१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘क्रिसमस डे’मा बदलिँदो ट्रेन्ड

अंग्रेजी नयाँ वर्ष आउन अब साता मात्रै बाँकी छ। अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’का रूपमा मनाउँछन्। त्यसो त पछिल्लो समय अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’ मनाउँदै आएको पाइन्छ। जसका कारण यसको रौनक बढेको छ।  

पछिल्लो समय ‘क्रिसमस डे’ मनाउनेको संख्या बढेको बताउँछन्, थापाथली भ्याली चर्चका ‘डिकन’ दर मर्दान कामी। उनी २३ वर्षयता ‘क्रिसमस डे’ मनाइरहेका छन्। पछिल्लो दुई–तीन वर्षमा ‘क्रिसमस डे’ मनाउने तौरतरिका फेरिएको उनको बुझाइ छ। पछिल्लो समय सार्वजनिकरूपमा ‘क्रिसमस डे’ मनाउन थालिएको उनी बताउँछन्। ‘पछिल्लो समय धार्मिक सहिष्णुता बढेको छ, त्यसैले गैर इसाईहरू पनि ‘क्रिसमस डे’मा रमाउन थालेका छन्,’ उनी भन्छन्। मुलुकलाई धर्म निरपेक्षता घोषणा गरेपछि एक–अर्काको धर्मप्रति मानिसको सद्भाव र सम्मान बढेको उनी बताउँछन्।
क्रिसमसमा छरछिमेक, इष्टमित्र लगायतलाई बोलाएर यशु जन्मेको सु–समाचार सुनाउने गरेको उनले बताए। ‘भजन मन्डली गाउँछौं, विश्वासीहरूको घरघरमा गएर क्यारल खेलेर मनाउँछौं,’ उनी भन्छन्।

क्रिसमस नजिकिएसँगै थापाथलीका आशिष विश्वकर्मा उत्साही छन्। ‘इसाई धर्मावलम्बीको लागि यो ठूलो चाड हो,’ उनी भन्छन्। उनी भजन गाउनेसँगै गितार पनि बजाउँछन्। आउँदो ‘क्रिसमस डे’का लागि सांगीतिक कार्यक्रम गर्ने उनको योजना छ।

आरज्ञा थापा ‘क्रिसमस डे’मा चर्चबाट सञ्चालित विद्यालयका विद्यार्थीलाई सहयोग गर्छिन्। ‘वर्षभरि काम गरेको पैसा बचाएर सहयोग गर्छु,’ उनी भन्छिन्, ‘यसले मलाई आनन्द दिन्छ।’ उनी यो वर्ष पनि सहयोग निरन्तरता दिने योजनामा छिन्।

कक्षा ११ मा अध्ययनरत बागबजारकी मरियम मेरी भट्टराई यसपालिको ‘क्रिसमस डे’ ज्ञानेश्वरस्थित चर्चमा गएर मनाउने योजनामा छिन्। ‘क्रिसमस डे’का अवसरमा चर्चमा आयोजना गरिने कार्यक्रमको प्रतीक्षामा रहेको उनी बताउँछिन्। त्यो कार्यक्रममा उनले प्रस्तुति दिँदैछिन्। ‘हरेक वर्षजस्तै यसपालि पनि क्रिसमस संगीत तयार गरेकी छु,’ उनले भनिन्।

क्रिसमसमा साथीभाइ र आफन्तबीच भेटघाट हुने तथा  नाचगान तथा खानपान गरिने भएकाले आफूलाई मनपर्ने उनी बताउँछिन्। ‘क्रिसमस डे’ नजिकिएसँगै राजधानीमा रौनक छाएको छ। सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पसलहरूमा ‘क्रिसमस डे’का सामान भरिभराउ छन्।

रंगीन साइनिङ बल, क्रिसमस ट्री, लाइट, साइनिङ स्टार, साना एन्जल डल, सान्टा क्लजका डल, वेलकम गेट लगायतको माग बढेको व्यापारी बताउँछन्। ‘क्रिसमस डे’ नजिकिएसँगै यससँग सम्बन्धित सामग्रीको व्यापार बढेको अर्चिज ग्यालरीका सञ्चालक अनिलकुमार जलनको अनुभव छ। ‘कलेज पढ्ने विद्यार्थीहरू साथीभाइसँग उपहार किन्न आउँछन्,’ उनले भने, ‘उपहार किन्न आउनेहरूले ग्रिडिङ कार्ड पनि लैजान्छन्।’ उनका अनुसार अधिकांशले साथीभाइका लागि उपहार किन्ने गरेका छन्। ‘क्रिसमस डे’का लागि टोपीको माग धेरै रहेको उनले बताए।

हरेकले ‘क्रिसमस डे’लाई आ–आफ्नै तरिकाले मनाउँछन्। कसैले उपहार दिएर मनाउँछन् त कसैले खानपान र नाचगान गरेर। त्यसो त ‘क्रिसमस डे’मा शुभकामना आदानप्रदान गर्नेहरू पनि धेरै हुन्छन्। पछिल्लो समय ‘क्रिसमस डे’ मा उपहार दिने चलन बढ्दो रहेको व्यापारी बताउँछन्। उनीहरूका अनुसार क्रिसमसमा विशेष गरी ग्रिटिङ कार्ड, डाइरी, पेन, फेल्ट, मेटल, ग्लासका सामग्री उपहारका रूपमा दिने चलन छ।

समय अनुसार ‘क्रिसमस डे’ मनाउने ट्रेन्ड बदलिएको उनीहरूको भनाइ छ। उनीहरूका अनुसार अन्य उमेर समूहभन्दा युवाले रमाइलोसँग ‘क्रिसमस डे’ मनाउने गरेका छन्। युवाले सान्टा क्लजको टोपी तथा टिसर्ट लगाउने गरेका छन्।
युवापुस्ताले हरेक पर्वलाई सजिलै अपनाएको बताउँछन्, अर्चिज ग्यालरीका जलन। ‘अहिले युवापुस्तामाझ ‘क्रिसमस डे’ मनाउने ट्रेन्ड चलेको छ,’ उनी भन्छन्, ‘पहिला विदेशीको पर्व भनेर खासै महŒव दिइँदैनथ्यो। तर, अहिले सम्मानका साथ मनाइन्छ।’

क्रिसमसमा खाइने ‘स्टोलन ब्रेड’
‘स्टोलन ब्रेड’ क्रिसमसको समयमा खाइन्छ। जर्मनीबाट आएको स्टोलन ब्रेड विभिन्न बेकरीहरूमा उपलब्ध छ। थरीथरीका ड्राइ फुडको समिश्रणबाट तयार पारिने स्टोलन बेडमा बटर, मिल्कको स्वाद पाउन सकिन्छ। शुद्ध बटरबाट तयार पारिने भएकाले नै स्टोलन ब्रेडलाई लामो समयसम्म खान सकिन्छ। यो नरम हुन्छ। स्टोलन ब्रेड बनाउन कम्तिमा ४८ घन्टा लाग्छ। ड्राई फ्रुट्सलाई भिजाएर पिठोको तयारी गर्न धेरै समय आवश्यक हुन्छ। क्रिसमसको समयमा स्टोलन ब्रेड मात्र नभएर विभिन्न फ्लेबरका केकहरू पनि काट्ने चलन छ। सान्टा क्लज, क्रिसमसको सजावट अथवा मेरी क्रिसमस लेखिएको केक काट्ने चलन छ।

प्रकाशित: ९ पुस २०७५ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App