१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

शशांकले भने, ‘अर्काे सभापति देउवा हुनुहुन्न’ (भिडियाे)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले शेरबहादुर देउवा फेरि पार्टीको सभापति नहुने बताएका छन्। 

बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महामन्त्री कोइरालाले अर्काेपटक देउवा नै सभापति हुने बुझाई गलत भएको बताए। उनले आफूपनि सभापतिको दौडमा रहेको स्पष्ट पारे। ‘शेरबहादुरजी यति अलोकप्रिय हुनुभयो कि पार्टीभित्र विकल्प खोज्नुपर्ने अवस्था आयो’, केन्द्रीय सदस्य गगन थापाको ‘शेरबहादुर फेरि सभापतिमा उठे हराउँछौं’ भन्ने अभिव्यक्तिको व्याख्या गर्दै उनले भने, ‘अर्काे सभापति देउवा हुनुहुन्न्। अब नदिने, अर्काे को बन्ने भन्ने टुंगो लाग्न बाँकी छ।’

उनले डा. शेखर कोइराला र सुजाता कोइरालासँगको बैठकलाई पारिवारिक विषय भन्दै परिवार जहिले पनि एक ठाउँमा हुने बताए। रगतको कोइराला होइन विचारको कोइराला नेतृत्वमा आउनुपर्ने उनको भनाई छ। ‘सुजाता विरामी हुनुहुन्छ। हामी दुई जनामध्ये एक जना हुन्छ। नेता कार्यकर्तासँग परामर्श गरेर अघि बढ्छौं।’

महामन्त्री कोइरालाले आफू पनि सभापति बलियो बनाउने पक्षमा रहेको जानकारी दिँदै महासमिति बैठकले कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुनुपर्ने विधान पारित गरेको सुनाए। ‘मेरो भनाई सभापति बलियो बनाउनुपर्छ भन्ने थियो। केही पद नियुक्त गर्न पाउनुपर्छ भन्ने हो’, उनले भने, ‘तर वर्तमान सभापतिले १६१ जनाको कार्यसमितिमा ३५/३६ जना नियुक्त गर्न पाइहाल्छु भन्नुभयो।’

उनले राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताए। ‘गन्धा, फोहोर ठाउँ भनेर आबुवाले भन्ने अवस्थाको अन्त्य गर्नुपर्छ’, उनले भने। अहिलेका राजनीतिज्ञलाई भ्रष्टाचारले पछ्याइरहेको र नैतिकता शून्य रहेको बताउँदै भने, ‘हामी सच्चिनुपर्छ। अब हटाउनुपर्छ।’  

आफूले पहिलो पटक ८० हजारमा चुनाव लडेको स्मरण गर्दै महामन्त्री कोइरालाले दोस्रोपटक २ करोड र तेस्रोपटक ५ करोड खर्च भएको जानकारी दिँदै बढ्दो खर्चप्रति चिन्ता व्यक्त गरे। ‘जतिपटक चुनाव हुन्छ, त्यति नै खर्च कम हुनुपर्ने हो’, उनले सुनाए, ‘ठिक उल्टो भइरहेको छ। यसले भ्रष्टाचार निम्त्याउँछ।’ नेपाली कांग्रेस समाजवादी दृष्टिकोणभन्दा पृथक जान नहुने भन्दै उनले थपे, ‘सिम्पल लिभिङ, हाई थिङ्किङ्ग हुनुपर्नेमा सिम्पल थिङ्किङ्ग, हाई लिभिङको आचरण छ। यसलाई करेक्सन गर्नुपर्छ।’ 

कांग्रेसको भर्खरै सम्पन्न महासमिति बैठकमा नीतिगत बहस नभएको स्वीकार गर्दै महामन्त्री कोइरालाले पार्टीभित्र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पनि बृहत छलफल आवश्यक रहेको औल्याए। पार्टीका विभागलाई सभापति देउवाले आगामी एक हप्ताभित्र पूर्णता दिने उनले जानकारी दिए।  

उनले नेपालको समृद्धि कृषि, पर्यटन र जलविद्युतबाट सम्भव रहेको बताए। नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिन रहेको र यसको उत्पादनले ९ करोड जनतालाई खाद्यान्न पुग्ने भन्दै कृषि, पर्यटन र जलविद्युतलाई प्राथमिकता दिनुपर्ने औल्याए। 

‘दुई तिहाई भएर सरकारले केही गरेन’

महामन्त्री कोइरालाले वर्तमान सरकारले १० महिने शासनकालमा केही नगरेको आरोप लगाए। निर्मला पन्त हत्या प्रकरणमा ठूल्ठूला मान्छे संलग्न रहेको सुनेको भन्दै यो घटना ढाकछोप गर्न सरकार नै लागेको उनको आरोप छ। ओली सरकारले पानीजहाज र रेलको कुरा गरेको तर सडक नै बनाउन नसकेको बताउँदै भने, ‘गिरिजाप्रसाद कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा ८ हजार किलोमिटर सडक थियो। पछि ८४ हजार किलोमिटर बन्यो। अहिले दुई तिहाई भएर केही गरेको छैन्। सडक, निजगढ विमानस्थल लगायत यी त पुराना योजना हुन्। यो सरकारको १० महिनामा समृद्धिको संकेत देखिएको छैन्।’

वाइड बडी, महंगी, अन्धाधुन्ध करवृद्धि गरेकोमा सरकारको आलोचना गर्दै कोइरालाले प्रतिपक्षले सचेत गराउँदै आएको बताए। उनले कम्युनिस्टलाई धुर्त भन्दै धुत्र्याइ गरेर बहुमत ल्याएको टिप्पणी गरे। कम्युनिस्टहरुले जनतालाई झुक्याएको उनको बुझाई छ।

प्रकाशित: ११ पुस २०७५ १५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App