ज्ञानेन्द्र शाहको नृत्य

शुक्रबार, १३ पुष २०७५, ०८ : ४६ युवराज गौतम

2442


‘निरन्तर भय, असुरक्षा, कष्टप्रद जीवन, अनिश्चितता र राज्यको निकृष्ट व्यवहारले जनतामा मानसिक आघात परिरहन्छ। फलस्वरूप उनीहरूको आयु पनि घट्छ’– थोमस हब्सको यो कथन आज पनि सान्दर्भिक मानिन्छ। ९२ वर्ष (सन् १५८८ देखि १६७९ सम्म) बाँचेका ब्रिटिस राजनीतिशास्त्री हब्सले जीवनमा धेरै आरोह–अवरोह देखे। उनकै जीवनकालमा राजा चाल्र्स प्रथमको हत्या भयो। ओलीभर क्रमवेलले गणतन्त्र चलाए, ११ वर्षसम्म। जनताले त्यो स्वीकार गरेनन्। चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा बनाए जनताले। सन् १६६० मा ब्रिटेनमा राजतन्त्र पुनर्स्थापना भयो। गणतन्त्र अन्तिम सत्य र निर्विकल्प होइन भन्ने प्रमाणित गर्ने यस्ता उदाहरण अरु पनि पाइन्छन्।

गणतन्त्रको पनि विकल्प हुन सक्छ। त्यो स्थिरता, स्थायित्व र शन्तिको प्रतीक हुन्छ भनेका छन् हब्सले। स्थायी शासनका लागि गणतन्त्र बाधक बन्छ भन्ने उनको तर्क अक्सफोर्ड विश्वविद्यालयलगायतका धेरै प्राज्ञिक संस्थाले स्वीकारेका छन्। अधिकार खोज्नेले कर्तव्य गर्नैपर्छ। राष्ट्रको हितका सामुन्ने व्यक्तिका अधिकारको अर्थ रहँदैन भन्ने उनको तर्क घतलाग्दो छ।

राष्ट्रहितको कुरा गर्दा आज नेपालको सभ्यता, अखण्डता, सामाजिक सद्भाव र एकता निर्मूल गर्न विदेशी शक्तिले विभिन्न कोणबाट वैचारिक हमला गरिरहेको देखिन्छ। धर्मगुरु र अनुसधानकर्ताको भेषमा नेपालमा बसेर राष्ट्रिय सुरक्षालाई नै आघात पार्ने तथा सनातनी र बौद्धमार्गीलाई इसाइ बनाउने प्रयत्न हुँदै आएको पाइन्छ। यो खेलमा शक्तिशाली राष्ट्रहरू संलग्न देखिन्छन्।

सत्तारुढ कम्युनिस्ट पार्टीमा अहिले माओवाद, माक्र्सवाद र साम्यवाद होइन, क्राइस्टवाद प्रबल देखिएको छ।

क्रिस्चियन पादरी जिसेप्पीलाई ‘नेपालमा जासुसी गरेको’ प्रमाणसहित पक्राउ गरेर पृथ्वीनारायण शाहले देश निकाला गरे। त्यसबेला भारतमा क्रिस्चियन शासन (अंग्रेजको शासन) थियो। जिसेप्पीसहितका केही इसाइलाई बेतिया (बिहार) पठाइयो। त्यही रिसले क्रिस्चियन लेखकहरूले युरोप÷अमेरिकाबाट प्रकाशित गरेका पुस्तक र जर्नलहरूमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई ‘सत्र धार्नी नाक काट्ने, सांस्कृतिक विविधता नचाहने व्यक्ति, धूर्त, मित्रद्रोही, राक्षस र रक्तपिपासु’ भन्दै गाली गरिएको छ। नेपालमा २०६२÷६३ सालपछि प्रायः सबै राजनीतिक दल र गैरसरकारी संस्थामा क्रिस्चियनको प्रभाव ह्वात्तै बढ्यो। त्यसैले, अन्नदाता मालिकहरूको आदेशअनुसार पृथ्वीनारायण शाहलाई गाली गर्न थालियो।

