१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाका नेता भन्छन्ः विपीका छोराले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहसप्रति आपत्ति जनाएका छन्। अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएको पर्सीपल्ट सोमवार नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी कांग्रेसले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाएका हुन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले कांग्रेसका संस्थापक नेता विपी कोइराला पुत्र शशांकले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक रहेको बताए।

पूर्वमन्त्री समेत रहेका गजुरेलले कांग्रेसलाई उल्टो बुद्धि आएको टिप्पणी गरे। ‘कांग्रेसलाई उल्टो बुद्धि आएको छ। राज्यको नजरमा सबै धर्मको स्टाटस बराबर छ। विपीको छोराले हिन्दू राष्ट्रको कुरा उठाउनुभयो, यसले उहाँको क्रेज घटाइदिएको छ। यो बहस उचित छैन्’, उनले भने। गजुरेलले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाउँदै कांग्रेसलाई प्रश्न गरे, ‘फेरि २०१७ सालको वातावरण बनाउन खोजेको हो?’

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शनिवार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममै कांग्रेसमा हिन्दू धर्मको बहसप्रति आपत्ति जनाएका थिए। कांग्रेसले हिन्दू राष्ट्रको पक्षमा वकालत गर्न नसुहाउने भन्दै दाहालले अतिवादलाई लिएर राजनीति गरे दुर्भाग्य हुने टिप्पणी गरेका थिए। उनले आफ्नो सम्बोधनमा संस्थापक नेता विपी कोइरालादेखि गिरिजा र सुशील कोइरालासम्मको नाम लिँदै धर्मनिरपेक्षताको विरुद्ध नजान आग्रह गरेका थिए।

नेकपा नेता हरिबेला गजुरेल

जसको जवाफ कांग्रेसले दिइसकेको छ। प्रवक्ता विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले कांग्रेसका तर्फबाट जवाफ दिएका छन्। प्रवक्ता शर्माले आइतवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा भनेका थिए, ‘सनातन धर्म संस्कृति परम्परा विपरित गएर एउटा निश्चित धर्म (क्रिस्चियन)को प्रचारमा सरकारका संयन्त्रको प्रयोग गर्ने, प्रधानमन्त्री सहआयोजक जस्तो गरेर होटलमा बस्ने, होली वाइनका नाममा मिल्ने नमिल्ने कुरा ग्रहण गर्नेहरुले कांग्रेसलाई पढाइरहनु पर्दैन।’ 

त्यस्तै, नेता कोइरालाले धर्मबारे बहसमा आउन दाहाललाई चुनौती दिएका थिए।

मंसिर २९ देखि पुस ८ सम्म चलेको कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रको आवाज उठेको थियो। सयौं महासमिति सदस्यले त हस्ताक्षर गरेर नेतृत्वलाई एजेण्डामा बनाउन दबाब दिएका थिए। महामन्त्री शशांक कोइराला पनि बेला बेला सार्वजनिक कार्यक्रममा हिन्दू राष्ट्रको पक्षमा बोल्दै आएका छन्। उनी धार्मिक स्वतन्त्रतासहिको हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएका छन्। 

प्रकाशित: ९ पुस २०७५ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App