१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

चीनमा नेपाली फिल्म प्रदर्शनको पहल

दी फेडेरेसन अफ मोसन पिक्चर प्रोड्युसर्स एशोसिएसन इन एसिया प्यासिफिकका अध्यक्ष याङ सियानसँग नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी। तस्बिरः नागरिक

काठमाडौं – नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धननको चर्चा चलिरहँदा छिमेकी मुलुक चीनमा नेपाली फिल्म प्रदर्शनको तयारी गरिएको छ। गत नोभेम्बर १० देखि नोभेम्बर १३ सम्म चीनमा भएको दी फेडेरेसन अफ मोसन पिक्चर प्रोड्युसर्स इन एसिया प्यासिफिकको बैठकमा नेपालसहित विभिन्न मुलुकका फिल्मलाई त्यहाँ प्रदर्शनका लागि वातावरण तयार गर्ने सहमति भएको हो।

बैठकमा सहभागी भएर हालै मात्र स्वदेश फर्किएका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बैठकमा सहभागी २५ देशमध्ये प्रत्येक देशले प्रति देश ५ वटा फिल्म चीनमा प्रदर्शन गराउने सहमति भएको बताए। ‘प्यासिफिकमा सहभागी २५ देशले प्रति देश ५ फिल्मलाई चीनमा लगेर प्रदर्शन गर्न सक्नेछन्। त्यसका लागि उनीहरूले ३ देखि ५ मिनेटको प्रोमो बनाउनुपर्नेछ’,बिहीबार पत्रकारमाझ आकाशले भने, ‘फिल्म भन्दा बाहिरको विषयबस्तु राखेर प्रोमो बनायो भने त्यो फिल्म चीनमा प्रदर्शन हुँदैन। फिल्ममा जे विषयबस्तु छ। त्यही कुरा प्रोमोमा देखाउनुपर्नेछ।’ आकाश अनुसार यसपटकदेखि नेपालले प्यासिफिकमा सदस्यता पाएको हो। उनी यसपटक गठन भएको प्यासिफिकको नयाँ कार्यसमिति सदस्य पनि चुनिएका छन्।

आकाशले व्यावसायिकसँगै सन्देशमूलक फिल्मलाई चिनियाँ बजारले रुचाउने गरेको दाबी गरे। ‘चीन भ्रमणका क्रममा मैले गरेको अध्ययन र स्थानीय फिल्मकर्मीसँगको कुराकानीमा सन्देशमूलक फिल्मलाई चिनियाँ दर्शकले रुचाउने गरेको पाएँ’, आकाशले भने, ‘फिल्ममा राम्रो कथाबस्तुसँगै विशेषत कला र संस्कृतिसँगै मौलिकता झल्कने फिल्ममा चिनियाँ दर्शकको चासो रहेछ।’

प्यासिफिकमा सहभागी २५ देशले प्रति देश ५ फिल्मलाई चीनमा लगेर प्रदर्शन गर्न सक्नेछन्। त्यसका लागि उनीहरूले ३ देखि ५ मिनेटको प्रोमो बनाउनुपर्नेछ।

उनले निर्माता संघमा एक समिति बनाएर चीनमा रिलिज गर्ने फिल्म छनौंट गर्ने खुलाए। आकाशले नेपालमा वर्षेनी झण्डै सयको हाराहारीमा फिल्म निर्माण भइरहँदा दर्शकले रुचाएका र मौलिकता झल्किने फिल्मलाई चीनमा पठाइने बताए। ‘चिनियाँ फिल्मकर्मीहरूले फिल्मको प्रोमो मनपराएपछि त्यसको चिनियाँ अधिकार आफूले लिएर अनुवाद गर्नेछन्। चीनमा युट्युब, गुगल र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लागेकाले पनि युट्युब अधिकार भने निर्माताले चीनका लागि बेच्न पाउने छैनन्’,आकाशले भने। उनले प्यासिफिक बैठकका सदस्य राष्ट्रहरूमा सरकारले पनि फिल्म निर्माणमा सहयोग गर्ने गरेको बताउँदै आफ्नो देशमा भने त्यस्तो व्यवस्था नरहेको सुनाउँदा उनीहरू हाँसेको गुनासो गरे।

संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले काठमाडौं महानगरपालिकाले काठमाडौंका भित्तामा फिल्मका पोस्टर टाँस्न नपाइने भन्दै पत्र काटेको जानकारी दिँदै त्यसको लागि विकल्प खोजिरहेको बताए। अध्यक्ष अधिकारीले सार्वजनिक सडकको फूटपाथमा बनाइएका डिजिटल डिस्प्लेमा पोस्टर टाँस्ने व्यवस्था मिलाउन महानगरपालिकासँग कुराकानी गर्ने योजना रहेको बताए। उनले फिल्म क्षेत्रमा लागु भएको बक्स अफिसलाई प्रभावकारी बनाउन आफूहरूको प्रयास जारी रहेको बताए।

प्रकाशित: १३ पुस २०७५ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App