१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अम्पायरको निर्णयमा आपत्ति

कार्लोस ब्राथवेट

ढाका  – वेस्ट इन्डिज ट्वान्टी–२० क्रिकेटका कप्तान कार्लोस ब्राथवेटले बंगलादेशी अम्पायरले घरेलु टोलीलाई पूर्ण रूपमा ५०–५० को निर्णय दिएको आरोप लगाएका छन्।

शनिबार ढाकामा बंगलादेशविरुद्धको अन्तिम तथा तेस्रो खेलमा ५० रनको  जित निकाल्दै शृंखला २–१ ले आफ्नो बनाए पनि वेस्ट इन्डिजका कप्तान कार्लोसले नो बलमा बंगलादेशी अम्पायरले घरेलु टिमलाई सहयोग गरेको आरोप लगाए। वेस्ट इन्डिजका बलर ओसाने थोमसको बलिङमा बंगलादेशी अम्पायर टनभिर अहमदले नो बल दिएपछि वेस्ट इन्डिजका खेलाडीले प्रतिरोध गरेका थिए।

सोही बलमा बंगलादेशका ब्याट्सम्यान लिटन दास आउट भएका थिए। टिभी रिप्लेमा पनि बल सही भएको प्रस्ट देखिएको थियो। वेस्ट इन्डिजका कप्तान ब्राथवेट र उनका सहकर्मीले म्याच रेफ्री जेफ क्रोएसँग रिभ्यु माग गरे पनि पनि अस्वीकार भएको थियो।  जसको कारण खेल १० मिनेट प्रभावित भएको थियो।

म्याच अफिसियलले नो बलविरुद्धको रिभ्यु नभएकाले वेस्ट इन्डिजका खेलाडीको प्रस्ताव अस्वीकार्य भएको बताएका थिए। वेस्ट इन्डिजले आक्रामक ब्याटिङ गर्दै घरेलु टोलीसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। बलिङमा पनि वेस्ट इन्डिजले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेश १७ओभरमै १ सय ४० रनमा समेटिएको थियो।

वेस्ट इन्डिजका बलर किमो पावेल एक्लैले ५ विकेट लिँदा १५ रन खर्चिएपछि घरेलु टोली तीन ओभरअगावै समेटिएको थियो। ‘नो बल नदिइएको अवस्थामा मात्र रिभ्यु लिन नपाइने हो। तर, अम्पायरले नो बल निर्णय दिएपछि रिभ्यु पाइने थियो। सबैले स्पष्ट देखेका थिए। त्यो नो बल थिएन,’ कप्तान ब्राथवेटले भने।

घरेलु टोलीविरुद्ध बिहीबारको दोस्रो खेलमा ३६ रनको पराजयपश्चात् पनि वेस्ट इन्डिजका कप्तान ब्राथवेटले ५०–५० निर्णय पूर्ण रूपमा बंगलादेशको पक्षमा दिइएको आरोप लगाएका थिए। उनले भने, ‘सबै जना आआफ्नो क्षेत्रमा पूर्ण रूपमा व्यावसायिक हुनुपर्दछ।’

प्रकाशित: १० पुस २०७५ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App