१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नागढुंगा–थानकोट सुरुङ मार्ग निर्माणमा ६ कम्पनीको चासो

काठमाडौं - बहुप्रतिक्षित नागढुंगा–थानकोट सुरुङमार्ग निर्माण गर्न ६ विदेशी कम्पनीले इच्छा देखाएका छन्। सडक विभागले गरेको ग्लोबल टेन्डरमा जापानी, चिनियाँ लगायत कम्पनीले इच्छा देखाएको सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए। 

‘उक्त सुरुङ मार्ग निर्माण गर्न ६ वटा कम्पनीले चासो देखाएका छन्। ती कम्पनीको मूल्यांकन भइरहेको छ,’ श्रेष्ठले भने। विभागले निर्माण कम्पनीको मूल्यांकन गरिसकेपछि मात्र कम्पनी छनोट हुनेछन्। श्रेष्ठले इच्छा व्यक्त गरेका कम्पनीको मूल्यांकनपछि मात्र काम कहिलेदेखि सुरु हुने भन्नेबारे यकिन हुने बताए। निर्माण कार्य सुरु गरेको चार वर्षमा उक्त सुरुङ मार्ग सम्पन्न हुने विभागको लक्ष्य छ। 

मूल्यांकनमा जुन कम्पनी छनोट हुन्छ, उसैले सुरुङमार्ग निर्माणको जिम्मा पाउनेछ। नेपाली कम्पनीहरू भने सुरुङमार्ग निर्माणको प्रतिस्पर्धामा छैनन्। सम्झौताका लागि लागि दातृ निकाय जापानी सहयोग नियोग (जाइका)को पनि स्वीकृति आवश्यक पर्छ। सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो। सुरुङमार्गका लागि जापान सरकारले नै १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ। जापानले एक प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।  सुरुङ मार्गको लम्बाइ करिब पौने तीन किलोमिटर हुनेछ। 

१२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि एक–एक मिटरको पेटी राखिने डिजाइन गरिएको छ। नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा जोड्न करिब साढे दुई किलोमिटरको एक्सेस रोड पनि निर्माण पनि गर्नुपर्नेछ।

प्रकाशित: १६ पुस २०७५ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App