१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्प र पहिरोले विस्थापित केरौँजावासीलाई बल्ला लालपुर्जा, घर कहिले ?

गोरखा – भुकम्पको ४४ महिना बित्यो। घर भत्किएका पीडितले ठड्याईसके, केही बनाउँदै छन् । केन्द्रबिन्दु जिल्ला गोरखाको केरौँजाका स्थानीयले भने बल्ल लालपुर्जा पाएका छन् । एउटा सानो घर अड्ने जमिनसमेत नभएपछि अस्थायी टहरामा गुजारा चलाउँदै आएकाहरुलाई चरण–चरणमा घर बनाउने ठाउँको लालपुर्जा बितरण गरिएको छ । 
धार्चे गाउँपालिका वडा नम्बर २ केरौँजा गाउँको ३ सय ४८ घरधुरीलाई पुनस्र्थापना गर्नुपर्ने निश्कर्ष पुनर्निर्माण प्राधिकरणका प्राविधिकले निकालेका थिए। स्थानीयका पुरानो घर भएको जमिनमा घर बनाउन मिल्दैन । त्यसयता सुरु भएको जग्गा खोजी र खरिद प्रक्रिया अझै टुङ्गिएको छैन । ४२ घरधुरीलाई गत असारमा लालपुर्जा वितरण गरिएको थियो भने १ सय ५० धुरीलाई बुधवार उपलब्ध गराइएको छ। अझै लालपुर्जा बितरण गर्न बाँकी छ। गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बाँकी १ सय ५४ घरधुरीलाई पनि पुर्जा छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन्। 

जिल्लामा पुनर्निर्माणको झण्डै एक तिहाई मात्रै काम बाँकी छँदा केरौँजामा भने भर्खरै पुर्जा पाएकाहरूले अझै घर बनाउन समय लाग्ने बताउँछन् । पुर्जा नै ढिला गरी बाँडियो, दुर्गम ठाउँ, जग्गाधनीको नाम नमिलेको, किनबेच हुँदा समस्या भएको, मृत्यु भईसकेका बाजेको नाममा जग्गा रहेको, नागरिकतामा फरक परेको जस्ता समस्याले पुर्जा बितरणमा ढिलाई भएको वडा अध्यक्ष सुकबहादुर गुरुङले बताए । भर्खरै पूर्जा पाएकाहरु भने घर बनाउने तरखर गर्दैछन । अझै पूर्जा कुरेर बसेकाहरु कहिले घर बनाउन थाल्ने, कहाँ बनाउने भन्नेमा अन्यौल छन् । जिल्ला आयोजना कार्यन्वयन ईकाई गोरखाका प्रमुख रामशरण आचार्यले भने ‘पुर्जा लिएपछि घर बनाउनेमा धेरै जना हुनुहुन्छ, उहाँहरुले अब घर बनाएपछि हामी किस्ता सिफारिस पनि छिटो गर्छौँ ।’

पुर्जा लिन वा नयाँ ठाउँमा जग्गा खरिद गर्न सरकारले विस्थापित घरधुरीलाई प्रतिधुरी दुई लाख रुपैयाँ उपलब्ध गराएको छ। ‘सरकारले दिएको २ लाखबाट हामीले सामुयिक रुपमा जग्गा किन्न सजिलो होस् भने मूल्यअनुसारको ठाउँ पनि देखाइदिएका थियौ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने। केही स्थानीयले भने दुईलाखमा रकम थपेर पनि जग्गा खरिद गरेका छन्। केरौँजाको डोङ्ग्यान, लामाबेसी र बाम्लाचोकको जग्गाको लालपूर्जा वितरण गरिएको हो। यी ठाउँमा जग्गाको मूल्य वडा कार्यालयले प्रतिआना २५ हजारसम्म तोकिदिएको थियो। स्थानीयले भने जग्गा महँगो हुँदा दुई लाख रुपैयाँले खरिद गर्न नसकेको गुनासो गरेका थिए। 

भुगर्वविद्वले जोखीम भएका बस्ती स्थानान्तरणका लागि गाउँपालिकाले जग्गा खोजी गरिरहेको अध्यक्ष सन्तोष गुरुङ बताउँछन्। अहिले केरौँजाका स्थानीय जग्गा भाडामा लिएर त कोही आफन्तको अस्थायी आवास बनाएर बसिरहेका छन्। उक्त गाउँ भूकम्पमा ध्वस्त भएसँगै गाउँमाथिको पहिरोका कारण पनि बिस्थापित भएको हो। भूकम्पमा ६० हजार घर भत्किएको यहाँ अहिलेसम्म ४० हजार हाराहारीले मात्रै तेस्रो किस्ता लिएका छन्। अन्य घर निर्माणको क्रममा छ। यस्तै गैरलाभग्राहीलाई अनुदान रकम फिर्ता गर्न प्राधिकरणले अनुरोध गरेपछि दुई सातामा गोरखामा ८ जनाले पहिलो किस्ता बापत लिएको ५० हजार फिर्ता गरिसकेका छन्। 

 

प्रकाशित: १२ पुस २०७५ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App