१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वकाे गन्तव्य भेडेटार

भेडेटार बजार  तस्बिर : बालिका मादेन/नागरिक

धरान - शुक्रबार धनकुटाको उच्च क्षेत्रसँगै तेह्रथुम, संखुवासभाको सिमावर्ती भू–भागमा हिमपात भयो। लगत्तै धरान, इटहरी, विराटनगरबाट मोटरसाइकल, गाडीमा हिउँ खेल्न जानेको ताँती लाग्यो। शनिबार र आइतबार पनि तराईबाट हिउँमा रमाउन जानेको लर्को उस्तै थियो।

अंग्रेजी नयाँ वर्षसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने तयारी गरिरहेका पर्यटकीय स्थल भेडेटारका व्यवसायी हिमपातपछि हिउँ खेल्न जानेको लर्को देखेर हर्षित छन्। यसले नेपालीमा रमाउने, घुमफिर गर्ने सस्कार बढेको उदाहरण प्रस्तुत भएको व्यावसायीको भनाइ छ। ‘शुक्रबार हिउँ परेदेखि नै आन्तरिक पर्यटक गएको, गयै छन्, आज पनि धेरै नै गए,’ भेडेटार होटल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले भने, ‘पर्यटनको लागि यो एकदमै खुसीको कुरा हो।’

त्यसो त भेडेटारका पर्यटन व्यावसायीले अंग्रेजी नयाँ वर्षलाई लक्ष्य गरी तीनदिने फुड फेस्टिवल आयोजना गर्दैछन्। पुस १६ देखि १८ गतेसम्म हुने फेस्टिवलको मुख्य लक्ष्य भारतीय पर्यटकलाई आकर्षित गर्नु हो। अहिले पर्यटनको अफ सिजन चलिरहेको बेला तीनदिने फेस्टिवलमा भारतीयको उल्लेख्य आगमनले राहत पुग्ने व्यवसायी बताउँछन्। ‘यो फेस्टिवल भारतीय पर्यटकलाई नै टार्गेट गरेर आयोजना गरेका हौं,’ एसोसिएसनका पूर्वअध्यक्ष लिलाराज लावतीले भने, ‘नयाँ वर्षमा आउने पर्यटकमा ९० प्रतिशत त भारतीय नै हुन्छन्।’

सुनसरी र धनकुटाको सिमानामा रहेको हिल स्टेसन भेडेटार प्रदेश नं १ को प्रमुख पर्यटकीयस्थल हो। यहाँ गर्मीमा तराईबाट चिसो मौसममा रमाउन आन्तरिक पर्यटकको ओइरो लाग्छ। हरदम चिसो मौसम यहाँको विशेषता हो। अचेल भने छिमेकी मुलुक भारतको विहार र पश्चिम बंगालबाट पनि उल्लेख्य संख्यामा पर्यटक आउन थालेका छन्। ती पर्यटकको पहिलो रोजाइ भेडेटार चोकदेखि करिब नौ किलमिटर दुरीमा रहेको नमस्ते झरना हुने गर्छ। ‘नमस्ते झरनाको प्रचार भारतमा असाध्यै धेरै भएको रहेछ। भेडेटार आउने जति पनि भारतीय छन्, सबै नमस्ते झरनामा रमाउनै आएका हुन्छन्,’ एसोसिएसनका अध्यक्ष रुम्दालीले भने।

अंग्रेजी नयाँ वर्षमा भारतीय पर्यटकको रोजाइमा भेडेटार पर्न थालेको व्यवसायीको भनाइ छ। नयाँ वर्ष आउनु साता दिनअघिदेखि नै भारतीय पर्यटकले भेडेटारमा रुम बुक गर्न थालेका छन्। भारतीय पर्यटकहरु नयाँ वर्षमा कम्तीमा एक रात भेडेटारमा बिताउँछन्। ‘आन्तरिक पर्यटक पनि आउँछन्, तर यो बेला ९० प्रतिशत भारतीय नै हुन्छन्,’ अध्यक्ष रुम्दालीले भने, ‘आन्तरिक पर्यटक पनि साथीभाइसँग आउने, समूहमा पिकनिक खाने गर्छन्।’

भेडेटारमा एक रातमा हजारजना राख्न सक्ने क्षमता छ। अंग्रेजी नयाँ वर्षको बेला डिसेम्बर अन्तिम, जनवरी १ र २ मा पर्यटकको थामिनसक्नु घुइँचो लाग्छ। हाल साँगुरीगढी गाउँपालिका बनेको भेडेटारमा शंखेश्वर महादेवको मन्दिर, साँगुरी गढी, नाम्जे, ओख्रे, पाथीभारा मन्दिर, नमस्ते झरना, डाँडाबजारस्थित ध्वजे डाँडा चर्चित गन्तव्य पर्छन्। भेडेटार घुम्न आउने पर्यटकलाई सकेसम्म यी ठाउँसम्म पुर्‍याउने र बसाइ लम्ब्याउने आफूहरुको प्रयास हुने अध्यक्ष रुम्दाली बताउँछन्। ‘फुड फेस्टिवल पनि पर्यटकको बसाइ लम्ब्याउन सकियोस् भनेरै आयोजना गरेका हौं। अचेल भारतीयको संख्या बढेको छ। यो हाम्रो लागि उपलब्धि नै हो,’ उनले भने।

भारतीय नोट प्रतिबन्धले समस्या 
सरकारले गत महिना भारु सयबाहेक अन्य नोटमा प्रतिबन्ध लगाएपछि त्यो निर्णयको असर पर्यटनमा पर्ने भन्दै पर्यटनकर्मी एवं व्यवसायी चिन्तित छन्। भारतीय पर्यटकको स्वागतमा फुड फेस्टिवल आयोजनामा जुटेका भेडेटारका होटल व्यवसायी तथा पर्यटनकर्मी सरकारको यो निर्णयले समस्या भएको बताउँछन्।

भेडेटारमा नयाँ वर्षमा आउने पर्यटकमध्ये ९० प्रतिशत भारतीय हुने भएकोले पनि यहाँका व्यवसायी सरकारी निर्णयको कारण चिन्तित बनेका हुन्। सरकारले २००, ५०० र हजारको भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ। ‘नयाँ वर्ष मनाउन आउनेहरु ९० प्रतिशत भारतीय हुन्छन्, नेपाल सरकारको निर्णयले हामी समस्यामा परेका छौं,’ एसोसिएसनका निवर्तमान अध्यक्ष लावतीले भने, ‘सय रुपैयाँ मात्र चल्ने भएकोले निकै समस्या होला भन्ने पिर छ।’ 
पर्यटन व्यावसायीका अनुसार भेडेटारमा नेपाल बंगलादेश बैंकको एउटा मात्र एटिएम मेसिन छ। यस्तै, करिब नौवटा होटलमा मात्र कार्ड पोस मेसिन राखिएको छ। ती मेसिन माछापुच्छ«े, सनराइज, नेपाल इन्भेस्टमेन्ट र एसबिआई बैंकका छन्। तर, भेडेटारको सबै होटलमा मेसिन नभएकोले डेबिट, क्रेडिट कार्ड भारतीय पर्यटकले सबै होटलमा प्रयोग गर्न पाउँदैनन्। ‘भारतीय पर्यटकले सयको नोट मात्र बोकेर आउँछन् भन्ने छैन, सयबाहेकको नोट लिने कि नलिने ? दोधारमा छौं,’ अध्यक्ष रुम्दालीले भने। 

गत मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा भारतीय २००, ५०० र दुई हजारको नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: १६ पुस २०७५ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App