२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई वर्षमा साक्षर नेपाल घोषणा : मन्त्री अर्याल

फाइल तस्बिर

स्याङ्जा - नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषण गर्ने बताएकी छिन्। आइतबार वालिङ स्थित पूर्णामृत भवानीको ५६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले भनिन्, ‘शिक्षाको उज्यालो घामबाट कोही वञ्चित हुन नपरोस् भनी नेपाल सरकारले दुई वर्षभित्र साक्षर नेपाल घोषण गर्ने नीति तथा कार्यक्रम ल्याउदैछ।’ समृद्ध नेपालको परिकल्पना शिक्षा विना सम्भव नभएकाले सवै नागरिकमा शिक्षाको पहुँच पुर्‍याउने उनले दाबी गरिन्।

शिक्षा मानिसको नैसर्गिक अधिकार भएकाले सरकार शैक्षिक क्षेत्रको विकासमा गम्भीर भएर लाग्ने उनले बताइन्। ‘आज सम्मको शिक्षा सर्टिफिकेटमा मात्र सीमित भए,’ उनले भनिन्, ‘जीवन उपयोगी, व्यवहारिक र प्राविधिक शिक्षा हुनुपर्छ।’ कक्षा १० पास पछि विद्यार्थीको चाहना, रुचि र क्षमता अनुसार जीवन उपयोगि र प्राविधिक शिक्षा पढाउनुपर्ने उनले दाबी गरिन्।

शिक्षाबाट कोही वञ्चित नहोस् भन्ने अभिप्रायले सरकारले आवास शिक्षाको पनि तयारी गरिरहको उनले जानकारी दिइन्। उनले भनिन् ‘शिक्षा दिने माध्यम औपचारिक मात्र हुँदैन। अनौपचारिक पनि हुन्छ।’ संविधानमै वैज्ञानिक शिक्षाका बारेमा स्पष्ट लेखिसकेको बताउँदै उनले यसकाे कार्यान्वयनमा शिक्षक, विद्यार्थी र अभिभावककाे महत्वपूर्ण भूमिका हुने उनले बताइन्।

सरकारको अगामी कार्यक्रम भूमि व्यवस्था कसरी गर्ने, सहकारी आन्दोलन कसरी परिचालन गर्ने र गरिबी निवारण कसरी गर्ने भन्ने विषयमा रहेको उनले जानकारी दिइन्। सरकारले देखेको सपना पुरा हुने बताउँदै उनले भनिन्, ‘सरकारले माखो मारेन भन्ने बजार हल्ला चल्याछ। सरकार भाषण र सपना बाँड्न गएको होइन, काम गर्न हो।’ प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार छोड्दा राष्ट्रिय ढुकुटी रित्तो बनाएर छोडेका कारण वर्तमान सरकारलाई काम गर्न अप्ठ्यारो भएको उनको आरोप थियो।

प्रकाशित: ८ पुस २०७५ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App