१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहालले भनेः लोकतान्त्रिक प्रणालीमा विकास छिटो हुँदैन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणालीमा विकास हुन समय लाग्ने बताएका छन्। 

बुधवारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै अध्यक्ष दाहालले लोकतान्त्रिक प्रणालीमा विकास छिटो छिटो नहुने बताए। ‘सरकारले विकासको कामलाई जुन तीव्रताका साथ गर्नुपर्ने हो त्यो गरेको छैन्’, उनले भने, ‘कम्युनिस्ट प्रणाली भएको भए छिटो छिटो निर्णय गर्न सकिन्थ्यो। लोकतान्त्रिक प्रणालीमा विकास छिटो हुँदैन। निर्णयमै अल्मिलिन्छौं। १ महिना लाग्ने काम १५ महिना लाग्छ।’

आफूहरुले लोकतान्त्रिक प्रणालीभन्दा बाहिर समृद्धिको परिकल्पना नगरेको भन्दै अध्यक्ष दाहालले लोकतन्त्र, राष्ट्रिय एकताप्रति आफूहरु सम्वेदनशील रहेको स्पष्ट पारे।

भर्खरै नेकपाको स्थायी कमिटी बैठक र नेपाली कांग्रेसको महासमिति बैठक बसेको स्मरण गर्दै उनले दुइटै बैठकको साझा एजेण्डा संविधान कार्यान्वयन, विकास र समृद्धिको यात्रा रहेको र यसले सत्ता र प्रतिपक्ष एकै ठाउँमा छौं भन्ने देखिएको बताए।

‘अब हामी सबैको साझा एजेण्डा विकास र समृद्धि भएको छ। प्रतिपक्षका नेता कायकर्ताको भनाई पनि विकास तीव्र होस भन्ने पाएको छुँ’, उनले भने, ‘अहिलेको समय ऐतिहासिक अवसर हो। हामीले सदुपयोग गर्नैपर्छ।’

उनले यसपटक पनि विकास गर्न सकेनौ. समृद्धिको यात्रा लग्न सकेनौ भने नराम्रो हुने चेतावनी दिए। ‘अर्काे नयाँ शक्ति, नयाँ आन्दोलन र अर्काे लोकतान्त्रिक शक्ति आउँछ’, उनले भने।

सम्बोधनका क्रममा अध्यक्ष दाहालले सरकार धेरै राम्रा काम गरेको भन्दै प्रशंसा समेत गरे। जनताले बाहिरबाट हेर्दा नदेखिए पनि राजनीतिक स्थिरताको निम्ति नगरी नहुने काम सरकारले गरेको भन्दै उनले अब विकास निर्माण र समृद्धिले गति लिने दाबी गरे।

विश्वमा नयाँ शक्ति र समिकरण बन्ने प्रक्रिया देखिएको भन्दै दाहालले पछिल्लो शक्तिका रुपमा भारत र चीन आएको तथा यो नेपालका लागि अवसरका साथै चुनौतीको कुरा भएको बताए। ‘अन्तर्राष्ट्रिय राजनीतिक प्रक्रियाबाट सम्भावनाहरु बढ्दै जान्छन र चुनौती पनि समाना गर्नुपर्ने हुन्छ’, उनले भने, ‘हामीले बढी भन्दा बढी छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।’ 

प्रधानमन्त्री केपी ओलीको भ्रमणबाट सकारात्मक परिदृश्य देखिएको जिकिर गर्दै दाहालले भारतबाट विद्युत व्यापार सम्झौता परिमार्जन हुनुलाई उदाहरणका रुपमा प्रस्तुत गरे। छिमेकी र मित्र राष्ट्रसँग सम्बन्ध सुधार गर्नु सरकारको उपलब्धि भएको उनको भनाई छ। 

हिजोका सपना अब विपना भएको भन्दै दाहालले भारतका बन्दरगाह मात्र होइन अब नेपालले चीनका बन्दरगाह पनि प्रयोग गर्न पाउने बताए। ‘दुरगामी महत्वको सम्झौता यसलाई अघि बढाउनुपर्छ’, उनले भने, ‘हिजोका सपना अब विपना भएका छन्। चीनबाट रेल आउने, काठमाडौं–पोखरा जाने भएको छ। उत्साहवद्र्धक वातावरण बनेको छ। यी दुरगामी र महत्वपूर्ण उपलब्धि हुन्।’

उनले संघीय सरकारको मुख्य जिम्मेवारी कर्मचारी समायोजन, प्रादेशिक सरकारका निम्ति कानुन बनाउने कुरा भएको बताउँदै भने, ‘अझै वातावरण बनाउने दिशातिर छौं। कर्मचारी समायोजन, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कामलाई प्राथमिकतामा राखेका छौं।’ 

सरकार स्वास्थ्य शिक्षाका लागि पहल गरिरहेको भन्दै दाहालले भने, ‘बर्खा अगाडि र वर्खा पछाडीको काठमाडौं हेर्दा पहिले मास्क लगाउने मान्छे देखिन्छे। अहिले बाटो बन्ने प्रक्रिया अगाडि बढेको छ, मास्क लगाउने मान्छे घटेका छन्। मैले प्रधानमन्त्रीलाई धुलो धुवा हटाउन आग्रह गरेका थिएँ। निर्वाचनलगत्तै म लाजिम्पाटबाट खुमलटार सरे। त्यहाँ जाँदा धुलामैलोमै हिड्नुप-यो। अहिले कम भएको छ।’ उनले नयाँ सिस्टममा जान सहज नहुने, अप्ठ्याराहरु आउने भन्दै त्यसलाई पन्छाएर अघि बढ्नुपर्नेमा जोड दिए। 

उनले स्थिरता र बलियो सरकारको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको महत्व बढेको भन्दै यो अवसरलाई विकास र समृद्धिको यात्राको अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।

कञ्चनपुरको निर्मला पन्त हत्या काण्डले सरकारमाथि प्रश्न उठेको र यो विषयलाई चुनौतीको रुपमा लिएर पार्टीमा छलफल गरेको जानकारी गराउँदै अनुसन्धानलाई निष्कर्षमा पुर्याउने, दोषी पत्ता लगाउने र कारवाहीको विषय सत्ता र प्रतिपक्षीको साँझा दायित्व भएको बताए।

‘यो घटनाले अन्य घटनामा पुलिस, प्रशासन र सरकारलाई तत्पर बनायो। परिवर्तनका बाहकले जनतालाई निराश बनाउने गैरजिम्मेवारी काम गर्नु हुँदैन्। जनताको मनोबल नगिर्ने गरी, नकारात्मक असर नपर्ने गरी आफ्ना कुरा राख्न आवश्यक छ’, उनले भने। 

प्रकाशित: ११ पुस २०७५ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App