१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निगमलाई ५४ पाइलट अपुग

काठमाडौं - राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक र अन्र्तराष्ट्रिय उडान गर्ने १४ थान जहाज छन्। १४ मध्ये पाँच जहाजले अन्र्तराष्ट्रिय उडान गर्छन् भने नौ जहाजले आन्तरिक उडान गर्छन्। तर, यी जहाज उडानको लागि आवश्यक पाइलट भने निगमसँग प्राप्त छैनन्। निगममा अहिले ६ जहाज ग्राउन्डेड छन्। बाँकी जहाज पनि पूर्ण रुपमा अप्रेसनमा छैनन्। तर, सबै जहाज पूर्ण रुपमा अप्रेसनमा आएपछि भने निगमलाई ५४ जना पाइलट अपुग हुन्छ।

निगमका अनुसार १४ जहाजलाई १ सय ४३ पाइलट आवश्यक हुन्छ। अहिले निगमसँग ८९ जना पाइलट मात्रै छन्। अघिल्लो सातासम्म ८७ जना पाइलट रहेका थिए। करारमा रहेका दुई विदेशी पाइलटलाई विदाई गरेसँगै निगममा भएका पाइलटको संख्या ८५ पुगेको निगमका एक अधिकारीले बताए। हालै तीन विदेशी र एक नेपाली पाइलट करारमा थप गरेपछि भने निगमसँग पाइलटको संख्या ८९ पुगेको हो। निगमसँग रहेका पाइलट मध्ये १७ पाइलट विदेशी हुन्। करारमा रहेका यी पाइलटको अवधि पनि लामो छैन। 

निगमसँग लामो सेक्टरको अन्र्तराष्ट्रिय उडानको लागि २ सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी दुई थान छन्। यी जहाजको लागि २१–२१ गरेर ४२ जना पाइलटको आवश्यक पर्दछ। तर, निगमसँग हाल वाइड बडी जहाज उडानका लागि २० मात्रै पाइलट छन्। ती मध्ये ११ पाइलट विदेशी हुन्। केही विदेशी पाइलटलाई भने जहाज खरिदकै क्रममा कम्पनीले पठाएको हो। यी वाइड वडी जहाज खरिद गरेर एउटा असार र अर्को साउनमा ल्याइएको थियो। पूर्ण रुपमा अप्रेसनमा जहाज नआएकाले दुबै जहाज त्यही २० पाइलटबाट सञ्चालन भइरहेका छन्। यी जहाजले भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंकक लगायतका छोटा गन्तव्यमा उडिरहेका छन्। आगमी चार महिनामा निगमले चीन, जापान, कोरिया, दुबईमा यी जहाज उडाउने योजना बनाइरहेको छ।

त्यसैगरी छोटो दुरीको अन्र्तराष्ट्रिय उडानको लागि १ सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी जहाज छन्। यी दुबै जहाज सञ्चालनको लागि ३८ पाइलटको आवश्यक पर्दछ। यो जहाजमा हाल ३५ पाइलट छन्। निगमसँग अन्र्तराष्ट्रिय उडानको १ सय ९० सिटे ‘बि७५७–२००’ सिरिजको बोइङ जहाज पनि छ। हाल यो जहाज ग्राउन्डेड भएर मर्मतको क्रममा मलेशियामा छ। सोमबारसम्म मर्मत भएर नेपाल आइपुग्ने जहाजमा पनि पाइलटको अपुग छ। यो जहाजमा १९ पाइलटको आवश्यकता भएपनि ८ पाइलट मात्रै छन्। निगमले यो जहाजलाई बिक्रि गर्ने योजना गरेको छ। त्यसको लागि सरकारसँग स्विकृत पत्र समेत माग गरेको छ। तर, जहाज विक्रि नहुन्जेलसम्म भने सञ्चालन गर्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए।

अन्र्तराष्ट्रिय उडान बाहेक आन्तरिक उडानमा निगमसँग ९ जहाज छन्। यी मध्ये ५ जहाज ग्राउन्डेड भएर मर्मतको क्रममा छन्। कार्यकारी अध्यक्ष खरेलका अनुसार सबै जहाज मर्मत भएर उड्नको लागि माघभित्र तयार हुनेछन्। सबै जहाज अप्रेसनमा आएपछि भने आन्तरिक उडानमा पनि जहाजको अपुग हुन्छ।

निगमसँग दुर्गम क्षेत्रमा उडान गर्ने १९ सिटे दुइथान ‘डिएचसी ६–ट्विनअटर’ छन्। यी जहाज उडाउनको लागि १६ पाइलट आवश्यक पर्दछ। अहिले ट्विनअटर जहाज उडाउनको लागि १२ पाइलट मात्रै छन्। यद्यपी ट्विनअटर सिरिजका दुई वटा जहाज ग्राउन्डेड भएर मर्मतको क्रममा छन्।

१७ सिटे चारथान ‘वाई १२–ई’ सिरिजका जहाज छन्। यी जहाज सञ्चालनको लागि १६ जना पाइलट आवश्यक पर्दछ। हाल १२ पाइलट मात्रै छन्। ‘वाई १२–ई’ सिरिजका पनि दुईवटा जहाज हाल ग्राउन्डेड भएर मर्मतको क्रममा छन्।
त्यसैगरी सुगम क्षेत्रको आन्तरिक उडान गर्न ५८ सिटे दुईथान ‘एमए–६०’ छन्। यी जहाजको लागि १२ पाइलट आवश्यक पर्छन्। हाल निगमसँग ७ पाइलट मात्रै छन्। यो सिरिजको एउटा जहाज भने ग्राउन्डेड छ।

निगमका सहप्रवक्ता नबराज कोइरालाका अनुसार निगमले सबै जहाज पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। त्यसको लागि पाइलट अपुग हुन्छन्। निगमले सबै जहाजलाई पाइलट पूर्णताको लागि तयारी थालेको कोइरालाले बताए। ‘निगम सबै जहाज पूर्ण रुपमा अप्रेसनमा ल्याउने योजनामै छ,’ उनले भने, ‘त्यसको लागि पाइलट पनि पूर्णता आवश्यक छ। निगमले पाइलट पूर्णत ागर्ने विषयलाई प्राथमिकताको साथ अगाडि बढाएको छ।’ 

निगमका कार्यकारी अध्यक्ष खरेलका अनुसार निगमले आगमी दिनमा पाइलट लिँदा नेपालीलाई प्राथमिकता राख्नेछ। ‘विदेशी पाइलट मंहगो हुँदा निगमको खर्च पनि बढ्छ,’ खरेलले भने, ‘अबको दिनमा निगमले पाइलट लिँदा नेपालीलाई प्राथमिकता दिनेछ।’ नेपालीले अवसर पनि पाउने र नेपालीलाई कम तलब पनि हुनेले प्राथमिकतामा नेपाली राखेको उनले जनाए। पाइलट लिँदा करार र स्थायी दुबै व्यवस्थानुसार लिइनेछ। 

प्रकाशित: १० पुस २०७५ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App