१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

नाम, काम र दाम सबै मिथिला

उनको नाम मिथिला (मिथिलादेवी यादव)। उनको काम मिथिला (मिथिला चित्रकार)। र, उनको गाम पनि  मिथिला ‐जनकपुरधाम)। महोत्तरी, बसबिट्टीकी मिथिलादेवीले मिथिला चित्र बनाउन थालेको झण्डै चार दशक भइसक्यो ।  ६ वर्षकै उमेरदेखि रङसँग खेल्न थालेकी उनी अझै रङमै खेल्दैछिन्। बाल्यकालमा उनको मनमा गढेको मिथिलाको रङ परिपक्क हुँदा झनै गाढा बनेको छ। 

जनकपुर माइती भएकी उनी केही वर्ष महोत्तरीमा बसोबास गरिन्। पछिल्लो समय उनी राजधानीको डल्लु क्षेत्रमा बसेर मिथिला चित्रकलामा तल्लीन छिन्। राजधानीमा भएका अधिकांश आर्ट ग्यालरीमा उनको पेन्टिङ झुन्डिएका छन्, कि त त्यहाँ झुन्डिएका अन्य चित्रमा उनका आँखा गढेका छन्। 

‘आफ्नो चित्र प्रदर्शनीमा मात्र होइन, अरुले कोरेका चित्र नियाल्दा पनि उत्तीकै खुसी लाग्छ,’ उनले भनिन्, ‘चाहे त्यो मिथिला चित्र होस् वा अन्य कुनै।’ 

उति बेला झारपात निचोरेर रङ निकाल्ने गरेकी उनी अहिले बजारको रङबाट चित्र कोर्छिन्। ‘उति बेला सिमीको पातबात हरियो, टुकीको धुवाँबाट कालो, बेसारबाट पहेलो रङ बनाउँथ्यो,’ उनले थपिन्, ‘चामलबाट सेतो, गोवरबाट हरियो अनि सिन्दुरबाट रातो रङ बनाउँथ्यौं।’ 

मिथिला चित्रमा सक्रिय उनले एक दर्जनको हाराहारीमा विभिन्न पुरस्कार समेत हात पारेकी छन्। पछिल्लो समय राष्ट्रपतिको हातबाट ‘सुप्रवल जनसेवा पदक’ समेत हात पारेकी छन्।

अहिले आधुुनिक रङ पाइए पनि त्योबेलाजस्तो सुगन्ध भने नभेटिने उनको बुुुझाइ छ। ‘उति बेला चित्रमा मात्र होइन त्यसबाट निस्कने सुगन्धमा पनि मिथिला भेटिन्थ्यो,’ उनले सुनाइन्। 

मिथिला चित्रकला त्यस क्षेत्रमा देखिने गरेका जीवनशैलीमा उतार्ने कला रहेको उनले सुनाइन्। त्यसैगरी त्यस क्षेत्रमा भेटिने हात्ती, मयूर, माछा पनि मिथिला चित्रका प्रमुख आकृति रहेको उनले बताइन्। मयूरको चित्र बनाउँदा निकै खुसी मिल्ने उनी सुनाउँछिन्। मयूरमा देखिने सप्तरङले मन सधैं खुसी बनाउने उनले सुनाइन्। 

‘कहिलेकाहीँ लाग्छ– मयूरको शरीरमा यति राम्रो रङ कसले लगायो होला,’ उनले हास्दै भनिन्, ‘रङको त्यति राम्रो  संयोजन नियाल्दा मनै रंगीन हुन्छ।’ यति रमाइलो समाजमा अझै भने कुरुतीका नराम्रा कीराहरू रहेको उनले सुनाइन्। जसले समाजलाई भित्रभित्रै खोक्रो बनाइरहेको उनको बुझाई छ। उनले समाज आधुनिक बन्दै गए पनि पुरातन सोच बोकेकाहरू बाँकी रहेको बताइन्। ‘अझै पनि बोक्सीको आरोपमा कुटिँदै गरेकी महिला, घुम्टोभित्रबाट संसार चियाउँदै गरेकी महिला बाँकी नै छन्,, उनी भन्छिन्, ‘समाजले महिलालाई हेपेर निरीह बनाउने चलनको अन्त हुनु जरुरी छ।’ आफूले चित्रमार्फत् यस्ता कुरीतिको विरोध गर्दै आएको उनले सुनाइन्। 

उनको यस्तो अभियानको धेरैले तारिफ समेत गरेका छन्। मिथिला चित्रमा सक्रिय उनले एक दर्जनको हाराहारीमा विभिन्न पुरस्कार समेत हात पारेकी छन्। पछिल्लो समय राष्ट्रपतिको हातबाट ‘सुप्रवल जनसेवा पदक’ समेत हात पारेकी उनलाई भर्खरै सरकारले ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको छ।  जीवनपर्यन्त मिथिला कलामै आफ्नो समय बिताउने उनले सुनाइन्। 

राजधानीमा बसेर मिथिलाको रङ छर्ने काममा उनी एक्लै छैनन्, जनकपुुरबाटै राजधानी आएकी सरीता मण्डल पनि डेढ दशकदेखि मिथिला चित्र कोर्दैछिन्। मिथिला चित्रकलामा सक्रिय कलाकार लक्ष्मण मण्डलकी धर्मपत्नी सरिता पतिकै बाटो पछ्याउँदै आएको उनले सुनाइन्। 

विगतमा मिथिला जीवनशैलीमा केन्द्रीत भएर चित्र कोर्ने गरेका उनीहरू पछिल्लो समय समाजमा देखिएका कुरीतिविरुद्ध पनि मिथिलाको रङ छर्किन थालेका छन्। ‘कुरीतिविरुद्ध कुची चलाउन थालेका छौं,’ उनले भनिन्, ‘तर, त्यो अझै कमी भएको छैन।’

अझै पनि मागे जति दाइजो नल्याए महिला कुटिने गरेको  उनले सुनाइन्। त्यसैगरी आफूले मन पराएको केटासँग बिहे गर्न नपाइने, छोरी पाएको आरोपमा विभेद गर्ने प्रवृत्ति कायमै रहेको उनको बुझाइ छ। ‘हामीले चित्रमार्फत् यस्ता कुरीति देखाउने प्रयास गरेका छौं,’ उनी थप्छिन्, ‘सरोकारवाला गम्भीर नभएसम्म यस्ता कुुरीति हट्ने वाला छैन।’ 

उनको कुरामा सहमत छिन्, कलाकार पुनमकुमारी दास। पुनमले मिथिला रङमार्फत् उज्यालो छर्न थालेको पनि दुई दशक भइसक्यो। भारत, मधुवनी माइती भएकी उनी नेपालमा विवाह गरेर आएपछि पनि चित्र कोर्न नछाडेको सुनाइन्। ‘मिथिलाको कुनै भूगोल छैन,’ उनले भनिन्, ‘चित्रका रङ र त्यसले बोल्ने भाषा एउटै छन्।’

उनी पनि समाजमा देखिएका घटनालाई चित्रमार्फत पस्किन्छिन्। ‘मैले र मेरो समाजले भोगेको र भोग्दै गरेको नियतिलाई चित्रमा पस्कने प्रयास गर्छु,’ दासले भनिन्,  ‘यसले समाज र कला दुवैको उत्थानमा सहयोग पुर्याउने आशा लिएका छौं।’

प्रकाशित: ७ पुस २०७५ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App