१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्यममा महिलालाई अवसर छः छायाँ पन्त शर्मा

महिला उद्यमी महासंघका संस्थापक अध्यक्ष छायाँ पन्त शर्मा। तस्बिर:नागरिक

पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाको कमी छैन। समय परिवर्तन भइरहेको छ। महिलाले उद्योग, व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेका छन्। उद्यममा सक्रिय भएर लागिरहेका छन्। महिलालाई उद्योगमा लाग्नका लागि सहयोगी वातावरण बनाउन महिला उद्यमीले आग्रह गरिरहेका छन्। पुसको पहिलो साता नेपालगन्जमा महिला उद्यमी महासंघ १५ औँ साधारण सभा गरेर महिला उद्यमीका समस्या र आगामी चुनौतीका बारेमा छलफल गरेको थियो। साथै महासंघले महिलालाई उद्यममा आर्कषित विभिन्न योजनाबारे जानकारी गराएको थियो। महिला उद्यमशीलता बारे महांसघ संस्थापक अध्यक्ष एवम् सभासद छायाँ पन्त शर्मासँग नागरिककर्मी कमल खत्रीले गरेको संवाद।

नेपालगन्ज साधारण सभा के कुरामा केन्द्रित भयो?
महासंघसँग आबद्ध भएका र नभएका अन्य महिला उद्यमीको लागि कसरी काम गर्न सकिन्छ । संघले फराकिलो भएर सबै महिलालाई समेट्ने प्रयास गर्नुपर्छ भन्ने कुरालाई जोड दिएको छौं । महिला उद्यमीलाई व्यवसाय वृद्धि गर्ने कुरा, क्षमता बढाउने कुराबारे छलफल भयो।

महिलालाई उद्यम गर्न के समस्या छ ?
छोटकरीमा भन्ने हो भने प्रक्रियामा समस्या छ । सरकारले उद्यमशीलता कोष त ल्यायो । तर, सरल तरिकाले त्यो पाउने अवस्था छैन । अनेक कागजात खोजेको हुन्छ। भर्खरै केही काम गर्न खोजेको महिलाले यी सब कुरा पुर्याउन सक्दैनन् । हरेक कुरा राम्रो छ। नीति नियम राम्रो छ । कार्यान्वयन कम र प्रक्रिया लामो छ।

कसरी उद्यम गर्ने?

पहिला सीप सिक्नु पर्यो। प्रशिक्षण लिनु पर्यो। आफूलाई लगाव के मा छ। त्यसको पहिचान गर्नुपर्छ। शून्यबाट सुरु गर्दैछु भने पनि म व्यवसाय गर्छु भनेर आत्मविश्वासका साथ अगाडि आउनु पर्यो। महिला उद्यमी महासंघसँग आएर धेरै कुराको सुझाव, सल्लाह लिन सकिन्छ।

कार्यान्वयनमा लग्न के गर्नु पर्ला ?
सरकार अलि चनाखो हुनु पर्यो। सबैलाई समेट्न सक्नु पर्यो। अर्को कुरा महिला उद्यमी स्वयम् पनि आफै पनि खोज्दै जानुपर्छ। सबै कुरा सरकारले गर्दिन्छ भन्ने होइन।

सीप सिक्ने महिला अहिले धेरै छन् तर, उद्योग वा व्यवसायको नेतृत्व धेरै पुरुषले गरिरहेका छन्। महिलालाई नेतृत्व गर्ने तहमा पुर्याउन के गर्नु पर्ला?
व्यवसाय सुरु गर्न आर्थिक रूपमा बलियो हुनु पर्यो। कतिपय महिला आर्थिक रूपमा बलियो नभएकोले काम गर्न सकिरहेका छैनन् । आर्थिक स्रोत जुटाउन कठिन छ । त्यसैले क्षमता भएर घरमै वा सानो ठाउँमा सीमित हुनु पर्ने अवस्था छ । बैंकमा धितो राख्नका लागि सम्पति आवश्यकपर्छ । सम्पतिमा थोरै महिलाको पहुँच छ । सरकारले निःशुल्क रूपमा ऋण उपलब्ध गराउनुपर्छ । अनि महिलाले आफनो सीपको विकास गरे नेतृत्व तहमा पुग्न सक्छन् ।

