सुन्तलाले बजार पाएन, बोट मर्ने समस्याले किसान चिन्तित

बुधबार, १८ पुष २०७५, १३ : १४ सरिता श्रेष्ठ

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को स्राङका इन्द्रबहादुर मगरको बारीभरी लटरम्म सुन्तला फलेको छ। घरै वरिपरी दुई रोपनी जग्गामा लगाइएको सुन्तलाले पाखा नै पहेलो बनाएको छ। पहेलै भएर फलेका सुन्तला बारीभरी नै झरेको छ भने केही बस्तुभाउलाई पनि खुवाउने गरेको मगरले बताए।

‘सुन्तला खेती गर्न थालेको २५ वर्ष भइसक्यो’, मगरले भने, ‘सुन्तला बजारमा लगेर बिक्री गरी आम्दानी गरौँला भन्ने नै छैन।’ बारीमा लगाइएको कोदो र मकैले ६ महिना खान पुग्दैन तर पनि सुन्तला बेचेर आम्दानी गरौँला भन्ने उनलाई कत्तिपनि लाग्दैन।

विकट बस्ती, यातयातको पहुँचबाट टाढा रहेको छ। ६ घण्टासम्म डोकोमा बोकेर बजारसम्म बेच्न ल्याउन पनि असम्भव हुने गरेको स्थानीयको भनाई छ। बेच्नका लागि एकातिर बजार आउजाउ गर्न धेरै समय लाग्ने र अर्कोतिर बजार भाउ नभएका कारण लगाएका सुन्तला बिक्री हुन सकेको छैन। ‘गाउँ भन्दा तल बल्ल सडक पुगेको छ तर गाडी जाँदैन, हिँडेर बजार ल्याउन सम्भव देखिदैन’ मगरले भने, ‘सुन्तला बिक्री गरेर कमाई गर्छु भन्ने आशै छैन।’ बारीमा लगाइएका सुन्तला त्यतिकै खेर जाने गरेको मगर बताउँछन्। गाउँमा गएकाहरूले कहिले काँहि किनिदिने गर्छन् बाँकी कि आफैं खाने कि खेर नै जाने गर्दछ।

उनको आठ जनाको परिवार छ। पाखो बारीमा खाद्यान्न उत्पादन त्यति हुँदैन। बारीमा लगाइएको कोदो र मकैले ६ महिना मात्रै खान पुग्छ। वर्षभरी मुस्किलले खाद्यन्न पुर्याउने गर्छन्। मुस्किलले पुर्याउने कोदो मकै पनि कुनै वर्ष उत्पादन नहुँदा चिन्तित हुने गरेका छन्। बारीमा लगाएको सुन्तलाको बोट पनि वर्षेनी सुक्दै गएर उनी चिन्तित बनेका छन्। वर्षभरीको खर्च धान्नका लागि भनेर पनि अघिल्लो वर्षतिर डोकोमा नै बोकेर सुन्तला बिक्री गर्न लैजाने गरेको मगरले सुनाए। अहिले गाउँमा मोटरबाटो पुगेको छ तर गाडी नचल्ने भएका कारण टिपेका सुन्तला पनि ओइलाएर जाने गरेको छ।

अघिल्लो वर्षतिर बारीमा लगाएको ६० बोटका सुन्तला बेचेर १ लाखसम्म कमाई गरेका थिए। यसपाली कत्तिपनि कमाई नभएको मगरले बताए। गत वर्षहरूको तुलनामा सुन्तला पनि कम फल्दै गएको र बोट सुक्दै गएका कारण आम्दानी पनि घट्दै गएको उनको भनाई छ। महादेवस्थान, धुषा, जोगिमारा र बेनिघाट लगायतका मानिसहरूको मुख्य आम्दानीको श्रोत भनेकै सुन्तला खेती हो। तर यस क्षेत्रमा वर्षेनी सुन्तला उत्पादनमा कमी आएको छ।

