१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राजमार्गमा पुल निर्माण र सुधार गर्न २० अर्ब

काठमाडौं - पूर्व–पश्चिम राजमार्ग र त्यससँग जोडिएका ठूला राष्ट्रिय सडकमा पुल निर्माण, सुधार र मर्मत गर्न करिब २० अर्ब रुपैयाँ खर्च गरिने भएको छ। राजमार्गका पुल निर्माण, सुधार र मर्मतका लागि आवश्यक पर्ने एक सय ८२ मिलियन अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) विश्व बैंक र नेपाल सरकारको साझेदारीमा बेहोरिने सडक विभागले जनाएको छ।

‘पुल सुधार र मर्मत परियोजना–२ (बिआइएमपी)’ नाम दिइएको उक्त कार्यक्रमका लागि विश्व बैंकले ऋणस्वरुप करिब एक सय १९ मिलियन अमेरिकी डलर उपलब्ध गराउने सहमति गरिएको छ भने बाँकी रकम नेपाल सरकारले हाल्नेछ। यसअघि सम्पन्न भइसकेको पहिलो चरणको त्यस्तैखाले कार्यक्रम सफल भएकाले त्यसैलाई निरन्तरता दिइएको विभागका उच्च अधिकारी बताउँछन्।

विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठका अनुसार उक्त कार्यक्रमबाट सर्वाधिक पुल निर्माणको काम नारायणगढ–मुग्लिङ सडकखण्डमा हुनेछ। अब नारायणगढ–मुग्लिङ खण्डमा १४ वटा पुल बन्ने श्रेष्ठले बताए। सोही रकम खर्च गरेर राजमार्ग र त्यससँग जोडिएका ठूला सडकमा रहेका कतिपय पुलको मर्मत र सम्भार गरिनेछ। कतिपय स्थानमा नयाँ पुल निर्माण हुनेछन्।

अब पुल निर्माण गर्दा टिकाउ, वातावरणमैत्री, नयाँ प्रविधिको प्रयोग तथा लागतमा किफायती जस्ता पक्षलाई ध्यान दिइने बताइएको छ। पहिलोचरणमा सोही प्रकृतिको कार्यक्रममा करिब सात अर्ब रुपैयाँ खर्च गरिएको थियो। विभागले नेतृत्व गर्ने उक्त कार्यक्रमको बजेट खर्च गरेर स्थानीय तहका पुल निर्माण र मर्मत भने नगरिने बताइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुल निर्माण र मर्मतको  गुणस्तर नियन्त्रणका लागि विशेष ध्यान दिइएको बताए। ‘अब निर्माण हुने पुल दीर्घकालीन टिकाउका हुन्छन्,’ उनले भने। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले ६ हजार खोलानाला रहेको नेपालमा थुप्रै पुल निर्माण गर्नुपर्ने बताए। पुल निर्माणले मुलुकको विकासमा मेरुदण्डको काम गर्ने मन्त्री महासेठको भनाइ छ। राजमार्गमा पुल निर्माण गर्ने तर त्यस्ता पुलको नियमित रेखदेख, अनुगमन तथा मर्मतसम्भार नगर्दा एकातिर छिटो–छिटो पुलमा क्षति हुने र अर्कोतर्फ यात्रु जोखिममा पर्ने गरेका गुनासो लामो समयदेखि रहँदै आएका छन्।

उक्त कार्यक्रमबाट सर्वाधिक पुल निर्माणको काम नारायणगढ–मुग्लिङ सडकखण्डमा हुनेछ, जहाँ १४ वटा पुल बन्नेछन्

विकसित मुलुकमा निर्माण गरिएका पुल लामो समयसम्म टिकाउ हुनुको कारण त्यसको नियमित रेखदेख र अनुगमन तथा मर्मत, सुधारलाई लिने गरिन्छ। नेपालमा सुरु गरिएको उक्त कार्यक्रमले विश्वमा भइरहेको विकास मोडल र उच्च प्रकृतिको आधुनिक प्रविधि भित्रिने अपेक्षासमेत सरोकारवाला अधिकारीले गरेका छन्। विश्व बैंकका प्राक्टिस म्यानेजर शोमिकराज मेनहडिरट्टले पुल निर्माण गर्दा नेपालको विकासमा योगदान पुग्ने बताए।

सडक विभागका अनुसार हाल नेपालमा साना–ठूला गरी करिब दुई हजार दुई सय पुल निर्माण गरिएका छन्। त्यस्तै एक हजार चार सय ५० वटा पुल निर्माणको क्रममा रहेको विभागका महानिर्देशक श्रेष्ठले बताए। ती पुलमध्ये राजमार्ग र आसपासका ठूला सडकमा करिब चार सय जति रहेको बताइन्छ। परियोजनाको केन्द्रविन्दु राजमार्गका पुलको मर्मत, सुधार र निर्माणमात्र हो। उक्त परियोजना पाँच वर्ष अवधिको हो। कार्यक्रम राजमार्गका पुल निर्माण, मर्मत र सुधारमा केन्द्रित हुने भएपनि अहिले नै कुन पुलका लागि रकम खर्च गरिने भन्ने यकिन भइसकेको छैन। ‘नारायण–मुग्लिङ सडकमा १४ वटा पुल निर्माण गर्नेबाहेक अन्य निर्माणको बारेमा यकिन भएको छैन,’ विभागका एक इन्जिनियरले भने। राजमार्गका पुल धेरै जीर्ण भए नयाँ बनाउने तथा सामान्य मर्मत, सुधार गर्नुपर्ने भए सोही अनुसारको काम गरी पुललाई दीर्घकालीन टिकाउको बनाइने विभागका अधिकारी बताउँछन्।

प्रकाशित: ८ पुस २०७५ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App