१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१२ क्षेत्रलाई मुख्य प्राथमिकता

काठमाडौं- सरकारले अलैंची, अदुवा, औषधीजन्य जडीबुटी लगायत १२ क्षेत्रलाई निर्यातयोग्य मान्दै मुख्य प्राथमिकतामा राखेर एकीकृत व्यापार रणनीति–२०१० संशोधन गरी नयाँ एकीकृत व्यापार रणनीति–२०१६ ल्याएको छ।

काठमाडौंमा बिहिबार उद्योगी, व्यवसायी र दातृ निकायका प्रतिनिधिको उपस्थितिमा नेपाल व्यापार एकीकृत रणनीति सार्वजनिक गर्दै वाणिज्य मन्त्रालयले कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधीजन्य जडीबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको जनाएको छ।

यस्तै, एकीकृत व्यापार रणनीति–२०१६ ले जलविद्युत, कफी, फलफूल र तरकारी, मह, चाउचाउ, ऊनका उत्पादन र चाँदीका गहनालाई पनि निर्यातको सम्भावना रहेका वस्तुको सूचीमा राखेको छ। यिनलाई एकीकृत व्यापार रणनीति–२०१० को रणनीतिमा पनि निर्यातजन्य वस्तुका रुपमा राखिएको थियो।

कार्यक्रममा वाणिज्य मन्त्री रोमी गौचन थकालीले औद्योगिक तथा कृषिजन्य वस्तुको उत्पादन लागत कम गर्न सरकारले उद्योगी र कृषकलाई सक्दो सहयोग गर्ने बताए पनि उद्योगी, व्यवसायीले भने निर्यात बढाउन रणनीति पर्याप्त नरहेको टिप्पणी गरे। ऊर्जा अभाव, मजदुर हडताल लगायत अनेकौं समस्याले गर्दा उत्पादन लागत धेरै भई नेपाली वस्तुले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएकाले निर्यात बढाउन रणनीतिमा समावेश गरिएजस्तो सजिलो नरहेको बताए। तर, सरकारले सहयोगी भूमिका निर्वाह गरेर रणनीति कार्यान्वयनमा ल्याए निर्यात बढाएर आयात प्रतिस्थापन गर्न सकिने पनि बताए।

विविध समस्याका बाबजुद पछिल्लो वर्ष नेपालले केही वस्तुको निर्यातमा प्रगति गरेको  छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्›का अनुसार नेपालले गत आर्थिक वर्ष २०७१/०७२ मा गलैंचा, धागो, फलाम तथा स्टिलका वस्तु, अलैंची, टेक्सटाइल, जुस, ऊन तथा पस्मिनाका सल, जुट ब्याग, मुसुरो दाल, टुथपेस्ट, जडीबुटी र जुत्ता–चप्पल अर्बभन्दा बढीको निर्यात गरेको छ।

गत आर्थिक वर्षमा ऊनका गलैंचा नेपालबाट सबैभन्दा बढी निर्यात भएको छ। केन्द्रको तथ्यांकका अनुसार नेपालले वर्षभरिमा ८ अर्ब ६ करोड रुपैयाँ बराबरको ऊनका गलैंचा निर्यात गरेको छ। यो अघिल्लो आवको भन्दा १६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा नेपालले ७ अर्ब रुपैयाँको गलैंचा निर्यात गरेको थियो।

यस्तै, गत वर्ष फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ५४ प्रतिशतले घटे पनि नेपालले ४ अर्ब अर्ब ६६ करोड रुपैयाँको फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको छ।

त्यसैगरी, गत आर्थिक वर्षमा मुलुकले ५ अर्ब ८८ करोड रुपैयाँको तयारी पोसाक निर्यात गरेको थियो भने ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको धागो निर्यात गरेको थियो। रणनीतिले निर्यात प्राथमिकतामा राखेको अलैंची गत वर्ष ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

बढ्दो व्यापार घाटा कम गर्न निर्यात प्रवर्द्धन गर्ने उद्देश्य राखिएको रणनीतिले व्यापार घाटा कम गर्न कस्तो भूमिका खेल्छ, त्यो कार्यान्वयनमा भर पर्ने उद्योगी, व्यवसायिले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले प्राथमिकता दिएर सहुलियत दिएको नेपाल आत्मनिर्भर बन्न सक्ने सिमेन्ट उद्योगका समस्या ज्युँका त्युँ रहेको बताए।

प्रकाशित: १४ आश्विन २०७३ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App