१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुफाडाँडा घोषणापत्र जारी गर्दै सकियाे जलवायु सम्मेलन

गुफाडाँडा (सिन्धुपाल्चोक)– जलवायु परिवर्तनका समस्या र यसका असर न्यूनिकरणका १० बुँदे उपाय सुझाउँदै राष्ट्रिय जलवायु सम्मेलन मंगलबार सकिएको छ। 

७७ जिल्लाका समन्वय प्रमुख वा प्रतिनिधिले हस्ताक्षर गरेको गुफाडाँडा घोषणापत्रमा जलवायुमैत्री विकासलाई जोड दिइएको छ। ‘वातावरणलाई विगारेर होइन, शृंगारेर गरिनुपर्छ भन्ने मुल मन्त्रलाई आत्मसात गरी जलवायुमैत्री विकासलाई प्रवर्द्धन गर्ने’, सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै घोषणापत्रमा सुझाव जोड दिएको छ। 

जलवायु परिवर्तन र यसले पारेका असरबारे बैज्ञानिक खोज तथा अनुसन्धानलाई प्रोत्साहन गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्ने विषयलाई विज्ञहरुको राय सम्मिलित घोषणापत्रमा प्राथमिकता दिइएको छ। ‘त्यसका लागि हरेक गाउँपालिका र नगरपालिकामा जलवायु मापन केन्द्र स्थापनाका लागि पहल गर्ने’, घोषणापत्रमा सुझाइएको छ। 
७७ जिल्लाका झण्डै ४ सय जनप्रतिनिधि र विज्ञ सम्मिलित सम्मेलनको छलफलको निष्कर्षलाई समेटेर गुफाडाँडा घोषणापत्र जारी गरिएको हो। जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिने गुफाडाँडामा सोमबार र मंगलबार दुई सम्मेलन चलेको थियो। 

जलवायुलाई विकाससँग जोडेर आयोजना गरिएको सम्मेलनले उद्देश्य प्राप्तिमा सघाउने विश्वास लिइएको सम्मेलन मूलआयोजक समितिका संयोजक जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले बताए। ‘सम्मेलनले जलवायु सम्वन्धि नीति बनाएर कार्यान्वयन गर्ने सन्दर्भमा संघदेखि स्थानीय सरकारसम्मलाई मार्गप्रशस्त गरेको ठानेका छौं’, घोषणापत्र जारी भएपछि उनले भने। 

साढे दुई हजार मिटरको लेकाली क्षेत्रमा जुगल हिमशृंखलाको काखमूनि भएको सम्मेलनमा विज्ञहरुले जलवायु परिवर्तनका विभिन्न २२ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। ३८ जनाको विज्ञ समूहले प्रतिनिधिलाई प्राविधि सहजीकरण गरेका थिए। प्रतिनिधि र विज्ञको छलफलपछि जारी घोषणापत्रमा स्थानीय स्तरबाट हुने स–सानाकामबाटै जलवायु परिवर्तनका असर सुरुतर्फ संकेत गर्दै स्थानीय तहलाई यससम्वन्धी नीति, सुविधा, उपकरण र अधिकारले सम्पन्न गराउनु पर्नेमा जोड दिइएको छ। 

जलवायु परिवर्तनले मानव जीवनमा पारेका असर र समस्याका विषयमा प्रभावकारी सूचना उपलब्ध गराउने संयन्त्र बनाउन हरेक जिल्ला समन्वय समितिलाई समन्वयकारी भूमिका दिन जनप्रतिनिधिले माग गरेका छन्। जलवायु उत्पन्न जोखिम र प्राकृतिक प्रकोपको न्यूनिकरणका लागि स्थानीय अनुकल योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै घोषणापत्रमा भनिएको छ, ‘स्थानीय तहमा नीति कार्यन्वयनका लागि आवश्यक कानुनी व्यवस्था लागू गर्ने।’

सम्मेलनले जलवायु परिवर्तनको मारमा स्थानीय परिरहेका निष्कर्ष निकालेको छ। स्थानीय बासिन्दाले भोगिरहेको असरलाई केन्द्रविन्दुमा राखेर घोषणापत्रको अघि सुझाव प्रस्तुत गरिएको छ, ‘जलवायु परिवर्तन सम्बन्धी महासन्धीको केन्द्रविन्दुमा स्थानीय बासिन्दा रहेकाले बातावरण र जलवायु परिवर्तनको मुद्दाको राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पैरवी गर्दा स्थानीय समस्या र गरिएका समाधानका प्रयासलाई जोड दिने।’

जिल्ला समन्वय समिति राष्ट्रिय महासंघकी अध्यक्ष सीता सुन्दासले जिससले पहिलो पटक आयोजना गरेको सम्मेलन जलवायु परिवर्तन सबैको साझा सवाल भएको सन्देश दिन सफल भएको बताइन्। ‘घोषणापत्रले उठान गरेका सवाल कार्यान्वयनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्छौँ,’ उनले भनिन्। 

समन्वय समिति सिन्धुपाल्चोक व्यवस्थापन र जिसस महासंघको आयोजनामा सम्मेलन आयोजना गरिएको थियो। सम्मेलन जलवायुको सवालमा मुलुककै ध्यानाकर्षण गराउन सफल भएको आयोजकको दाबी छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सम्मेलनको उद्घाटन गरेकी थिइन्। 

प्रकाशित: १७ पुस २०७५ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App