सरकारले महिलालाई उद्यममा आर्कषित गर्न सहुलियतमा ऋण उपलब्ध गराएको छ । त्यसको प्रभाव कस्तो छ ?
महिला उद्यमीशीलता विकास कोष चार वर्ष राम्रारी सञ्चालन भयो । सरकारले यो अवधिमा झन्डै २९ करोड छुट्याएको थियो । त्यसमा २४ करोड जति वितरण भयो । महिलाले त्यसलाई राम्ररी प्रयोग गरिरहेका छन् । करिब ५ करोड जति त महिलाले फिर्ता पनि गरिसकेका छन् । ऋणको सदुपयोग राम्ररी भइरहेको छ । यसले महिलालाई थप नयाँ व्यवसाय गर्न वा व्यवसाय बढाउन सहयोग गरिरहेको छ।

क्षमताका कारण महिलालाई उद्यममा लाग्न अप्ठयारो भएको छ?
क्षमता कसैले पनि सिक्न सक्छ। स्थानीय स्रोत साधन प्रयोग गरेर के बनाउन सकिन्छ भन्ने सीप सिकाउन समस्या छैन। वित्तीय पहुँच, बजार व्यवस्थापन मुख्य चुनौती हो। अनि घरमा वा स्थानीय स्तरमा बनाउनका सामानलाई कसरी गुणस्तरिय बनाउने भन्ने कुरा सुधार गर्न जरुरी छ। यसमा केही समस्या छ।

महिला उद्यमीलाई बजार व्यवस्थापनमा अप्ठयारो भइरहेको बेला महासंघले कसरी सहयोग गर्न सक्छ?
महासंघले धेरै पहल गरिरहेको छ। महासंघ केन्द्रमा सीमित नभएर यसरी नेपालगन्जमा साधारणसभा गरिरहेको छ । यसले स्थानीय महिलालाई धेरै सहयोग गर्छ नयाँ उद्यम विकासका लागि । व्यक्ति व्यक्तिले आफ्नो समान बिक्री गर्न अप्ठयारो भइरहेको बेला सामूहिक रूपमा संकलन गरेर सामूहिक रूपमा बजार खोज्ने उपाय, क्षमता बढाउन महासंघले सहयोग र सहकार्य गर्न सक्छ ।

एउटा ग्रामीण क्षेत्रको महिलालाई उद्यममा ल्याउन महासंघसँग कस्तो योजना छ ?
उद्यमी बन्न चाहने महिलालाई लागि अहिले राम्रो वातावरण छ। अवसर छ। पहिला त आफ्नो ठाउँ वरपर आफूलाई सहयोग गर्ने संस्था वा निकायको पहिचान गर्नु प¥यो। अर्को विभिन्न संघ संस्थाले क्षमता अभिवृद्धि, सीप सिकाउने काम गरिरहेका छन्। महिला उद्यमी महासंघले प्रशिक्षण दिइरहेको छ। यस्ता कार्यक्रममा सहभागी हुने। सिकेर आफ्नो क्षमताअनुसार काम गर्नुपर्छ। त्यसपछि अर्को चरणमा तपाईंको वित्तीय पहुँच वा आर्थिक लगानीको कुरा आउँछ। त्यसमा पनि महासंघले सहयोग गर्न सक्छ ।

आर्थिक रूपमा कमजोर छ सीप पनि छैन । तर, उद्यम गर्ने चाहना छ । यस्तो अवस्थामा महिलालाई के सुझाव दिनु हुन्छ ?
उहाँहरूले पहिला सीप सिक्नु पर्यो। प्रशिक्षण लिनु पर्यो। आफूलाई लगाव के मा छ । त्यसको पहिचान गर्नुपर्छ। शून्यबाट सुरु गर्दैछु भने पनि म व्यवसाय गर्छु भनेर आत्मविश्वासका साथ अगाडि आउनु पर्यो। महिला उद्यमी महासंघसँग आएर धेरै कुराको सुझाव, सल्लाह लिन सकिन्छ।

धेरै गुनासो आउँछ सरकारले सहयोग गरेन भन्ने। महिला व्यवसायीप्रति सरकार सहयोगी नभएको हो ?
एकदमै सहयोग गरेको छैन म भन्दिन्। सरकारले महिला उद्यमीहरूको लागि राम्रा योजना ल्याएको पनि छ। कतिपय कुरा महिलाले त्यसको सदुपयोग गर्न सकिरहेको हुँदैनन्। कमजोरी भनेको सरकारले ल्याएको योजना बारे सबै तहका महिलामा सूचनाको पहँुच भइरहेको छैन।

प्रकाशित: १४ पुस २०७५ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App