले भने। संसदीय उपसमितिमा मंगलबार र समितिमा बुधबार चिकित्सा शिक्षा विधेयकमा छलफल हुँदैछ। सहमति कार्यान्वयन नभए सत्याग्रह इलामबाटै थाल्ने तयारीसाथ डा.केसी इलाम आएका हुन्।

प्रकाशित: १८ पुस २०७५ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App