१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस क्यालेन्डरमा चल्यो भने कम्युनिस्ट पल्टन्छ : नेता पौडेल

गोरखा - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आफ्नो समय तालिका (क्यालेन्डर) मा चल्यो भने कम्युनिस्ट शासन पल्टने दाबी गरेका छन्। ‘कम्युनिस्ट फेल भएपछि पालो आउँछ र सफल हुन्छ भनेर कुर्ने होईन, कांग्रेस क्यालेन्डरमा मात्रै चले पुग्छ।’ ४२ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस गोरखाले सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘त्यो भनेको समयमै पार्टीका सबै काम गर्ने हो।’

पार्टी भित्रको एकतालाई लक्षित गर्दै नेता पौडेलले भने ‘न्याय, निष्पक्षता र पारदर्शीतामा एकता हुन्छ, मुखले भनेर, हात मिलाएर मात्रै एकता हुँदैन।’ आफुले कसैलाई काखापाखा गरेको भए बताउन अनुरोध गर्दै उनले कुनैपनि नेताले कार्यकर्तालाई काखापाखा नगरी नीति, कार्यशैली र विषयमा केन्द्रित रहँदै पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए। पार्टी भित्र विपीले भनेको मेलमिलापको नीति आजपनि उत्तिकै आवश्यक रहेको बताउँदै उनले जे नराम्रो गरेपनि जयजयकार गर्ने प्रवृत्तीबाट मुक्त हुन कार्यकर्तालाई अनुरोध गरे। उनले भने ‘आफ्ना कुरा, नीति बारे प्रष्ट हुनुहोस्, जे गरेपनि जयजयकार गर्ने प्रवृत्ती हटाउनुहोस्।’

आफुले कांग्रेस भित्र फरक आवाज उठाउनुको कारण बारे प्रष्ट्याउँदै उनले भने ‘म गुटको अन्त्य चाहन्छु, तर कतिपय कुरा नियम अनुसार नहुँदा चित्त बुझ्दैन, गलतलाई गलत भन्नु पनि धर्म हो।’ अहिले सम्म पार्टीलाई जोखिममा पार्ने काम केही नगरेको बताउँदै उनले देशभरी कांग्रेस भित्रको अन्तरघातले चुनावमा कमजोर परिणाम देखिएको बताए।

अहिलेको कम्युनिस्ट सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको तर सरकारले गरेको गलत कामको कांग्रेसले भण्डाफोर गर्न पनि नसकेको प्रति उनले चिन्ता जनाए। कांग्रेसले संगठन बलियो बनाउन र नराम्रा कामप्रति सचेत गराएर जनताको मन जित्नुपर्नेमा उनले जोड दिए।

 

प्रकाशित: १६ पुस २०७५ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App