धादिङमा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भएपनि उत्पादन भने वर्षेनी घट्दै गएको छ। सुन्ताला खेती गर्ने किसानहरूको संख्या हरेक वर्ष बढेपनि उत्पादन भने घट्दो क्रममा रहेको प्राविधिकहरू बताउँछन्। जिल्लामा करिब ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। जिल्ला कृषि विकास कार्यालयले किसानलाई विरुवामा सहुलीयत, औषधी र मलहरुमा अनुदान समेत दिँदै आएको थियो। स्थानीय संरचना निर्माण भएसँगै स्थानीय तहहरूले पनि बीउ तथा मलहरु उपलब्ध गराउँदै आइरहेको छ।

मुख्य आम्दानीको श्रोत सुन्तला भएपनि जलवायु परिर्वतनसँगै खेती गर्ने तरिका र रोग तथा उपचारको बारेमा सामान्य ज्ञान पनि नभएकोले राम्रो उत्पादन लिन नसकिएको स्थानीय रनबहादुर मगरले बताए। ‘पहिले पहिले एक वर्ष बढी एक वर्ष कम सुन्तला फल्थ्यो, हिजोआज बोट नै मर्न थाल्यो’ मगरले गुनासो गर्दै भने, ‘१० वर्षसम्म एउटै बोटमा फल्थ्यो, अहिले २ वर्ष नफल्दै बोट नै मरेको छ।’ सुन्तलाको बोटमा टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट विस्तारै सुक्दै जान थालेपछि सुन्तलाको उत्पादन समेत घट्दै गएको किसानले बताएका छन्।

वर्षेनी सुन्तला उत्पादन घट्दै जान थालेपछि अधिकांश किसानहरू चिन्तित भएका छन्। जलवायु परिर्वतन र प्राविधिक सहयोगको अभावका कारण केहि वर्ष यता सुन्तला उत्पादन क्रमश घट्न थालेको छ। केही वर्ष अघिदेखि नै सुन्तलामा देखा परेको रोग पत्ता लगाउन नसक्दा उत्पादन घट्दै गएको मगरको भनाई छ। ‘किन उत्पादन घट्यो ? के कारणले बोट सुक्न थाल्यो ? त्यो कारण हामीले पत्ता लगाउन सकेका छैनौँ’, मगरले भने,  ‘अहिलेसम्म कोही प्राविधिकहरू हाम्रो बारीमा आइपुगेका छैनन्, वर्षेनी बोट सुक्दै गएको छ, फलेका सुन्तला बजारसम्म लैजान पनि सकेको छैन।’

धादिङमा उत्पादित सुन्ताला चितवन काठमाडौं र चितवन लगाएत पोखराका बजारहरुमा विक्रिका लागि ठेकेदारले लैजाने गरेका छन्। १ वर्ष सुन्तला खेती सुरु गरेपछि वर्षौंसम्म कम लगानीमै प्रतिफल पाइरहने क्षेत्र भएकाले पनि यसमा धेरै सहज खेतीको सम्भावना छ। तर, बजार भाउ नपाउँदा किसानहरूको मेहनत खेर जाने गरेको अर्का किसान लालबहादुर चेपाङले बताए। ‘बजार लगेर बिक्री गर्न नपाउँदा वर्षेनी सुन्तला बारीमा नै कुहिने गरेको छ’, चेपाङले भने, ‘नजिकमा बजार छैन, डोकोमा बोकेर बजार लैजादा मूल्य पाइँदैन।’

उनको परिवारले दशक पहिलादेखि सुन्तला लगाउँदै आएको छ। तर, भौगोलिक विकटले गर्दा आम्दानीको स्रोत बनाउन नसकिएको उनको भनाई छ। गाउँमा आम्दानीको अन्य स्रोत छैन। रोपेको लामो समयपछि पनि फल दिने भएकाले एकातिर किसानहरू यसको खेतीतर्फ आकर्षित छन् भने अर्कोतिर बिभिन्न रोगले सताउने र त्यसको निवारणका लागि शून्य सरकारी सहयोगका कारणले किसानहरू चिन्तित बनेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad