१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राज्य संयन्त्रमा सत्तारूढ दलकाे नियाेजित हस्तक्षेपः पूर्व प्रम देउवा

तस्बिरः रासस

काठमाडौ– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आज  आयोजना गरेको कार्यक्रममा उनलेआफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाए। 

पूर्वप्रधानमन्त्री देउवाले भने,'कर्मचारीतन्त्रमा समायोजन अध्यादेशमार्फत हस्तक्षेप भइरहेको छ, त्यसैले कर्मचारी आन्दोलन गर्न बाध्य छन् ।' उनले सरकार राज्यका सबै निकायलाई पार्टीको नियन्त्रणमा ल्याउने र स्वेच्छाचारी रुपमा अघि बढ्ने योजनामा रहेको टिप्पणी पनि गरे। 'यसपछि क्रमशः प्रहरी, सेनालगायत राज्यका निकायमा पनि हस्तक्षेप हुनेछ, यही नै अधिनायकवाद सोचको शुरुआत हो ।' यसरी हस्तक्षेप बढ्दै गए जनता आन्दोलन गर्न बाध्य हुने सभापति देउवाको भनाइ थियो । काङ्ग्रेस सदैव स्वतन्त्र न्यायापालिका, निष्पक्ष कर्मचारीतन्त्र, प्रहरी, सेनाको पक्षमा रहेको उल्लेख गर्दै उनले आफूहरुले प्रतिपक्षीका नाममा अनावश्यक मुठभेड गर्न नचाहेको पनि दाबी गरे।

बिपीले शुरु गरेको मेलमिलापको नीति सदैव लोकतन्त्रका पक्षमा रहेको तथा परिस्थतिअनुसार मेलमिलापको सान्दर्भिकता हिजो, आज र भोलि पनि रहेको उनकाे भनाइ छ। कार्यक्रममा केन्द्रीय सदस्य नरहरि आचार्यले मुुलुकमा यतिखेर पनि सबै राजनीतिक शक्ति तथा सातै प्रदेशबीच एकता र मेलमिलापको आवश्यकता रहेको धारणा व्यक्त गरे। पार्टी केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले हालै सम्पन्न पार्टीको महासमिति बैठकले कार्यकर्तामा नयाँ उत्साह सञ्चार गरेको उल्लेख गर्दै समावेशी व्यवस्थासहित पारित काङ्ग्रेसको विधानले सदस्यता वितरणलाई व्यवस्थापन गर्ने बताए। पूर्व सभामुख तारानाथ रानाभाटले मेलमिलाप दिवसले देश बचाउन, राष्ट्रियता जोगाउन प्रजातन्त्रको संस्थात विकास गरेर समृद्धि हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। 

कार्यक्रममा काठमाडौँ काङ्ग्रेसका सभापति सबुज बानियाँ, प्रदेश सदस्य छिरिङदोर्जे लामा, नेपाल महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनी, पार्टीका क्षेत्रीय सभापति मुकुन्द रिजाल, नेपाल विद्यार्थी सङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यलगायतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको समसामयिक सन्दर्भिकताका बारेमा धारणा व्यक्त गरेका थिए। 

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए। 

काङ्ग्रेसले पार्टीका संस्थापक कोइरालालगायत नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेकाे भन्दै स्वदेश फर्केका बिपीलगायत नेतालाई तत्कालीन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएको थियो। काङ्ग्रेसले आज ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर मेलमिलाप दिवस आमसभा, गोष्ठी, पदयात्रा, कोणसभालगायत कार्यक्रम गरी मनाएको छ । रासस

प्रकाशित: १६ पुस २०७५ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App