१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बटर उद्योग सञ्चालनपछि बदामलाई गाउँमै खपत

खोटाङ - गाउँमै प्रशोधन उद्योग स्थापना भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा उत्पादित बदामले बजार पाएको छ। जापानी नागरिक कोतोबुकीनाकाको एकल लगानीमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडामा पिनट्स बटर उत्पादक उद्योग स्थापना भएपछि स्थानीय किसानले उत्पादन गर्दै आएको बदामले गाउँमै बजार पाएको हो।

बिपना इनकर्पोरेसन नामक बदाम प्रशोधन उद्योगमा दुर्छिमको चुमाखु, रातमाटे, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा उत्पादित बदाम खपत हुन थालेको छ। यसअघि हलेसी, अर्खौले, दिक्तेल, ओखलढुंगा लगायत बजारमा बिक्री गर्न लगिने गरेको बदाम उद्योग स्थापनापछि गाउँमै खपत भइरहेको छ। उद्योगले प्रतिकेजी दुई सय ५० रुपैयाँका दरले किसानबाट बदाम खरिद गर्ने गरेको उद्योगका प्रबन्धक बासेदेव राईले बताए।

बदामको यो मूल्य स्थानीय बजार मूल्यभन्दा राम्रो हो। एक केजीमा करिब साढे पाँच कुरुवा बदाम जान्छ। जबकी स्थानीय बजारमा आठ कुरुवा (एक पाथी) बदाम दुई सय रुपैयाँमा किनबेच हुने गरेको छ। जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र बदाम खेती हुँदै आएको छ।

गत वर्ष स्थापना गरिएको विपना इनकर्पोरेसनले उत्पादन गरेको पिनट्स बटर काठमाडौंमा खपत हुने गरेको उद्योगी राई बताउँछन्। उनका अनुसार उद्योगमै प्रतिकेजी १५ सयमा बिक्री हुने पिनट्स बटर काठमाडौंमा कम्तीमा प्रतिकेजी दुई हजारका दरले बिक्री हुने गरेको छ। हाल काठमाडौंलाई मात्र बजार बनाएको उद्योगले अन्तर्राष्ट्रिय बजारका लागि लाइसेन्स लिने प्रक्रिया थालिएको प्रबन्धक राईले बताए।

उद्योगका कारण बदामको पकेट क्षेत्रका रुपमा रहेको नगरपालिकाका केही वडामा उत्पादन हुने बदामको बजार समस्या हल भएको वडाध्यक्ष रमेश तिवारीले बताए। गत वर्ष तीन हजार केजी बदाम खपत गरेको उद्योगले यो वर्ष ६ हजार केजी बदाम खरिद गरेको छ। आगामी माघपछि ‘इनर्जी बार’ पनि उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ।

हिमालमा चढ्ने आरोहीले उपयोग गर्ने इनर्जी बार हिमाली क्षेत्रका बजारलाई लक्षित गरेर उत्पादन गर्ने तयारी गरिएको हो। उद्योगमा हाल स्थानीय नौ जनाले रोजगारी पाएका छन्। दुर्छिममा युमी स्कुल सञ्चालनका क्रममा आइपुगेका जापानी नागरिक कोतोबुकीनाकाले दुई वर्षको अध्ययनपछि बदाम प्रशोधन उद्योग स्थापना गरेका हुन्।
 

प्रकाशित: ८ पुस २०७५ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App