१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्पको पैसा लिन हिँडेका पृथिबीबहादुरको बाटोमै मृत्यु

अनिल भण्डारी

सिन्धुली- आवास अनुदान बापतको पहिलो किस्ता रकम लिन सिन्धुलीको जिनाखु गाविसबाट सदरमुकाम सिन्धुलीमाढीमा आउँदै गरेको एक वृद्धको बाटैमा मृत्यु भएको छ। जिनाखु गाविस घर भई सदरमुकाम सिन्धुलीमाढीमा रहेको सुप्रिम डेभलमेन्ट बैकमा पहिलो किस्ता पचास हजार लिन आउने क्रममा बाटैमा उनको अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिनाखु गाविस-३ घर भएका ६५ वर्षीय पृथिबीबहादुर सुनुवारको बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक निर्मल पनेरुले जानकारी दिए।

सिन्धुलीमाढी आउने क्रममा कमलामाई नगरपालिका-७ बिष्णुधारा गैरेमा आइपुगेपछि एक्कासी भुइँमा ढलेर मृत्यु भएको हो। नेपालीहरुको महान् पर्व बिजयदशमी नजिकिदै गर्दा सवारी चापका कारण बिहिरबार बिहान ५ बजेनै उनी पैदल हिँडेका थिए।

लामो समयको हिँडाई र अत्याधिक गर्मी भएपछि बेहोस भई ढल्दा उनको मृत्यु भएको स्थानीयले जनाएका छन्। भूकम्प आवास पुर्ननिर्माण प्राधिकरणले वितरण गर्ने पहिलो किस्ता बापतको रकम लिनका लागि सदरमुकामबाट झन्डै तीन दिनको पैदल हिँडेर बैँक धाउन बाध्य भएका स्थानीयलाई ठूलो सास्ती छ।

जिल्लाका बैंकहरुले गाविसमै गएर रकम बाड्न झन्झट हुने भन्दै पन्छिएपछि स्थानीय भूकम्प पीडित लाभग्राहीलाई चार्डपर्वको समयमा सदमुकाम धाउन सास्ती भएको छ। भूकम्पको लाभग्राही धेरैजसो घरमुलि हुने भएकाले धेरै वृद्धवृद्धा छन्।

प्रकाशित: १३ आश्विन २०७३ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App