महाभारतमा युधिष्ठिरले राष्ट्रपतनका चौध कारण बताएका छन्। हजारौँ वर्ष पहिलेका सबै परम्परा, सामाजिक मान्यता, सभ्यता र संस्कृति चिरस्थायी भएनन् तर राष्ट्र, राजधर्म, राजा, राजनीति, संसद्, सेना आदि शब्द वेदमै पाइन्छ। इसाइको जन्मकुण्डली, इतिहास र परम्परा सुरु भएको २ हजार १८ वर्षमात्र पूरा हुँदैछ। तर नूतन वा पुरातन (नयाँ र पुरानो) युगभन्दा हजारौँ साल पुरानो हो, सनातन धर्म । त्यसैले पश्चिमा राष्ट्रहरूभन्दा हजारौँ वर्ष पुरानो सभ्यता हो हाम्रो। ‘संसद्मा खुला र स्वच्छ हावाझैँ चारैतिरबाट असल विचार आउन्’ भनिएको छ ऋग्वेदमा।

भारतका पूर्वसभामुख तथा विद्वान् लेखक बलराम जाखडद्वारा लिखित ‘पिपल एन्ड पार्लियामेन्ट’ पुस्तकमा उनले संसदीय प्रणाली वैदिक युगको हो भनेर व्याख्या गरेका छन्। पार्लियामेन्ट त कान्छो हो, धेरै कान्छो। हिन्दु धर्मशास्त्रहरूमा मात्र होइन, प्राचीन बौद्धधर्म ग्रन्थहरूमा पनि राजधर्मलाई ठूलो महत्व दिइएको छ। अधम्मिकसुतमा भनिएको छ–‘सब्बं रट्ठुं सुखं सेति, राजा चे होति धम्मिको।’ यसको अर्थ हो– ‘जब राजा धार्मिक हुन्छन्, तब सबै जनता सुखले निदाउन पाउँछन्।’ (अङ्गुतरनिकाय १.४०.७०) (स्रोत– राजधर्म। लेखक, सत्यनारायण गोयन्का)

नेपालमा २०६२/६३ सालपछि प्रायः सबै राजनीतिक दल र गैरसरकारी संस्थामा क्रिस्चियनको प्रभाव ह्वात्तै बढ्यो। त्यसैले, अन्नदाता मालिकहरूको आदेशअनुसार पृथ्वीनारायण शाहलाई गाली गर्न थालियो।

कम्युनिस्टका प्रथम गुरु कार्लमाक्र्सले मानवलाई ‘निरन्तर परिवर्तनशील’ भनेका छन्। आर्थिक व्यवस्थाले राजनीतिक ढाँचा हेरेफेर हुन्छ भन्ने तर्क गरेका छन्। पुँजीवादको अन्तरविरोध नै त्यसको पतनको कारण बन्छ भन्ने माक्र्सको धारणा छ। श्रमजीवी वर्गले पुँजीवादी वर्गलाई एकदिन परास्त गर्छ भन्दै माक्र्सले मानवलाई आर्थिक वा भौतिकवादी दृष्टिले मात्र मीमांसा गरे। ‘कम्युनिस्ट मेनिफेस्टो’ रचना गर्दा माक्र्सले ‘श्रमिकको हितबाहेक सर्वहारावर्गको शासनमा कम्युनिस्टको अर्को सपना हुँदैन’ भने। तर नेपालका कम्युनिस्टले माओ र माक्र्सलाई कठोरतापूर्वक लोप्पा खुवाइदिएका छन्। नेपालमा हिजोका कंगाल कम्युनिस्टहरू आज बंगालका नवावजस्ता भएका छन्। यो साम्यवादको पतनको बलियो प्रमाण हो।

कवि हेम हमालको कविता ‘गाउँ गाउँजस्तो छैन, सहर सहरजस्तो छैन’ भनेझैँ नेपालका कम्युनिस्टहरू कम्युनिस्ट जस्तै रहेनन्, बहुरूपी भए। लाटा÷सोझालाई माक्र्स देखाएर उनीहरू ‘मार्कोस’ बन्दैछन्। ‘जेठा मामाको त भाङ्राको धोती, कान्छा मामाको झन् के गति’ भनेझैँ ‘जिसस क्राइस्टकी छोरी’ कोरियाली नारीको निकट बनेर ‘दुईतिहाइ’ अधिकार बोकेका नवक्रिस्यिचनहरूले ‘धर्म निरपेक्षता’ केका निम्ति संविधानमा लेखिएको रहेछ भन्ने छर्लङ्गै देखाइदिए। सत्तारुढ कम्युनिस्ट पार्टीमा अहिले माओवाद, माक्र्सवाद र साम्यवाद होइन, क्राइस्टवाद प्रवल देखिएको छ।

