१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बेन्टलेको पाठ्यक्रममा कुलचन्द्रको पुस्तक

काठमाडौं– अमेरिकाको वाणिज्यशास्त्र विश्वविद्यालय बेन्टले युनिभर्सिटीले लेखक कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मीः माइ जर्नी फ्रम दि हिल्स अफ नेपाल टु दि हल्स अफ युनाइटेड नेशन्स’ लाई आफ्नो पाठ्यक्रममा समावेश गर्ने भएको छ।

म्यासाचुसेट्स् राज्यको वाल्थामस्थित उक्त विश्वविद्यालयले वाणिज्यशास्त्रअन्तर्गत स्नातकोत्तर तहका विद्यार्थीलाई विश्व मामिला बुझाउने पाठका रुपमा पुस्तकको चयन गरेको हो। पुस्तक नेपालस्थित पब्लिकेशन्स नेपालयले प्रकाशन गरेको हो।

विश्वविद्यालयका प्राध्यापक डोनाल्ड मेक्नमारले गौतमको जीवनी एक अन्तर्राष्ट्रिय प्रशासकका रोचक भोगाइहरूको रुचीपूर्ण वर्णन नभई यसले संयुक्त राष्ट्रसंघको कार्यप्रणालीबारे पनि पाठकलाई जानकारी दिने बताए। ‘पुस्तकले राष्ट्रसंघमा तपाईको यात्रालाई विशिष्ट तवरले बयान गरेको छ,’ गौतमलाई लेखेको पत्रमा प्राध्यापक मेक्नमारले भनेका छन्, ‘यसको रोचक र जानकारीमूलक पाटोले आकर्षित गरेपछि हामीले पाठ्यक्रममा समेट्ने निधो गरेका हौं।’

प्राध्यापक मेक्नमारका अनुसार विश्वविद्यालयअन्तर्गतको बिजनेश स्कुलमा यसको पुस्तक पढाइ हुन लागेको हो। उनले पत्रमा परिवर्तित विश्वमा ज्ञान र समझले भरिएका नयाँ पुस्ताको खाँचो महशुस गरेरै पुस्तकको चयन गरिएको उल्लेख गरेका छन्। यसै वसन्त ऋतुको नयाँ सत्रबाट यसको पठनपाठन शुभारम्भ गर्ने उद्देश्यले बेन्टले विश्वविद्यालयको पुस्तक पसललाई नेपालबाट मगाउन अह«ाइसकिएको पत्रमा जनाइएको छ।

लेखक गौतमले विश्वविद्यालयको जानकारीले आफूलाई सन् १९६८ देखि १९७१ सम्म डार्टमथ कलेज पढ्दाको समय स्मरण गराएको बताए। गौतमले आफू त्यहाँ पढ्दा प्राध्यापक मेक्नमारबाट प्रभावित भएको पुस्तकमासमेत उल्लेख गरेका छन्। ‘त्यहाँ पढ्दा प्राध्यापक मेक्नमारका कक्षाहरूबाट मैले अन्तर्राष्ट्रिय कानूनका असाध्यै महत्वपूर्ण ज्ञान हासिल गर्ने मौका पाएको थिएँ। ती कक्षाहरूमा मलाई राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूका काम कारवाहीबारे पनि पढाइएको थियो। त्यतिबेलै मेरो दिमागमा कुनै दिन राष्ट्रसंघको सेवा गर्ने सपना पलाएको थियो’, गौतमले पुस्तकमा लेखेका छन्। त्यहाँ पढेपछि नै गौतमले राष्ट्रसंघको सेवामा प्रवेश गरेपछि तीन दसकसम्म युनिसेफको उप–कार्यकारी निर्देशक र राष्ट्रसंघकै सहायक महासचिवसम्मको पदमा रहेर काम गरे।

 

प्रकाशित: १७ पुस २०७५ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App