१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गरुडा नगरपालिकामा करोडौं अनियमितता

पत्रकार सम्मेलनमा आर्थिक अनियमितताबारे जानकारी दिँदै उपमेयर जैसवाल। तस्बिर : मदन ठाकुर/रौतहट

रौतहट - रौतहटको गरुडा नगरपलिकाकी उपमेयर उपमेयर रंगिला देवी जयसवालले मेयर इन्दु राय यादवले कामै नगरी करोडौं रकम अनियमितता गरेको आरोप लगाएकी छन्। उपमेयर जयसवालले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाको १ र ६ वडाक तीनवटा पुल निर्माणै नगरी ९० लाख रुपैयाँ निकासा दिएको आरोप लगाएकी हुन्।

नगर कार्यपालिकामा आयोजित पत्रकार सम्मेलनमा उपमेयर जयसवालले गत आर्थिक वर्ष २०७४÷७५ मा १ र ६ वडाको तीन स्थानमा पक्की पुल बनाउन संघीय सरकारले बजेट पठाएको जानकारी दिइन्। मेयर यादवले सरकारी ऐन, नियम कानुनलाई पाखा लगाउँदै तीनवटा पुल निर्माणका लागि आफन्तलाई राखेर उपभोक्ता समिति बनाएर मेयर यादवसहितका केही कर्मचारीले पुल निर्माणै नगरी ९० लाख रुपैयाँ निकासा गरेको खुलासा गरिन्।

‘गत असार २९ गते ९० लाख रुपैयाँ काम सम्पन्न भएको भनेर निकासा दिइयो, तर अहिलेसम्म पुल कहाँ बनेको छ भन्ने हामीलाई थाहा छैन्,’ उपमेयर जयसवालले भनिन्। उपमेयर, वडाध्यक्षलगायत जनप्रतिनिधिलाई कुनै किसिमको सूचना नदिई मेयर यादवले गोप्य रुपमा आफूखुसी कामकाज गरिरहेको आरोप लगाएकी छन्। उपमेयर जयसवालले कामकाज पारदर्शी रुपमा नगरिए नगरपालिकामा अनिश्चितकालीन ताला लगाउने र आन्दोलन गर्ने चेतावनी दिइन्।

गत आव २०७४÷७५ देखि हालसम्म जिन्सी शाखाबाट खरिद भएका सामानको कुनै लेखाजोखा नरहेको उनको आरोप छ। ‘नगरको कुन योजना कहाँ के कस्तो प्रगति भएको छ भन्ने जानकारी माग्दा समेत दिइँदैन, उपमेयरले पाउनुपर्ने सुविधाबाट पनि वञ्चित गरिएको छ,’ उनले भनिन्, ‘सत्यतथ्य छानविन गरी अनियमिततामा संलग्न सबैलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत यसै पत्रकार सम्मेलनमार्फत अपिल गर्दछु।’

पत्रकार सम्मेलनमा गरुडा–४ का अध्यक्ष चुनचुन साहले मेयर यादवले वडाको निर्णयलाई नमानी मनोमानी तरिकाले काममा हस्तक्षेप गरिरहेको आरोप लगाए। मेयरले आफ्नो छोरा अनिल यादवसहित आफन्तलाई करारमा नियुक्त गरी स्थानीय सरकार ऐन उल्लंघन गरेकामा छानविन गरी आवश्यक अनुसन्धान गर्नुपर्ने अध्यक्ष साहले माग गरे।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरका हरेक गतिविधि सरकारले दिएको ऐन कानुन अनुसार नै भइरहेको बताए। उनले नगरपालिकाले गरेको हरेक गतिविधि बुझ्न अख्तियार लगायत विभिन्न निकायले फाइल अध्ययन गरिरहेको बताए। आर्थिक वर्षको अन्तिम दिन तीनवटा पुल बनाउन आएको रकम फ्रिज हुन नदिन पेस्कीस्वरुप ९० लाख उपभोक्ता समितिको खातामा पठाइएको उनको भनाइ छ। प्राविधिक कठिनाइका कारण हालसम्म पुलको निर्माण कार्य सुरु नभएको उनले स्पष्ट पारे।

निकासा भएको रकम सम्बिन्धित उपभोक्ता समितिको खातामै रहेको ठोकुवा गरे। साथै पत्रकार सम्मेलनमा लगाइएको आरोप निराधार रहेको जिन्सी पुर्ण रुपमा पारदर्शी रहेको तथा साउन पछि कुनैपनि भाडको गाडीको भुक्तानी नभएको स्पष्ट पारे।

 

प्रकाशित: १३ पुस २०७५ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App