१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दाङमा सवारी दुर्घटना बढ्दो, ६ महिनामा ६१ जनाको मृत्यु

दाङ - गत शुक्रबार विद्यार्थी बोकेर सल्यानबाट तुलसीपुर आउँदै गरेको बस राम्री भन्ने स्थानमा भयानक दुर्घटनामा प-यो। बसमा सवार २२ जनाको ठाउँको ठाउँ मृत्यु भयो। एक जनाको उपचारका क्रममा मृत्यु भयो भने १४ जना घाइते भए। दुर्घटना भएको स्थानमा सडक भिरालो छ। अनि घुम्ती पनि अत्यन्त साँघुरो छ। त्यसमाथि सडक छेउमा (बस खसेको स्थलतर्फ) छेकवारका लागि कुनै संरचना छैन। नत घुम्तीमा चालकलाई सजग गराउने कुनै ट्राफिक संकेत नै छ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार बसको तीव्र गति दुर्घटनाको अर्को कारण हो। आफ्नो दिशा छाडेर बस पल्लो छेउबाट खस्नु गति नियन्त्रण गर्न नसक्नुकै परिणाम भएको उनको अनुमान छ। यो दुर्घटनाका नौ दिनअघि मात्र मंसिर २७ गते दाङकै रिहारमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुलाहाका बाबुआमासहित ६ जनाको घटनास्थलमै मृत्यु भयो। चितवनबाट दुलही लिएर बाँकेको शमशेरगन्ज जाँदै गरेको उक्त जिप राति १ बजेतिर लमही नगरपालिका–९ रिहारमा बससँग ठोक्किएको थियो। प्रहरीले यो दुर्घटनाको कारण पनि स्कारपियोको अनियन्त्रित गति भनेको छ। विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किन पुगेको जिपले आफ्नो दिशा पूरै छाडेको थियो।

पछिल्लो नौ दिनमा दाङमा यी दुई सवारी दुर्घटना भएका हुन्। यसअघि भएका दुर्घटनामा पनि धेरैले ज्यान गुमाइसकेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा दाङमा १ सय २४ सवारीसाधन दुर्घटनामा परेका छन्। जसमा ६१ जनाले ज्यान गुमाएका छन् भने १ सय १० जना गम्भीर घाइते भए। यसैगरी ६३ जना सामान्य घाइते भए। यी दुर्घटनामध्ये १६ बस, १३ जिप÷कार, ६७ मोटरसाइकल तथा १३ ट्याक्टर दुर्घटनामा परेका हुन्। यस्तै सात ट्याम्पो तथा अन्य (साइकल र रिक्सा) दुई दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ।
सवारीसाधनको बढ्दो चापसँगै दाङमा पछिल्लो समय दुर्घटनासमेत बढेका छन्। स्थानीय प्रशासनका अनुसार यसको प्रमुख कारण यहाँका सडक अव्यवस्थित र गुणस्तहीन हुनु हो। जिल्लामा सडक सञ्जाल ठूलो छ। तर ती सडकहरूको गुणस्तर कमजोर रहेको प्रमुख जिल्ला अधिकारी रिजाल बताउँछन्। ‘समयमै सडकको मर्मतसम्भार हुन नसक्दा सवारी दुर्घटना बढेको देखिन्छ,’ उनले भने। उनले भनेजस्तै पूर्व–पश्चिम राजमार्गमा समेत बीच–बीचमै ठूल्ठूला खाडल छन्। ती नै कैयन् दुर्घटनाको कारण बनिरहेका छन्। ती खाल्डा लामो समयसम्म पनि मर्मत गरिँदैन। गरिहाले पनि माटो हालेर टालटुल पार्ने गरिएको छ।

सवारीसाधनको बढ्दो चापसँगै दाङमा पछिल्लो समय दुर्घटना पनि बढेका छन्। पछिल्लो ६ महिनामा १ सय २४ दुर्घटना भएका छन्। जसमा ६१ जनाले ज्यान गुमाएका छन् भने १ सय १० जना गम्भीर घाइते भएका छन्।

यसैगरी जिल्लामा हुने दुर्घटनाको अर्को कारण ट्राफिक चेकजाँचमा कडाइ नहुनु मान्छन्, प्रमुख जिल्ला अधिकारी रिजाल। यसमा आफ्नोसमेत कमजोरी रहेको उनी स्वीकार गर्छन्।
जिल्लाका छोटो रुटमा चल्ने बसहरूले खचाखच यात्रु बोक्ने प्रवृत्ति पनि उत्तिकै छ। साथै तीव्र गति पनि दुर्घटनाको अर्काे कारण बनेको देखिन्छ। सडकको अवस्थाअनुसार गतिको सीमा तोकिएको भए पनि यसलाई जिल्लामा चल्ने कुनै पनि सवारीसाधनले पालना गरेको देखिन्न। मनपरी ढंगले तीव्र गतिमा सवारीसाधन हुइँक्याउनु नै सबैभन्दा बढी दुर्घटनाको कारक रहेको ट्राफिक प्रमुख मदनबहादुर कुँवर बताउँछन्। ‘कुन सडकको अवस्था कस्तो छ, कहिल्यै नचलाएको सडकमा पनि चालक सचेत बन्दैनन्,’ उनले भने।

यसैगरी सवारीसाधनको चेकजाँच नगरी चलाउने गरिएका कारण पनि दुर्घटना हुने गरेका छन्। सवारीसाधनको प्राविधिक पक्षलाई ध्यान नदिई चालकहरूले जस्तोसुकै बाटोमा पनि तीव्र गतिमा कुदाउने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कुँवरको भनाइ छ। ‘गाडीको मेकानिकल पक्षका बारेमा ध्यानै नदिएर जस्तो पुरानो गाडी पनि चलाएको देखिन्छ,’ उनले भने, ‘यस्ता पुराना गाडीमा प्राविधिक खराबी आई नै हाल्छ, अनि दुर्घटना निम्तिन्छ।’

प्रकाशित: १० पुस २०७५ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App