प्राचीन ग्रन्थहरूमा विषकन्याको प्रसंग आउँछ। राजा र मन्त्रीहरूले राष्ट्रद्रोही वा शत्रु पक्षका हर्ताकर्तालाई सजिलै मार्न विषकन्या पठाउँथे। सुगन्धित विष दलेर जान्थे विषकन्या अर्थात् सुन्दरी बेश्याहरू। कामुक राजा वा राज्यका महत्वपूर्ण व्यक्तिहरू त्यस्ता सुन्दरी विषकन्यासँग आकर्षित हुन्थे। सहवासका बखत कन्याका अंग–अंग चाटेपछि केहीबेरमै ती मर्थे। चाणक्यले राजाले परस्त्रीबाट सतर्क रहनु भनेका छन्। पृथ्वीनारायण शाहले पनि ‘विदेशका नाचगान झिकाएर नेहेर्नू, त्यसले राष्ट्रको गोपनीयता रहँदैन’ भनेका छन्।

राष्ट्रलाई पतनबाट बचाउन हाम्रा पुर्खाले दिएका यस्ता उपदेश बिर्सेर विदेशीको आदेश र तजबीजमा हिँड्नेहरुले नेपाललाई आज पतनतिर धकेलिरहेका छन्। डलर–युरोका विषकन्यासँग लहसिएका छन्, राष्ट्रका महत्वपूर्ण मानिस। लागुपदार्थले लठ्ठ परेको मानिसझैँ सरकारको नेतृत्व गर्ने मठाधीशदेखि लिएर प्रहरी/प्रशासनलगायतका अंगहरू कर्तव्यच्युत भएको देख्दा राष्ट्र कता जाँदैछ भन्ने सोध्नै पर्दैन, सिंहदरवारमात्र हेरे पुग्छ।‘हिन्दु अधिराज्य नेपाल’ भनेको थियो, २०४७ सालको संविधानले। त्यो संविधान किन फ्ँयाकिएको रहेछ भन्ने कुरा स्पष्ट भइसकेको छ। ‘परिवर्तन’ पतनको पर्यायवाची शब्द भएको छ। गणतन्त्र बिस्तारै आफ्नै कारणले रोगाएको देखिन्छ।

२०२८ साल माघ १७ गते बिहान रेडियो नेपालले शोकधून बजाउँदा त्यसबेला गाउँको स्कुलमा पढिरहेका हामी केटाकेटी चकित भएका थियौँ। स्कुल पुग्दा थाहा भयो, राजा महेन्द्रको स्वर्गवास भएछ। प्रधानाध्यापक देवमणि ढकालका हातमा रेडियो थियो। हामी चौरमा भेला भयौँ। ध्रुव थापालगायतका वाचकहरू रुँदै÷रुँदै समाचार पढ्दै थिए। २०२१ सालमा त्यही चौरमा राजा महेन्द्रले अग्लो मञ्चमा उभिएर भूमिहीन मोहीहरूलाई पहिलोपल्ट जग्गाधनी प्रमाणपत्र बाँडेका थिए। मेची–महाकाली भ्रमण गरेर जनताको हृदयमा बसेका थिए महेन्द्र।

