१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीले अस्तव्यस्त सप्तरी,सप्तकोसी नगरपालिका डुवानमा

बर्षाको पानीले डुवानमा परेको सप्तरीको सप्तकोसी नगरपालिकास्थित फत्तेपुर प्रहरी चौकी । तस्बिर: जितेन्द्रकुमार झा

फत्तेपुर(सप्तरी)–लगातारको बर्षापछि विभिन्न नदीमा आएको बाढीका कारण सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। बर्षा अझै रोकिएको छैन। सप्तकोसी, त्रियुगा, वलान, खाँडो लगायतका नदीमा पानीको वहाव निरन्तर बढी रहेको प्रहरीले जनाएको छ।
जिल्लाको उत्तरी भेगमा पर्ने त्रियुगा, अमहा तथा जुटपानीसहितका विभिन्न खोलामा आएको बाढीका कारण सप्तरीको सप्तकोसी नगरपालिका एक सय बढी घर शुक्रबारदेखि नै डुवानमा परेको छ। बस्तीमा पानी पसेपछि सप्तकोसी नगरपालिका–२ का भण्डै दर्जन बढी घरसमेत भत्कसेको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरी चौकी, विद्यालय तथा बस्तीमा पानी पसेपछि त्यहाँको जनजीवन निकै प्रभावित भएको छ। अविरल बर्षा र बाढीका कारण शुक्रबारदेखि सप्तकोसी नगरपालिका क्षेत्रका ७ वटा सामुदायिकसहित १६ वटा विद्यालयहरुको पठन पाठन पूर्णतया ठप्प रहेको स्थानीय खगेन्द्र कार्कीले जनाए।
त्रियुगा नदीमा आएको बाढीले सप्तकोसी नगरपालिका वडा नम्बर २ र ३ का एक सय बढी घर डुवानमा परेका छन् भने अमहा तथा जुटपानी नदीको बाढीले वडा नम्बर १ का दर्जन वढी घर डुवानमा परेको प्रहरीले जनाएको छ । ‘बर्षा र बाढीले हैरान पारे’, स्थानीय भानु भट्टराईले भने, ‘दुई दिनदेखि घरमा पानि पसेको छ, कतिपयका त घरहरु भत्किए, हाम्रो जनजीवन नै अस्तव्यस्त वन्न पुगेको छ ।’
जुटपानी, अमहा तथा त्रियुगा नदीले वर्षेनीनै आफूहरुलाई दुःख दिने गरेको बताउँदै भट्टराईले भने, ‘नदी नियन्त्रणप्रति राज्यले चासो नदिँदा यस्तो भएको हो, राज्यको लापरवाहीका कारण हाीिम बर्षैनी पीडामा पर्ने गरेका छौैं,’ उनले भने । बाढी र बर्षाको पानीका कारण दुई दिनदेखि घरवाट निस्कनसमस्या भईरहेको उनको भनाइ छ ।

अविरल बर्षाका कारण प्रहरी चौकी भित्र पानी छिरेपछि प्रहरी आफैं समस्यामा परेका छन्। एक त राणाकालीन भवन त्यस माथि बर्षा तथा बाढीको पानी छिरेपछि प्रहरी आफै असुरक्षित महसुस गरिरहेको स्थानीय रमेश चौधरीले बताए। प्रहरी चौकी फत्तेपुरका इन्चार्ज तुलसीमान कार्कीले भने, ‘हाम्रो पनि बिजोगै छ, तर पनि सर्वसाधारणको समस्या प्रति प्रहरी सजग रहेको छ ।’
बर्षा तथा बाढीको पानि विद्यालयमा छिरेपछि शुक्रबार नगर क्षेत्रका सामुदायिक र निजी गरी डेढ दर्जन विद्यालयमा पठन पाठन ठप्प भएको राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरका प्रधानाध्यापक प्रेम सुब्बाले जानकारी गराए। ‘मेरो विद्यालय पूर्णतया डुवानमा परेको छ, अन्य विद्यालयहरुको अवस्था पनि उस्तै हो’, सुब्बाले भने, ‘विकट परिस्थितिमा जोखिममा पारेर पठन पाठन सञ्चालन गर्नु उपयुक्त हुँदैन ।’

महुली नदीको बाढीले भारदह पोर्ताहा जलगमग्न

यसैबीच महुली नदीमा आएको बाढीका कारण सप्तरीको पोर्ताहा गाविसको वडा नम्बर ६, ७ र ८ का ४ दर्जन बढी घर शुक्रबार डुवानमा परेका छन्। नदीको सतह कम भएका कारण पानी वस्तीमा छिरेको स्थानियहरुले जानकारी गराएका छन् ।
त्यस्तै भारदह वडा नम्बर ७ भलुवाका दर्जन घर डुवानमा पर्नुका साथै कोसी नदीको बाढीले भारदह १ स्थित २५ सय विघा भन्दा बढी खेती योग्य जमिन डुवानमा परेको छ    
यता वलान नदीमा पानीको बहाव बढदै गएपछि स्थानीय मौवाहा, बेल्हीलगायतका गाविसमा बाढीको जोखिम बढदै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 

खाँडो नदीले डाईभर्सन बगायो, राजविराज–कुनौली रोड अबरुद्ध

बर्षा सँगै खाँडो नदीमा आएको बाढीले राजविराज कुनौली सडक खण्ड पुनः अवरुद्ध भएको छ । केहि महिना अघि मात्रै तिलाठी स्थित खाँडो नदी नजिकै वनाईएको डाइभर्सन बाढीले बगाएपछि यातायात अवरुद्ध भएको प्रहरी चौकी तिलाठीले जनाएको छ। खाँडो नदीको बाढीकै कारण उक्त सडक खण्डमा पछिल्लो एक दशक भन्दा लामो समयदेखि ठूला सवारी साधन गुड्न सकेको छैन्। साना सवारी साधन तथा पैदल यात्रुहरुको सहजताका लागि गत वर्ष बैशाख महिनामा सडक विभागले डाईर्भसन निर्माण गर्न लगाएका थिए । तर ठेकेदार कम्पनीले गुणस्तर हिन काम गरेका कारण उक्त डाईभर्सन एक महिना नवित्दै भत्केर गएको स्थानीयको गुनासो छ।
यसैगरी जिल्लाको पश्चिमी भेगलाई सदरमुकामसँग जोडने हुलाकी राजमार्गमा बर्षाका कारण हिडडुल गर्न असहज भएको छ । अति जिर्ण सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका जनताका आबाज सुन्ने कोही नरहेको युवा श्यामप्रकाश बताउँछन् । ‘आपत विपदका वेला त आपतकालीन सवारी साधनसमेत आउन सक्ने  अवस्था छैन’, उनले भने।

 

प्रकाशित: ११ असार २०७३ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App