१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भाडा घटाएकाे भन्दै बाजुरामा जीप सेवा बन्द

बाजुरा - भाडा घटाएको विरोधमा जीप व्यवसायीले मार्तडी-कोल्टी जीप सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालयले सर्वपक्षिय बैठकबाट निर्धारण गरेको भाडा दर न्यायिक नभएको भन्दै व्यवसायीले सेवा नै बन्द गरेका हुन्।

प्रशासन कार्यालयले यात्रु र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी मार्तडी देखि कोल्टीसम्मको ४३ किलोमिटरमा ८ सय भाडा कायम गरेको छ। कच्ची र अप्ठेरो बाटो भएकोले बाटो सहज नबनेसम्मका लागि उक्त निर्णय गरिएको हो। जीप व्यवसायीहरुले प्रतिव्यक्ति १२ सय भन्दा बढी भाडा असुल गर्दै आएका थिए। बोलेराे जीपले बोक्न पाउने नियम अनुसार मात्र सवारी बोक्नु पर्ने भन्दै पछाडिको भागका सिटहरु प्रहरीले हटाएको थियो। अवैध रुपमा क्षमता भन्दा बढी यात्रु बोक्दै आएका व्यवसायीले सिट हटाएपछि दोब्बर भाडा बढाएर सवारी बोक्ने गरेका थिए। चौतर्फी गुनासो बढ्न थालेपछि प्रशासनले सर्वपक्षिय बैठक बोलाएर ८ सय भन्दा बढी भाडा लिन नपाउने गरी नियम बनाएकाे थियाे।

८ सय भाडा कायम गरेको पछिल्लो दिन अर्थात शुक्रबार विहानदेखि व्यवसायीले यातायात सेवा बन्द गरेका हुन्। मार्तडीदेखि धनगढीसम्मको ३१७ किलोमिटरमा पनि यहाँका यात्रुहरुले १२ सय मात्र भाडा तिर्ने गरेका छन्। उनीहरुले प्रशासनको निर्णय न्यायीक नभएको भन्दै विरोध स्वरुप जीप सेवा बन्द गराएका हुन्। ५ जना मात्र बोक्न पाउने, त्यसैमा ८ सय भाडा निर्णय गरिँदा व्यवसायी मर्कामा पर्ने भन्दै बन्द गरिएको जीप व्यवसायी दावा गुरुङले बताए। जीप सेवा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन्।

यता प्रशासनले भने यात्रु र व्यवसायी दुबै पक्षको न्यायीक निर्णय भएकोले त्यसमा तलमाथि हाललाई गर्न नसकिने बताएको छ। नियम सबैका लागि लागु हुने भएकोले व्यवसायीले भने जस्तो गर्न नसकिने प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए। 

प्रकाशित: १३ पुस २०७५ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App