१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सर्वनाममा ‘करोट’ मञ्चन

काठमाडौँ  – थारु भाषाको नाटक ‘करोट’ शुक्रबारदेखि सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ। प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको नाटक थारु समुदायको मध्यमस्तरी परिवारमा लालचले निम्त्याएको कथा समेटिएको छ। 
गाउँघरमा एउटा भनाई छ–सुन भेट्नु राम्रो होइन। सुनले कलह निम्त्याउँछ। निर्देशक प्रणव आकाशले नाटकमा पनि सुनले निम्त्याएको कलहलाई देखाउन खोजेका छन्। 

मानिसमा जब लालच पलाउँछ, त्यहाँ कुनै न कुनै दुघर्टना भएकै हुन्छ। करोटको शाब्दिक अर्थ कोल्टे फेर्नु हो। लालचले परिवारलाई कसरी विचलनतर्फ धकेलिदिन्छ भन्ने पाठ नै नाटकमार्फत् देखाउन खोजेको निर्देशक आकाशले बताए। उनले कथाको माध्यम थारु भाषा बनाइएपनि यो आम समुदायको कथा भएको बताए।

दुई वर्षअघि सुशील चौधरीको लेखन तथा प्रणव आकाशकै निर्देशन रहेको ‘भुरभुरा रहर’ नाटक मञ्चन भएको थियो। राजधानीको नाटकघरमा थारु भाषामा मञ्चन भएको त्यो पहिलो नाटक थियो। यो दुई वर्षको दौरानमा थारु भाषाको कुनै नाटक मञ्चन नभएपछि ‘करोट’ मञ्चन गर्न अग्रसर भएको उनले बताए। यसले थिएटरमा थारु समुदायको युवाहरुलाई आकर्षण गर्नुका साथै थारु भाषा, सँस्कृतिलाई पनि प्रवद्र्धन गर्न सघाउ पुग्ने प्रणवको बुझाई छ।

काठमाडौंमा मञ्चन सकेपछि मोफसलमा पनि नाटक देखाउने तयारी भइरहेको उनले बताए। प्रणवका अनुसार दाङ, बाँके, बर्दिया र कैलालीसम्म यो नाटक देखाउने योजना छ। एक घन्टामा समेटिएको नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे सर्वनाम थिएटरमा मञ्चन हुनेछ। शनिबार भने १ बजे अतिरिक्त शो हुने निर्देशक चौधरीले बताए।

 

प्रकाशित: १० पुस २०७५ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App