१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भाेलिबाट संसदकाे हिउँदे अधिवेशन, यस्ताे छ पहिलाे दिनकाे कार्यतालिका

काठमाडाैं- प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार अपराह्न ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनेछन्। त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुले मन्तव्य दिनेछन्। 

त्यसपछि सदनमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्नेछन्। 

प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने सम्भावित कार्यसूची तय गरिएको बताइएको छ। 

त्यस्तै राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय भएको बताइएको छ। रासस

प्रकाशित: १० पुस २०७५ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App