१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाँजा फाँडिन्छन् तर व्यक्ति पक्राउ पर्दैनन्

हालै सिरहाको उत्तरवर्ती गाउँमा गाँजा फडानी गर्दै प्रहरी। फाइल तस्बिर : नागरिक

लहान - केही दिनअघि सिरहाको गोलबजार नगरपालिका–२, टुडकियामा प्रहरीले पाँच सय बोट गाँजा फँडानी गर्‍यो। गाउँभरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन। गोलबजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन घिमिरेले भने,‘व्यावसायिक रूपमा गाँजा खेती गरिएको भए पो कारबाही गर्नु। बारीमा पाँच/दसवटा झार पलाएको भरमा मानिसलाई कारबाही गर्न सकिन्न।’

साउनयता जिल्लाका विभिन्न स्थानमा लगाइएका गाँजाका झन्डै १५ हजार बोट फँडानी गरिएको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(एसपी)जीवन श्रेष्ठले जानकारी दिए। मिर्चैया नगरपालिका–१ मा मात्र गत असोज २० गते पाँच हजार बोट फँडानी गरिएको उनले बताए। यस्तै कर्जन्हा नगरपालिका–५, बडहरामालमा २ हजार ५ सय तथा सोही नगरपालिका वडा नम्बर १० मा १ हजार ५ सय बोट गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ।

‘गाँजा फँडानी गर्न प्रहरी आउँदैछन् भनेपछि जग्गाधनी टाप कस्छन्, कोही भेटिन्न,’ सिरहा जिल्ला प्रहरी कार्यालयका एसपी जीवन श्रेष्ठ भन्छन्, ‘जग्गा कस्को हो, कसैले बताउँदैनन्। जग्गा धनीबारे जानकारी नभएपछि कसलाई पक्राउ गर्नु।’

हरेक वर्ष मंसिरदेखि प्रहरीले सिरहामा मात्र होइन, देशैभरि गाँजा फँडानी अभियान नै चलाउने गरेको छ। यति बिघा÷रोपनी जमिनमा लगाइएका यति सय÷हजार बोट गाँजा प्रहरीले नष्ट गर्‍यो भनेर समाचार आउँछन्। तर कसको लगाएको गाँजा खेती नष्ट गरियो भन्ने जानकारी चाहिँ बिरलै आउने गरेका छन्। गाँजा रोपिएका खेतबारीका धनी पक्राउ परेको खबर पनि कहिले सुनिँदैन। सिरहा जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ११ हजार ३ सय ४७ बोट गाँजा फँडानी गरिएको छ। यसैगरी आर्थिक वर्ष २०७३/७४ मा १० हजार ७३० तथा ०७४÷७५ मा १० हजार २ सय १६ बोट गाँजा नष्ट गरिएको छ। यति ठूलो परिमाणमा गाँजा खेती फँडानी गरिए पनि यसमा संलग्न व्यक्ति भने एक जना पनि पक्राउ परेको प्रहरीको तथ्यांकमा छैन।

गाँजालाई सरकारले प्रतिबन्धित लागूऔषधको सूचीमा राखेको छ। जसको उत्पादन, ओसारपसार तथा व्यापार गर्न कानुनी बन्देज छ। उक्त प्रावधानअनुसार प्रहरीले वर्षैपिच्छे गाँजा फडानी गर्ने तर त्यसमा संलग्न व्यक्ति पक्राउ नगर्ने कारण के हो। गाँजा खेती लगाइरहने र प्रहरीले फँडानी गरिरहने अवस्था बिडम्बनापूर्ण भएको सिरहाका बुद्धिजीवीहरू बताउँछन्। ‘गाँजा फँडानी गर्न प्रहरी आउँदैछन् भनेपछि जग्गाधनी टाप कस्छन्, कोही भेटिन्न,’ एसपी श्रेष्ठ भन्छन्, ‘जग्गा कस्को हो, कसैले बताउँदैनन्। जग्गा धनीबारे जानकारी नभएपछि कसलाई पक्राउ गर्नु।’

जिल्लाको उत्तरवर्ती क्षेत्रमा व्यावसायिक रूपमै गाँजा खेती हुने गरेको प्रहरीको त्रिवर्षीय तथ्यांकले देखाउँछ। प्रत्येक वर्ष प्रहरीले यसै क्षेत्रबाट हजारौं बोट गाँजा फँडानी गर्छन्। चुरेक्षेत्रमा मानिसको आवत–जावत न्यून भएका ठाउँमा उखु, रहर अग्लो बालीका बीचमा गाँजा लगाउने गरेका छन्।

प्रकाशित: १७ पुस २०७५ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App