त्यही दिन महेन्द्रका जेठा छोरा वीरेन्द्र २६ वर्षकै उमेरमा राजा भएको घोषणा गरियो। २००२ साल पुस १४ गते जन्मेका वीरेन्द्रले जीवनको अन्तिम दिन २०५८ जेठ १९ गतेसम्म नेपाल र नेपालीको  हित चिताउँदै धेरै काम गरे बाबुले जस्तै। राणा शासनमा धेरैजसो राजा १०४ वर्षसम्म श्री ३ का छत्रछायाँमा बस्ने निरीह व्यक्ति जस्ता थिए। २००७ सालपछि बल्ल राजाहरूले केही गर्ने प्रयास सुरु गरे। २०६२/६३ को आन्दोलनपछि आएको गणतन्त्रले बितेका १०–११ वर्षमा राष्ट्रलाई झन् दरिद्र, जर्जर, शिथिल, दिशाहीन र पराधीन जस्तो बनाएर भविष्य नै अनिश्चित गराउन सक्ने सम्भावना बढेको छ। तसर्थ राष्ट्र हाँक्न स्थायी शक्ति चाहिन्छ भन्न थालेका छन् युवापुस्ता। उनीहरू विकल्प सोच्न थालेका छन्। जनताले रुचाएनन् भने गोली ठोकेर कुनै पनि शासन चल्न सक्दैन। ‘दुईतिहाइ’ को अभिमान गणतन्त्रकै लागि पासो सावित हुँदैछ आज। गद्दीच्युत राजाको जय÷जयकार गर्दै सडकमा आएका छन् हजारौँ जनता। ठूलो सुरक्षा घेरा भए पनि एक किलोमिटर पैदल हिँड्न डराउँछन् गणतन्त्रवादी नेता। तर ‘पूर्वराजा’ ज्ञानेन्द्र निर्धक्कसँग मेची–महाकाली भ्रमण गरिरहेका छन्।

हजारौँको हत्या गरेर ‘गणतन्त्र ल्याउने’ ओलीभर क्रमवेलहरू आज नेपालमा सत्तामा भए पनि भयाक्रान्त छन्। राजगद्दीबाट हटेको मान्छे किन नाच्दै–गाउँदै हिँड्छ भन्छन्, केही कम्युनिस्ट नेताहरू। नागरिक भइसकेका ज्ञानेन्द्र शाह अपराधी थिए भने उनी विदेशमा गएर बस्ने थिए। निर्दोष भएकै कारण उनको आत्मबल बलियो देखिन्छ। त्यसैले नाँच्दै–गाउँदै परिवार र जनतासँग रमाउँदै हिँडेका छन्। निर्मल निवासमा केही महिनाअघि पंक्तिकारसँग उनले भनेका थिए– मलाई शक्तिशाली हुने इच्छा छैन, नेपाल सधैँ स्वतन्त्र, सुखी, स्वाधीन र एकताबद्ध रहोस् भन्नेमात्र चाहना छ।

वि.सं. १६१६ मा गोरखाका प्रथम राजा भएका द्रव्यशाहका सन्तति हुन्, ज्ञानेन्द्र शाह। तसर्थ, अँध्यारो–उज्यालो जे भए पनि राजगद्दीमा बसिसकेको व्यक्ति राष्ट्रको सुदूर भविष्यप्रति चिन्तित हुनु स्वभाविक पनि हो। नेतालाई आफ्नो दल, गुट वा चुनाव क्षेत्रको मात्रै चिन्ता हुन्छ तर राष्ट्रनिर्माण गर्ने वंशलाई नेपालको अगाध मायाले उत्प्रेरित गराइरहन्छ।

गीत लेख्ने र गाउने सरल हृदयका ज्ञानेन्द्र शाहले नारायणहिटी हत्याकाण्डपछि केही महिना घोर अपमान पनि भोगे। तर बिस्तारै सत्य थाहा पाएपछि लाखौँ जनता उनीप्रति आकर्षित हुँदै गएका छन्। आफ्ना पिता महेन्द्र जस्तै वीरेन्द्र र ज्ञानेन्द्र प्रवल राष्ट्रवादी राष्ट्रनायक ठहरिए। उनीहरूले कहिले पनि नेपालमा विदेशीलाई बलियो बनाएर आफ्नो सत्ता सुदृढ गर्न चाहेनन्। विदेशी शक्तिको आडमा नेपालमा गणतन्त्र त आयो तर यो हैजाको महामारी जस्तै भएर आयो। धर्म, एकता, परम्परा, सामाजिक सद्भाव र राष्ट्रियता नै कमजोर बनाइरहेको छ, यसले। नेपाली–नेपालीबीचको एकता खल्बल्याइरहेको छ। तसर्थ गणतन्त्र निर्विकल्प छ भन्नेहरूले बेलैमा सोचून्, नत्र विदेशी हैजाले उनीहरूलाई पनि अप्ठ्यारोमा पार्न सक्छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...