१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सागरनाथको वनक्षेत्रमा अवैध २२ सय घरटहरा, ५० भत्काइए

सर्लाही– सागरनाथ वन विकास परियोजनाले आफ्नो मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत धरहरामा अतिक्रमण गरी बनाईएका ५० घर टहरा भत्काएको छ। नयाँरोड–बरहथवा सडकखण्ड भन्दा पश्चिम धरहरास्थित परियोजनाको जमीनमा सर्वसाधारणले अतिक्रमण गरी निर्माण गरेका घर टहरा भत्काईएको परियोजना प्रमुख देवेशमणि त्रिपाठीले जानकारी दिए। ‘मान्छे नबस्ने तर जमिन ओगट्नका लागि निर्माण गरिएका घर टहरा भत्काईएको हो’, उनले भने, ‘अब क्रमशः अतिक्रमण गरी बनाईएका सबै घर टहरा भत्काउने अभियान चलाउने छौं ।’

अतिक्रमण गरी घर टहरा निर्माण गर्नेहरुले केहीवर्ष अघि कार्यालयले वृक्षारोपण गरेको सयौं मसलाका विरुवासमेत उखेलेर र काटेर नष्ट पारेको त्रिपाठीले बताए । मसला, टिक, साल, सिमललगायत रुखहरुको घना जंगल रहेको परियोजनाको २ हजार हेक्टर भन्दा बढी क्षेत्रफल अतिक्रमण गरी २२ सय भन्दा बढी घर टहराहरु बनाएर सर्वसाधारणले खेती सूरु गरेको परियोजनाले जनाएको छ। उनका अनुसार परियोजना क्षेत्रभित्र करीब २२ सय घर टहरा छन्। कार्यालयले पटक पटक वन क्षेत्रभित्र घर टहरा नबनाउन र बनाईएका घर टहरा हटाउन सूचित गरेको भए पनि अटेर गरेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन लगायतको सहयोगमा घरटहरा नष्ट पारिएको परियोजनाले जनाएको छ।

नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले भने जाडो याममा गरीब नागरीकको वस्ने वास खोसेको भन्दै घरटहरा नष्ट गरेको प्रति विरोध जनाएको छ। मूर्तिया वन व्यवस्थापन शाखाअन्तर्गत २ हजार ७४१ ह्ेक्टर क्षेत्रफलका मसला, टिक, सिमल, साललगायत रुखहरु २०६४ सालदेखि क्रमशः तस्कर समूहले दिनदहाडै सर्पट कटान गर्दा वन क्षेत्र उजाड बनेको थियो । उक्त फँडानी कार्यमा परियोजनाकै कर्मचारीहरुको समेत मिलेमतो रहेको आरोप लाग्दै आएको छ । लगतै सर्लाही सहित सिन्धुली, मकवानपुर, रौतहट, महोत्तरी एवं भारतीय नागरिकहरुले समेत घर टहरा निर्माण गर्दै बसोबास एवं सम्पूर्ण जमिनमा खेतीपाती सूरु गरेका छन्। दुईवर्ष अघि परियोजनाले झण्डै ७ सय हेक्टरमा भने बालीनाली नष्ट पारेर पुनः मसला रोपेको थियो।
 

प्रकाशित: १४ पुस २०७५ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App